बाँके, १९ बैशाख, २०७९ ।
३० बैशाखमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरि नेपाल–भारत सीमामा सुरक्षा ब्यवस्था कडा पारिएको छ । निर्वाचनलाई लक्षित गरि भारतबाट साना हतियार भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरि नेपाल–भारतका सुरक्षाकर्मीले दशगजामा संयुक्त गस्ती गर्नुका साथै नाकामा समेत कडाई गरेको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज बरिष्ठ प्रहरी नायव निरीक्षक मिनबहादुर विष्टले बताए ।
उनले स्थानीय तह निर्वाचनलाई मध्यनजर गरि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सुरक्षा बलको संयुक्त टोलीले दशगजामा गस्तीलाई तीव्रता दिएको बताए । ‘स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरि भारतीय सुरक्षाकर्मीसँग पनि नियमित रुपमा समन्वय, छलफल भइरहेको छ,’ उनले भने ।
भारतसँग सीमा जोडिएको सवै नाकामा सुरक्षा ब्यवस्था कडा पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले बताए । उनले खुल्ला सीमानाकाबाट अवैध साना हातहतियार ओसार पसार हुन सक्ने सम्भावनालाई मध्यनजर गरि आउजाउ गर्ने नागरिक माथि निगरानी बढाउन निर्देशन दिइएको बताए । ‘निर्वाचनलाई निश्पक्ष र धाँधलीरहित बनाउन नाकामा कडाईका साथै सीमानाकामा सुरक्षा गस्ती बढाउन सुरक्षाकर्मीलाई निर्देशन दिइएको छ,’ उनले भने, ‘पछिल्लो समय दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीको संयुक्त गस्ती पनि बढाइएको छ ।’
उनले निर्वाचनका बेला नेपाल–भारत सीमानाका बन्द गर्ने विषयमा पनि भारतीय समकक्षीसँग छलफल जारी रहेको बताए । उनले निर्वाचनको एकदिन अघिदेखि सीमानाका सिल गर्ने विषयमा भारतीय समकक्षीसँग कुरा भएको बताए । ‘भारतमा हुने निर्वाचनका बेला पनि ७२ घण्टा सीमा नाका बन्द गरिन्छ । सोही अनुसार नेपालको चुनावमा पनि सीमानाका सिल हुन्छ,’ प्रजिअ खत्रीले भने ।