दिवंगत पतिलाई साँक्षी राखेर पदमावतीले गराइन् मनोनयन दर्ता

बाँके, १३ बैशाख, २०७८ ।


एमालेबाट नरैनापुर गाउँपालिका अध्यक्षका उम्मेदवार पदमावती यादवले दिवंगत पति दिनेशचन्द्र यादवलाई साक्षी राखेर उम्मेदवारी दर्ता गराएकी छन् । उनले पति दिनेशचन्द्रको सपना पूरा गर्न उम्मेदवारी दिएको बताइन् । उम्मेदवारी दिएपछि प्रतिक्रिया दिँदै उनले मनोनयन पत्रमा हस्ताक्षर पनि पतिलाई साक्षी राखेर गरेको बताइन् । ‘समृद्ध नरैनापुर बनाउने मेरो पतिको अन्तिम इच्छा थियो, तर विशेष परिस्थितिले उहाँले पूरा गर्न सक्नु भएन । उहाँको इच्छा पूरा गर्न मैले उम्मेदवारी दिएकी छु,’ उनले भनिन्, ‘म मेरो दिवंगत पतिलाई साँक्षी राखेर नरैनापुरको समग्र विकासका लागि खटिने प्रतिवद्धता गर्दछु ।’


पदमावतीका पति दिनेशचन्द्र एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री हुन् । तस्वीरसहित जुलुसमा सहभागी भएकी उनले आफ्नो पतिले जस्तै जनताको सेवामा तत्पर रहने कसम खाइन् । ‘म जनतालाई देखाउन पतिको तस्विर बोकेको होइन् । उहाँलाई साँक्षी राखेर नरैनापुरको समग्र विकासमा खटिने प्रतिवद्धता जनाउन यस्तो गरेको हुँ,’ उनले प्रतिक्रिया दिइन् ।
मनोनयन दर्ता गराउन जाने क्रममा र्यालीमा सहभागी एमाले नेता, कार्यकर्ताले एमाले उम्मेदवारलाई जिताएर स्वर्गीय दिनेशचन्द्रको सपना पूरा गर्ने प्रतिवद्धता गरेका थिए । दिनेशचन्द्र बाँकेको सुदूरपूर्व बघौडा क्षेत्रमा लोकप्रिय मानिन्थे । उनको गत वर्ष कोभिड महामारीमा निधन भएको थियो । गाउँपालिका उपाध्यक्षमा एमालेबाट पञ्चराम यादवले उम्मेदवारी दर्ता गराएको छन् ।


नरैनापुर गाउँपालिकामा काँग्रेसले रामचन्द्र मौर्यलाई अध्यक्ष र अतिकुन निशालाई उपाध्यक्ष उम्मेदवार बनाएको छ । त्यसैगरी जनता समाजबादी पार्टी (जसपा) ले सैयद इस्तियाक अहमद शाहलाई अध्यक्ष र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तवलाई उम्मेदवार बनाएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा जसपाले जितेको थियो ।

Previous articleकाँग्रेसका पूराना नेता बलराम शर्माले गराए कोहलपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता
Next articleखजुराबासीको सेवा र विकासका लागि मेरो उम्मेदवारी : सुमन मल्ल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here