राधापुरलाई जिल्लाकै नमुना बनाएका सुमनको अव सिंगो खजुरालाई देशकै समृद्ध पालिका बनाउने चाहना

‘म नेता होइन, जनताको प्रतिनिधि हुँ, जनताका काम गर्नका लागि छानिएको एउटा पात्र मात्रै हुँ । म नेताभन्दा जनताको सेवक हुँ भन्ने मलाई लाग्छ,’ उनी भन्छन्, ‘मेरो व्यक्तिगत जीवन नै छैन, मलाई जनताले मत दिएर जिताएपछि मेरो जीवन व्यक्तिगत रहेन । जनताका कर्महरुसँग मेरो जीवन जोडिएको छ । वडाको विकासका लागि, वडावासीप्रति आफूलाई समर्पित गरेँ । अव सिंगो खजुरा र खजुराबासीको सेवामा समर्पित हुने इच्छा छ । बिहान उठेदेखि साँझसम्म सिंगो पालिकाको काममा खटिन मन छ ।’

बाँके, १५ बैशाख, २०७८ ।


खजुरा गाउँपालिकामा सुमन मल्ल नामै काफी छ । ०७४ सालको स्थानीय निर्वाचनमा खजुरा गाउँपालिका वडा नं. १ को अध्यक्षमा विजयी भएदेखि उनको जिवनी फेरिएको छ । वडा अध्यक्ष भएदेखि उनी वडाको विकासलाई उच्च प्राथमिकतामा राखेर अहोरात्र खटिए । त्यसैबेलादेखि उनको जिवन ब्यक्तिगत रहेन ।
वडालाई खजुरा गाउँपालिका ८ वटा मध्ये १ नं. लाई नमुना बनाएर पालिकाकै १ नं. मा स्थापित गर्न सफल भए । उनको पालामा १ नं. वडाका सबै सडक पक्की भएका छन् । सबै टोलमा विजुली पुगेको छ । वडा साक्षर भएको छ । घर–घरमा खानेपानी पुगेको छ । राधापुरबासीलाई खुसी र सुखी बनाउने अभियान अझैँ पनि उनले जारी राखेका छन् ।
वडाको विकासलाई उच्च प्राथमिकतामा राखेर अहोरात्र खटिएका सुमन यस पटक खजुरा गाउँपालिकाको प्रमुखको उम्मेदवार छन् । उनी अव वडामा सिमित रहन चाहेका छैनन् । उनलाई अव सिंगो खजुराबासीको सेवामा तल्लिन हुन मन छ । खजुरालाई समृद्ध बनाउन र खजुराबासीलाई सुखी, खुसी बनाउने इच्छा छ उनको । उनी भन्छन्, ‘मेरो व्यक्तिगत जीवन नै छैन, मलाई जनताले मत दिएर जिताएपछि मेरो जीवन व्यक्तिगत रहेन । जनताका कर्महरुसँग मेरो जीवन जोडिएको छ । वडाको विकासका लागि, वडावासीप्रति आफूलाई समर्पित गरेँ । अव सिंगो खजुरा र खजुराबासीको सेवामा समर्पित हुने इच्छा छ । बिहान उठेदेखि साँझसम्म सिंगो पालिकाको काममा खटिन मन छ ।’
हुन पनि उनी वडाबाट आम नागरिकले पाउनुपर्ने सेवा प्रवाहलाई चुस्त बनाउन हरदम खटिए । उनी निर्वाचित भएदेखि नै वडा कार्यालयको सेवा प्रवाहलाई चुस्त बनाउनुका साथै पूर्वाधार व्यवस्थापनमा लागिपरे । उनी भन्छन्, ‘चुस्त, दुरुस्त र पारदर्शी सेवा प्रवाह मेरो पहिलो सर्त हो । पालिकाको विकास र समृद्धिका लागि जुनसुकै मूल्य चुकाउन तयार छु । यसमा मेरो कसैसँग कुनै सर्तमा सम्झौता हुने छैन ।’
जनताका आकांक्षा, मुद्दा र मागलाई समेट्दै वडालाई कसरी नमूना बनाउन सकिन्छ भन्ने सुमनको ध्यान छ । पालिकालाई विकास र समृद्धिको दिशातर्फ अघि बढाउन प्रतिबद्ध रहेका सुमन भन्छन्, ‘मैले मेरो वडाबाट सुरु गरेको विकासको खाकालाई पूरै गाउँपालिकामा लागू गर्न चाहन्छु । भ्रष्टाचार निर्मूल पारि पालिकाको बजेटलाई पारदर्शी रुपमा खर्च गरि सिंगो खजुराको समृद्धिमा रकम खर्चिने योजना छ ।’
मानव भएर मानवका लागि केहि गर्नुपर्छ भन्ने मानसिकता बोकेका सुमनको बोली र ब्यवहार खरो छ, तर उनी दिलदार छन् । उनी जनताको नाममा आएको बजेटमाथि आँखा लगाउनेलाई पापीको संज्ञा दिन्छन् । ‘एउटा मानव अर्को मानवका लागि काम लाग्दैन भने त्यस्तो मानवको अस्तित्व हुँदैन । मैले जे गरिरहेको छु, त्यो मानवताको लागि गरिरहेको छु र गरिरहने छु,’ अध्यक्षका उम्मेदवार सुमनले भने ।
गाउँपालिकाभित्र विकासप्रेमी, हक्की, निडर र सहयोगी वडाध्यक्षका रुपमा चिनिएका सुमलले खजुरा गाउँपालिको प्रमुखमा निर्वाचित भए विकास निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने योजना बनाएका छन् । उनी आफूलाई वडाअध्यक्ष होइन समाजसेवी भन्न रुचाउँछन् । ‘म जनताको प्रतिनिधि हुँ, त्यसैले पनि जनताका काममा सधैं अग्रसर हुन्छु । खजुरालाई हेर्न र गर्व गर्न लायकको विकास गरेर देखाउने मेरो प्रतिवद्धता हो,’ उनले भने ।
वडाध्यक्ष भएवापत सरकारले दिने सेवासुविधा उनले उपभोग गरेनन् । आफ्नो पारिश्रमिकवापतको रकम विभिन्न सामाजिक काममा खर्च गरेका उनले गाउँपालिका प्रमुखमा विजयी भए पारिश्रमिकवापत पाएको रकम सामाजिक कार्यमा खर्चिने बताउँछन् । उनले वडाअध्यक्ष बापत पाएको पाँच लाखभन्दा बढी रकम विभिन्न सामाजिक काममा खर्चिएका छन् ।
थुप्रै उदाहरणीय काम गरेकै कारण छोटो समयमै सुमनको चर्चा जिल्लाभर चुलिएको छ । वडामा मात्र नभएर जिल्लामै समस्या तथा अप्ठेरामा परेकालाई सक्दो सहयोग गर्न अग्रसर सुमनको जिल्लामै परिचित छन् । सामाजिक कार्यमा अग्रसर सुमन कसैलाई आर्थिक, कसैलाई भौतिक त कसैलाई साथ दिएर सहयोग गरिरहेका छन् । जनप्रतिनिधीले जनताको काममा दत्तचित्त भएर लागेमा जनताबाट पनि सम्मान पाउन सकिन्छ भन्ने वडाध्यक्ष सुमन एक प्रतिनिधिमूलक पात्र पनि हुन् ।


