बाँकेको पालिका प्रमुख र उपप्रमुखमा दलित महिलाको उम्मेदवारी शून्य

बाँके, १४ बैशाख, २०७८ ।


स्थानीय तह निर्वाचनमा कानूनले प्रमुख–उपप्रमुख मध्ये एक जना महिला अनिवार्य गरे छ । दलित, जनजाती, मधेसी, मुस्लिम महिलाको प्रतिनिधित्वको कुरा पनि कानूनले गरेको छ । यस पटकको स्थानीय तह निर्वाचनमा बाँकेको पालिकामा प्रमुख र उपप्रमुखमा थारु, मधेसी र मुस्लिम महिलाले उम्मेदवारी पाए पनि प्रमुख र उपप्रमुखमा दलित महिलाको प्रतिनिधित्व शून्य भएको छ ।
अघिल्लो निर्वाचनमा एमालेबाट खजुरा गाउँपालिकाको उपप्रमुखमा एकमाया विक र बैजनाथ गाउँपालिकाको उपप्रमुखमा शारदा विक विजयी भएकी थिइन् । ‘यसपालीको निर्वाचनमा प्रमुख र उपप्रमुखमा दलित महिलाको प्रतिनिधित्व शून्य भएको छ,’ दलित समुदायका अगुवा भिम नेपालीले भने, ‘राजनीतिक दलले दलित र दलित महिलालाई बेवास्ता गर्नु दुखद मान्नु पर्छ ।’
उता, गठबन्धनले प्रमुख र उपप्रमुखमा महिला प्रतिधित्वमा असर पारेको छ । गठबन्धनकै कारण नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेस–जनता समाजबादी पार्टी (जसपा) को गठबन्धनले मेयर र उपमेयरमा पुरुष उम्मेदवार बनाएका छन् । काँग्रेसले मेयरमा प्रशान्त विष्ट र उपमेयरमा जसपाले मोहम्मद करुद्धिन राईलाई उम्मेदवार बनाएका छन् ।
जानकी गाउँपालिकामा माओवादी केन्द्र–जसपा वीचको गठबन्धनले पनि अध्यक्ष र उपाध्यक्षमा पुरुष उम्मेदवार उठाएका छन् । जसपाका राजिव बर्माले अध्यक्ष र माओवादी केन्द्रका रक्षाराम बर्माले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो निर्वाचनमा यी सवै दलबाट उपमेयर र उपप्रमुखमा महिला उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।
यहाँ ६ जना मुस्लिम महिलाले उपाध्यक्षको उम्मेदवार बन्ने अवसर पाएका छन् । एमालेले ताजरुन निशा खाँलाई खजुरा गाउँपालिकाको उपप्रमुखको उम्मेदवार बनाएको छ । नेकपा एस र राष्ट्रिय जनमोर्चाको गठबन्धनले मोविना खातुनलाई खजुरा गाउँपालिकाको उपप्रमुखमा उठाएको छ ।
त्यसैगरि, डुडुवा गाउँपालिकामा नेपाली काँग्रेसले साहिदा बानो खाँ र जसपाले सरनम बानोलाई उपप्रमुखको उम्मेदवार बनाएका छन् । नरैनापुर गाउँपालिमका पनि दुई जना मुस्लिम महिला उपप्रमुखको उम्मेदवार बनेका छन् । नेपाली काँग्रेसले अतिकुन निशा र माओवादी केन्द्रले सविना बेगमलाई उपप्रमुखमा उठाएका छन् ।
लुम्बिनी प्रदेशमा स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारको संख्या घटेको छ । ०७४ सालको निर्वाचनमा गठबन्धन नभएका कारण सवै दलले प्रमुख र उपप्रमुख मध्ये एउटा पदमा महिलालाई उठाएका थिए, तर यस पटक गठबन्धनका कारण महिलाको संख्या घटेको जिल्ला स्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

Previous articleखजुराबासीको सेवा र विकासका लागि मेरो उम्मेदवारी : सुमन मल्ल
Next articleराधापुरलाई जिल्लाकै नमुना बनाएका सुमनको अव सिंगो खजुरालाई देशकै समृद्ध पालिका बनाउने चाहना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here