बर्दिया, ७ बैशाख, २०७९ ।
बर्दियामा पनि सत्ता गठबन्धन दल वीच स्थानीय तह निर्वाचनमा तालमेल नहुने भएको छ । राजनीतिक दलमा रहेका तहगत नेता तथा कार्यकर्ताले तालमेल नगर्न राय, सुझाव दिएपछि सत्ता गठबन्धन दलहरुले हार्दिकता कायम गरि मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेपछि तालमेल नहुने भएको हो ।
पाँच दलीय गठबन्धन बर्दियाले गठबन्धन भित्र रहेका जिल्ला स्थित राजनीतिक दलहरु बीच हार्दिकता कायम गरी मित्रवत प्रतिस्पर्धा गर्दै स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको काँग्रेस बर्दियाका सचिव मिनराज चौधरीले जानकारी दिए । पाँच दलिय गठबन्धनको बुधवार बसेको बैठकले राजनीतिक दलमा रहेका तहगत नेता तथा कार्यकर्ताहरुको भावना, चाहना अनुरुप एवं राय सुझावलाई आत्मसात गर्दै गठबन्धन दल वीच हार्दिकता कायम गरि मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको उनले बताए ।
उनले बर्दिया जिल्लाका ८ वटै पालिकाको मेयर÷अध्यक्ष, उपमेयर÷उपाध्यक्ष र उल्लेखित पालिका भित्र रहेका ७५ वडाका वडा अध्यक्ष तथा सदस्यमा सत्ता गठबन्धनमा रहेका दलहरु पूर्वाग्रह रहित, मित्रवत् प्रतिस्पर्धात्मक रुपमा सहभागी हुन सहमत भएको बताए । ‘हार्दिकता कायम गरि मित्रबत प्रतिस्पर्धा गर्ने कुरामा सहमत भए पनि निर्वाचन प्रचार प्रसारको अवधीमा स्थितिको मूल्याङ्कन गरी पालिका वा वडा तह बीच निर्वाचनका लागि आपसी सहमतीका आधारमा तालमेल गर्न सकिने कुरामा पूर्ण सहमत भएका छौं,’ उनले भने ।
सत्ता गठबन्धन दलले निर्वाचनमा पाँच दलीय गठबन्धन बाहेक अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेका छन् । ‘पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रको निर्णय र निर्देशनको पालना गर्न प्रतिवद्ध रहनेछौं । साथै जिल्ला स्तरीय पाँच दलीय गठबन्धन बीच आपसी सहयोग, सद्भाव, सहकार्य एवं एकता प्रति सधैँ प्रतिवद्ध रहनेछौं,’ प्रतिवद्धता पत्रमा उल्लेख छ ।