बाँके, ८ बैशाख, २०७८ ।
केन्द्रिकृत सत्ता गठबन्धनले बाँकेका सत्ता गठबन्धन दलमा हलचल ल्याएको छ । पाँच दलिय सत्ता गठबन्धनले नेपालगन्जको मेयर नेपाली काँग्रेसलाई दिने निर्णय गरेपछि यहाँका राजनीतिक दलमा हलचल ल्याएको हो । नेपालगन्जको मेयर पदको उम्मेदवारमा नेपाली काँग्रेसले पाउने र जनता समाजबादी पार्टी (जसपा) ले उपमेयर पाउने केन्द्रको निर्णयपछि जसपाका नेता, कार्यकर्ता पार्टी परित्याग गर्ने धम्की दिएका छन् ।
जसपा बाँकेले पाँच दलीय सत्ता गठबन्धले गरेको निर्णय नमान्ने स्पष्ट पार्दै पार्टी परित्याग गरि स्वतन्त्र ढंगले चुनाव लड्ने चेतावनी दिएका छन् ।
बालुवाटारमा बुधवार बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले नेपालगन्ज उपमहानगरपालिका काँग्रेसलाई दिने निर्णय गरेसँगै जसपा बाँकेका नेताहरू पार्टी परित्याग गरि आफ्नो तरिकाले निर्वाचन लड्ने तयारी थालेको अध्यक्ष मोहम्मद कमरुद्धिन राईले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरका मेयरका आकांक्षी राईले केन्द्रको निर्णय मान्न नसकिने स्पष्ट पारे । ‘जिल्लाको बस्तुस्थिति नबुझेर केन्द्रका नेताले मनोमानी ढंगले गरेको निर्णय स्विकार्न सकिदैन । हामीहरु अर्कै चुनाव चिन्ह लिएर चुनावमा होमिन्छौँ,’ उनले भने, ‘हामी गठबन्धन मान्दैनौँ, चुनाव लड्छौँ । पार्टीले मान्दैन भने हामी फरक चुनाव चिन्ह लिएर पुरै बाँके जिल्लामा प्रतिस्पर्धा गर्छौं ।’
उनले शुक्रबार बिहान जिल्लामा रहेका सबै पालिका अध्यक्ष र वडा अध्यक्षलाई राखेर पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । उक्त बैठकले निर्वाचनको निर्णय लिने बताए । ‘चुनावमा कसरी जाने भन्ने विषयमा छलफल गर्न सबैलाई बैठकमा बोलाएका छौँ । पार्टीबाट राजिनामा दिने र स्वतन्त्र रुपमा चुनाव लड्ने निर्णय गर्छौँ,’ अध्यक्ष राईले भने ।
सुरक्षा निकायले जस्तै निर्देशन केन्द्रले दिने र तल्लो तहले मानिराख्न नसकिने उनको भनाई छ । पुलिसले जस्तो निर्देशन दिएको भरमा आफू कसैको पछि लाग्न बाध्य नहुने उनले जिकिर गरे । ‘माथिबाट आदेश आयो भन्दैमा हामीले कार्यालय नै खाली गर्न सक्दैनौँ । हामी कसैको गुलामी गर्नका लागि कार्यकर्ता भएका होइनौँ,’ उनले भने ।
केन्द्रमा गठबन्धन गर्ने पाँच दलिय गठबन्धन वीच सहमति भएकै बेला जसपा बाँकेका नेता, कार्यकर्ताले नेपालगन्ज सहित चार पालिकामा गठबन्धन नगर्ने भन्दै गठबन्धनलाई लिखित पत्र पठाएका थिए । पाँच दलिय गठबन्धनको निर्णयले आक्रोशित भएका जसपाका नेताहरूले केन्द्रको सहमति नमान्ने भन्दै पार्टी परित्यागको तयारी थालेका छन् ।
गठबन्धन दलले जसपालाई जनकपुर उपमहानगरपालिका दिने र काँग्रेसले नेपालगन्ज उपमहानगर पाउने सहमति गरेको छ ।
उता, नेकपा माओवादी केन्द्रमा पनि तीव्र असन्तुष्टि बढेको छ । माओवादी केन्द्र नेपालगन्ज उपमहानगरको बुधवार बसेको बैठकले पाँच दलिय सत्ता गठबन्धन दलले माओवादी केन्द्रलाई अपमान गरेको ठहर गरेको छ ।
केन्द्रीय गठबन्धन कार्यदलले गरेको निर्णय आफुहरुका लागि अब्यवहारिक र अपमानजनक भएकोले मैत्रीपूर्ण एकल प्रतिस्पर्धा गर्ने वातावरण सृजना गर्न माओबादी केन्द्र नेपालगन्जले माग गरेको छ । अन्यथा पार्टी आन्दोलन र जनताप्रति घोर अन्याय हुने चेतावनी दिएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रको ४ वटा वडा अध्यक्षसहित सम्मानजनक तेस्रो स्थान रहेको र पछिल्लो समयमा पार्टीको संगठनको बलियो उपस्थिती रहेको माओबादी केन्द्रले उल्लेख गरेको छ ।