‘दिदि घर’ की ‘स्यानी’ तुल्सीपुरको उपमेयरको उम्मेदवार, को हुन् स्यानी ?

दिदि घरमा आश्रय लिएका बालकलाई न्यानो माया दिँदै स्यानी चौधरी ।

बाँके, ११ बैशाख, २०७८ ।

दाङको तुल्सीपुरमा छ ‘दिदि घर’ । दिदि घरमा अनाथ बालबालिका बस्छन् । यीनै अनाथ बालबालिकाको हेरचाह, स्याहार सुसार, लालन पालन, शिक्षा दिक्षाको काम स्यानी चौधरीले गर्दै आएकी छन् । दिदि घरकी स्यानी अहिले तुल्सीपुर उपमहानगरको उपमेयरको उम्मेदवार छिन् । उनको काम, लगनशिलता, पारदर्शिता, गरिव, दुखीको सेवामा तत्परता देखेर एमालेले उनलाई तुल्सीपुरको उपमेयरको उम्मेदवार बनाएको हो ।
दिदि घर कसरी सुरु भयो ?
विक्रम सम्बत् ०६१ सालमा स्थापना भएको दिदि घरमा १० भन्दा धेरै अनाथ बालबालिकाले आश्रय पाएका छन् । अभिभावक नभएका, आर्थिक समस्या भएका र पढ्न लेख्नका लागि आर्थिक अभाव भएको बालबालिकालाई स्यानी चौधरीले स्थापना गरेको दिदि घरले शिक्षादिक्षा, लालन पालनको काम गर्दै आएको छ । ‘चार बर्षअघि पढ्न, लेख्न समस्या भएका बालबालिकालाई उनीहरु अध्ययन गरिरहेको ठाउँमै पुगेर विद्यालय पोशाक लगायतका शैक्षिक सामग्री सहयोग गथ्र्यौँ । अहिले बालबालिकालाई दिदि घरमा ल्याएर लालन पालन, शिक्षा दिक्षा दिँदै आएका छौँ,’ उनले भनिन् ।
दिदि घरमा रहेका कतिपय बालबालिकाको बस्ने ठाउँ छैन । कसैको पढ्ने, लेख्ने बातावरण छैन । धेरै जसोको कहाँ बस्ने, के खाने र कसरी पढ्ने तथा जिविकोपार्जन कसरी गर्ने भन्ने एकदमै समस्या छ । सहारा विहिन अवस्थामा रहेका बालबालिकालाई सहाराको आवश्यकता पर्ने भएकोले त्यस्ता बेसहारा बालबालिकालाई यहाँ ल्याएर राम्रो सँग शिक्षा दिक्षा दिएर उनीहरुको भविष्य उज्ज्वल बनाउने प्रयास दिदि घरले गरेको छ । ‘बेसहारा बालबालिकालाई शिक्षादिक्षा दिएर उनीहरुलाई पौरख गरेर खान सक्ने बनाउने हाम्रो उद्देश्य र लक्ष्य छ,’ उनले भनिन्, ‘बेसहारा बालबालिकालाई राम्रो शिक्षा दिन सकियो भने देशका लागि योगदान दिन सक्छन् । सक्षम नागरिक बन्न सक्छन् । त्यस कारण उनीहरुको भविष्यका लागि हामीले दिदि घर संचालनमा ल्याएका हौँ । यसमा अरु कुनै स्वार्थ छैन ।’
उनले बेसहारा बालबालिकालाई आफ्नै घरमा राखेकी छन् । जापानमा दुई बर्ष बसेर कमाएको पैँसाले बनाएको घरमा उनले अनाथ बालबालिकालाई सहारा दिएकी छन् । खानाको पनि उनले आफै ब्यवस्थापन गर्दै आएकी छन् । उनलाई विदेशी साथीहरुले कहिले काँही सहयोग गर्छन् । बेलाबखत वडा कार्यालय र गैरसरकारी संस्थाले सहयोग गर्छन् । जन्मदिनको अवसर पारेर अनाथ बालबालिकालाई खाद्यन्न र लत्ता, कपडा प्रदान गर्छन् । ‘अधिकांश खाद्यन्न म आफैले जोहो गर्छु,’ उनले भने ।
दिदि घरकी संचालिका, उपमेयरका उम्मेदवार स्यानी चौधरी को हुन् ?
म थारु समुदायमा जन्मिएको महिला हँु । मेरो घर साविक फुलवारी गाविस २, तुईदाङ हो । आज भन्दा झण्डै ४७ बर्ष अघि एक जना थारु बालिका विद्यालय जाँदैनथे । मेरो परिवारका दाजुभाई, दिदि बहिनी कसैले पनि विद्यालय परिसरमा पाईला टेक्न पाएनन् । जसले गर्दा अहिले पनि तुल्सीपुर बजार आउन नसक्ने दिदिबहिनी हुनुहुन्छ । मेरो भाग्य बलियो भएर होला पढ्न पाएँ ।
