तराईमा एमालेले ल्याएको तुफानी ज्वारभाटाले धेरै दल बढारिने छन् : एमाले नेता रिजाल

बाँके, ६ बैशाख, २०७९ ।


नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभाग सह–इन्चार्ज विष्णु रिजालले एमालेमा आएको तुफानले स्थानीय तह निर्वाचनमा ठूला दलसमेत बढारिने बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले मंगलवार नेपालगन्जमा गरेको पत्रकार भेट्घाटमा नेता रिजालले एमाले पहिलेको जस्तो नभई नेकपाको निरन्तरता भएको बताए । उनले ०७४ सालको स्थानीय तहमा एमालेले पाएको मतलाई आधार मानेर मूल्यांकन नगर्न सुझाव दिए । गत निर्वाचनमा खसेको मत मध्ये एमालेको पक्षमा पाँच लाख बढ्ने उनको दावी छ । ‘अहिले देश एमालेमय छ । जताततै अध्यक्ष केपी ओलीको क्रेज छ । अहिले थपिएका ३५ लाख मतदाता मध्ये आधाभन्दा बढि एमालेको पक्षमा खस्ने एमालेको अनुमान छ,’ नेता रिजालले भने, ‘एमाले नेकपाको निरन्तरता हो ।
नेकपा विभाजन भएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए पनि पूर्व एमालेका कोही पनि माओवादी केन्द्रतिर नगएको बताउँदै उनले पूर्व माओवादी केन्द्रका उच्च तहका नेता र जनतामा लोकप्रिय कार्यकर्ता एमाले रोजेको बताए । उनले भने, नेकपा विभाजन भएर एमाले झन शक्तिशाली र आकारमा ठूलो भएको छ । एमालेका केहि नेता चोइटिएर नेकपा (एकीकृत समाजबादी) खोलेका छन् । यसले एमालेलाई खासै असर पार्दैन ।’
उनले स्थानीय तहमा एमालेलाई पाँच प्रतिशत मात्र क्षति हुने स्पष्ट पारे । उनले पूर्व माओवादीको ठूलो तप्का एमालेमा रहेको बताउँदै तराईमा जनलहर आएको दावी गरे । ‘तराईमा रहेका महानगरका मेयर, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख, उपप्रमुख, थुप्रै वडा अध्यक्ष एमालेमा प्रवेश गर्नु भएको छ,’ उनले भने, ‘एमालेले तराईमा तुफान ल्याउँदैछ । तुफानले धेरै राजनीतिक दललाई बढारेर लैजानेमा दुईमत छैन ।’
उनले एमालेले कुनै दलसँग गठबन्धन नगरेको स्पष्ट पारे । राप्रपा नेपाल र जनता दलसँग स्थानीय तहका केहि सिटमा तालमेल भएको उनले बताए । ‘उहाँहरु एमालेको सूर्य चिन्ह लिएर चुनावमा जान्छौँ भन्नु भयो । एमालेले उहाँको भावनाको कदर गरि केहि सिट दिने गरि तालमेल गर्यो,’ उनले भने, ‘यो गठबन्धन होइन तालमेल हो ।’

Previous articleमंगलप्रसाद महिला कलेजको बुधवार उद्घाटन हुने
Next articleदंगीशरणमा पाँच बर्षमा पाँच पुल निर्माण, तीन पुल निर्माणाधिन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here