फोहर केलाएर ‘मोहर’ कमाउने मजदुर महिला : हामीलाई चुनावको के मतलव

बाँके, २१ बैशाख, २०७९ ।


स्थानीय तह निर्वाचनले हरेक नेपालीलाई छोएको छ । राजनीतिक दल र उनका उम्मेदवारहरु आफ्नो प्रचार प्रसार गर्न टोल–टोल छिरेका छन् । जताततै नाराजुलुस भइरहेको छ, तर नेपालगन्ज उपमहानगरपालिका २१, तेलियनपुरकी २७ बर्षिया धनसरा रोकायलाई चुनावी अभियानले छुन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकाले संचालनमा ल्याएको डम्पिङ साइटमा फालेको फोहरबाट प्लाष्टिकको झोला, सिसा, फलाम, कागज र प्लाष्टिकका बोत्तल छुट्याउने काममा खटिएकी उनले आफूलाई निर्वाचनभन्दा काम प्यारो भएको बताइन् ।
उनी गाउँका साथीहरुसँग विहान ७ बजे डम्पिङ साइट पुग्छिन् । हातमा पञ्जा लगाउँछिन् । नेपालगन्जको विभिन्न ठाउँबाट संकलन भएको फोहर ट्याक्टरले डम्पिङ साइटमा फालेपछि उनी सड्ने र नसड्ने बस्तु अलग गर्न थाल्छिन् । ‘हामीले फोहर होइन, पैँसा केलाएका हौँ । यो फोहर होइन मोहर हो,’ उनले भनिन् ।
नेपालगन्ज उपमहानगरपालिका २३, लुहारनपुर्वाकी ५२ बर्षिया कौशिला केसी पनि फोहर केलाएर फोहर कमाउँछिन् । उनले रुपैँयाका लागि गन्हाउने सहेर काम गर्न परेको बाध्यता सुनाइन् । यसरी पैँसा कमाउने हाम्रो रहर होइन बाध्यता हो । चुनावका बेला रोजगारीको आश्वासन दिने नेताहरुले रोजगारी सिर्जना गरेको भए फोहर केलाएर मोहर कमाउनु पर्ने थिएन,’ उनले भनिन् ।
आठ घण्टा काम बापत मजदुरले दैनिक पाँच सय रुपैँया ज्याला पाउँछन् । केलाउने फोहर गन्हाएर बस्न नसकिने हुन्छ । तर, डम्पिङ साइटमा काम गर्ने मजदुरलाई फोहर गन्हाउन छाडेको छ । ‘पहिले गन्ध सहन सकिदैनथ्यो, अव त बानी परिसक्यो, मास्क नलगाए पनि केहि फरक पर्दैन,’ दीपा ओलीले भनिन्, ‘डम्पिङ साइटमा फालेको फोहरमा कहिले काहीँ कुहिएका कुकुर, विरालो फेला पर्छन् । तरकारी, भात कुहिएर गन्हाउने हुन्छ । तै पनि के गर्ने पैँसाका लागि सहनै पर्छ ।’
उनले फोहरले रोग लाग्न सक्ने भए पनि बाध्यताले फोहर केलाउने काम गरेको बताइन् । उनले भनिन, ‘शरिर भन्दा पैँसालाई माया गरेर गन्हाउने फोहरमा काम गर्न परेको छ ।’
नेताहरु चुनावका बेलामात्र गाउँमा आउने गरेको अर्की मजदुर सुनिता सेन ठकुरीको गुनासो छ । चुनावका बेला गाउँ आउने नेताहरुले मिठा आश्वासन बाड्ने गरेकोले विश्वास लाग्न छाडेको उनको भनाई छ । ‘चुनावका बेला आएका नेताले पालिकालाई स्विजरल्याण्ड बनाउने आश्वासन दिएर जान्छन् । जितेपछि फर्केर आउने त के भेट भएको बेला मुन्टो बटारेर हिड्छन्,’ सुनिताले भनिन् ।
उनले गाउँमा रोजगारी सिर्जना गर्ने उम्मेदवारलाई भोट दिने स्पष्ट पारिन् । रोजगारी नभएकै कारण यूवाहरु विदेश पलायन भएको बताउँदै आफूहरु पनि रोजगारी नपाएकै कारण फोहरसँग पौठेजोरी खेल्न बाध्य भएको गुनासो गरिन् । ‘सडक, विजुलीको ब्यवस्था भइसक्यो, अव जस्ले रोजगारीको ग्यारेन्टी गर्छ त्यसलाई हाम्रो भोट, नत्र कुनै पनि उम्मेदवारलाई हामीले भोट हाल्दैनौँ,’ उनले भनिन् ।

Previous articleलुम्बिनी प्रदेशमा तीन सय ५२ जना महिला प्रमुख र उपप्रमुखमा भिड्दै (जिल्लागत विवरण हेर्नुस्)
Next articleराप्तीसोनारी गाउँपालिका : रामदाशको पल्ला भारी, अध्यक्षका कुन उम्मेदवारको बारेमा के भन्छन् मतदाता ? पूरा पढ्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here