मैले त्यति बेला धेरै दुःख मेहनत र संघर्ष गरेर शिक्षा आर्जन गरेँ । कठिन अवस्थामा पनि शिक्षा लिन पाएँ । फलस्वरुप समाजशास्त्रमा एमए पास गर्न सफल भएँ । एसएलसी पास गर्ने वित्तिकै मैले जागिर पनि पाए । अमर माध्यमिक विद्यालय उरहरीबाट मैले एसएलसी पास गरेँ । राप्ती बबई बहुमुखी क्याम्पसबाट राजनीति शास्त्रमा र काठमाडौँको एसएम कलेजबाट समाजशात्र एमए पास गरेको छु । गरिवीका कारण मैले जागिरी खाँदै पढ्दै गरेँ । रातको समयमा पढेर प्राविधिक क्षेत्रबाट परीक्षा दिँदै एमएए पास गर्न सफल भएँ ।
शिक्षा नै सवैभन्दा महत्वपूर्ण र ठुलो कुरा हो । शिक्षाको कारण नै हामी पिछडिएका छौँ भन्ने कुरा मलाई सानो छँदा नै झस्को लाग्ने गर्दथ्यो । हाम्रो गाउँ ठाउँका मानिसहरुले चिठिपत्र समेत पढ्न नजान्ने भएकै कारण धेरै पिछडिएका थियौँ । संघर्ष गरेर भएपनि पढ्नु पर्छ भन्ने मान्यताका साथ मैले शिक्षा आर्जनलाई निरन्तरता दिएँ ।
मैले सानो उमेरमा धेरै दुःख पाएको छु । धेरै कुरा भोगेको छु । त्यसकारण मैले जस्तो दुःख र पीडा कसैले पनि भोग्नु नपरोस भनेर यो सेवामा लागेको छु ।
मेरो भोगाई र अनुभवका आधारमा मैले गरेका कल्पना अनुसार भविष्यका सपनाहरु पनि पुरा हुँदै गएकाछन् । मेहनत गरेकै कारण मैले विभिन्न अवसर पनि पाएको छु । मेहनत गरेकै कारण सुरुमा जापान जान पाएँ र त्यहाँ एक वर्ष अध्ययन गर्ने अवसर पनि मिल्यो । म त्यतिबेला २१ वर्षको थिए । जबकी म नेपालमै राम्रोसँग घुम्न जान सक्ने अवस्थामा थिएन ।
त्यहिँ पढँे, त्यहाँ काम पनि पाए । त्यस कारण सानै उमेर देखिको सोँच र चाहना अनुसार नै मैले आफ्नो कोखबाट बच्चा पनि जन्माएन । आफ्ना सन्तान भएपछि माया लाग्छ । लोभ हुन्छ । आबश्यकता, हरेक कुराहरु जोडिन्छन् । अरुको सेवा गर्ने लक्ष्यका साथ मेरो व्यक्तिगत जिवनमा सन्तान जन्माउन चाहेन । बालबच्चा जन्माएर व्यक्तिगत जिवन जिउनु भन्दा म जस्ता हजाराँै बालबालिकाको सेवा गरेर उनीहरुको भविष्यमा उज्ज्वल बनाउने लक्ष्य लिएँ । सपना बुनेँ ।
म अरुको प्रेरणाबाट नभई आफू अरुको प्रेरणाको स्रोत बन्न चाहन्छु । क्याम्पस पढ्ने बेला मदर टेरेसा जस्ता महान समाजसेवीहरुको जीवनी अध्ययन गरेँ । त्यसपछि समाजसेवाको महत्व झनै बुझेँ र समाजसेवा गर्ने भुत चढ्यो ।
म मानव भएर जन्म लिइसकेपछि अरु कसैका बालबालिका बेसहारा र अशिक्षित नहोउन भन्ने लाग्छ । यदि कुनै बालबालिका अभिभावक विहिन, सहारा विहिन, गरिवीका कारण पढ्न, लेख्नबाट बञ्चित छन् भने हामी सवैले सक्दो सहयोग गरौँ । उसको भविष्यका बारेमा हामी सवैले बुझ्न कोशिस गरौँ ।
ती बालबालिकाको भविष्य सुन्दर बनाउन हामी सवैको दायित्व हो । अशिक्षा र गरिवीले कसैको पनि भविष्य बर्बाद नहोवस् र हुन नदिन सवै सचेत भई सहयोग गरौँ । कहिँकतै अनाथ, बेसहारा बालबालिका भेट्नु भयो भने म कहाँ ल्याउनु होला त्यस्ता बालबालिकालाई शिक्षा दिक्षा दिएर उसको भविष्य उज्ज्वल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता गर्दछु ।

Previous articleकेन्द्रको निर्णयले जसपा र माओवादी केन्द्रमा हचलच, पार्टी परित्याग गर्ने चेतावनी
Next articleनेपालगन्जको मेयरमा प्रशान्तलाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here