बाँके, ५ बैशाख, २०७९ ।
नेपालगन्ज उपमहानगरपालिका १ नं. वडा अध्यक्ष प्रमोद रिजालले मोटरसाइकल लगायत अन्य सरकारी सामग्री बुझाएका छन् । ३० बैशाखमा हुने स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएपछि उनले मोटरसाइकल लगायत सरकारी सामग्री वडा कार्यालयलाई बुझाएका हुन् ।
उनले सोमवार वडा कार्यालयमा आयोजित श्रब्य दृष्य तथा धम्बोझी नामक पुस्तक विमोचन कार्यक्रममा उपमहानगरपालिकाले दिएको ल्यापटप पनि वडा कार्यालयलाई बुझाए । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गरि सरकारी सामग्री बुझाउने रिजाल बाँकेमा पहिलो जनप्रतिनिधि हुन् । ‘वडाबासीको कामलाई सहज र सरल बनाउन आफूले प्रयोग गर्दै आएको मोटरसाइकल र ल्यापटप वडा कार्यालयलाई बुझाएको छु,’ उनले भने ।
उनले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै वडा अध्यक्षको हैसियतले प्रयोग गर्दै आएको सरकारी सामग्री फिर्ता गरेको बताए । उनले संघीयतापछि पहिलो निर्वाचित जनप्रतिनिधिका रुपमा काम गरेको अनुभव दोस्रो कार्यकालमा प्रयोग गर्न पुनः वडा नं. १ को वडाअध्यक्षमा उम्मेदवारी दिन लागेको रिजालले बताए । समृद्ध वडा बनाउने सपना साकार पार्न नसके पनि विकासको अनुभूती दिलाएको छु । पुनः वडाअध्यक्षमा आउनुपर्ने वडाबासीले सुझाव दिएपछि उम्मेदवारी दिँदैछु,’ उनले भने ।
उनी वडा अध्यक्ष भएपछि वडा नं. १ का हरेकजसो टोलमा नालीसहितको कालोपत्रे सडक, ग्राभेल, पीसीसी, कोरोनाकालमा जनताको घरदैलोमा पुगेर स्वास्थ्य सेवा प्रदान, एन्फा ग्रासरुट स्पोर्टस एकेडेमी, ब्याडमिन्टन कोर्ट, नेपालगन्जकै पर्यटकीय क्षेत्र वाटरपार्कको सौन्दर्यकरण, बाल उद्यान, वडा सौन्दर्यकरणका लागि सडकमा फूल, मठमन्दिर जीर्णोदार, खेलाडी उत्पादन र पुराना खेलाडीलाई सम्मान लगायतका कामहरु गरेको उनले दावी गरे ।
यसैवीच, वडा नं. १ ले गरेको विकास निर्माण समेटिएको पुस्तक विमोचन गरिएको छ । एक कार्यक्रमका वीच नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारी, समाजसेवी बखतबहादुर मल्ल, विभिन्न दलका नेता लगायतले पुस्तक विमोचन गरेका हुन् । सो अवसरमा वडा नं. १ ले पाँच बर्षमा गरेको विकास, निर्माण समेटिएको भिडियो डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।