गाउँटोलमा भएका समान्य विवाद हुन् वा विकास निर्माणका कार्य हुन् अथवा वडा कार्यालयले प्रदान गर्ने सेवासुविधानै किन नहोस् उनी प्रभावकारी नेतृत्वसँगै जनताकै पक्षमा रहेर काम गर्दै आएका छन् । सामाजिक सेवाको क्षेत्रमा सुमनले खेलेको भूमिकाकै कारण उनले जनताको मन जित्न सफल भएको स्थानीय बताउँछन् । उनी भन्छन्, ‘म नेता होइन, जनताको प्रतिनिधि हुँ, जनताका काम गर्नका लागि छानिएको एउटा पात्र मात्रै हुँ । म आफूलाई नेताभन्दा जनताको सेवक हुँ भन्ने लाग्छ ।’
डिष्ट्रिलरीलाई ५ लाख रुपैयाँ जरिवाना गराएका सुमनले सो रकम राधापुरमा सडक निर्माणमा खर्चिए । अहिले ग्रामीण क्षेत्रको उक्त सडक नमूनायोग्य सडक बनेको छ । सामाजिक क्षेत्रमा मात्र नभइ प्रशासनिक कार्यमा पनि दख्खल राख्ने मल्लको नेतृत्वसँगै यतिवेला राधापुर विकास निर्माणमा मात्रै होइन, आर्थिक पारदर्शितामा समेत जिल्लाकै नमूना वडा बन्न सफल भएको वडासचिव चिरञ्जीवी पाण्डे बताउँछन् ।
उनी आर्थिक पारदर्शितामा पनि इमान्दार छन् । वडा कार्यालयले बोर्डमा मासिक आम्दानी र खर्चको हिसाव सार्वजनिक गर्ने गरेको छ । ‘वडा अध्यक्षज्यूले हरेक काममा पारदर्शिता र सुशासनलाई अनिवार्य आधार बनाउनुभएको छ,’ सचिव पाण्डेले भने, ‘जसबाट वडालाई गाउँपालिकाको मात्रै नभएर जिल्लाकै नमूना वडा बनाउन सफल भएका छौं ।’
कम बोल्ने, स्पष्ट बोल्ने वडाध्यक्ष सुमन जनविरोधी कार्यहरुका विरुद्ध खरोरुपमा उत्रिन्छन् । सुमनलाई तत्कालिन नेकपा एमालेले वडाध्यक्षको उम्मेदवार बनाउँदा धेरैले आश्चर्य ब्यक्त गरेका थिए । तर, छोटो समयमै वडाध्यक्ष मल्लले वडाबासीमाझ सकारात्मक छाप बसाल्न सफल भएपछि उनको डाहा गर्नेहरुको समेत शीर निहुरिएको स्थानीयहरुको भनाई छ । सुमनलाई आफु वडाध्यक्ष भएकोमा कहिले पनि घमण्ड भएन ।

Previous articleबाँकेको पालिका प्रमुख र उपप्रमुखमा दलित महिलाको उम्मेदवारी शून्य
Next articleसवै जातजाती र धर्मावलम्बीको मन मस्तिष्कमा बस्दै, जित निकाल्दै ‘पशुपति’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here