बंगलाचुली र राजपुरमा एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस, अन्य पालिकामा को-को भए सिफारिस ?

बाँके, ३ बैशाख, २०७८ ।


दाङको बंगलाचुली र राजपुर गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । एमाले पालिका कमिटीबाट अध्यक्ष र उपाध्यक्षका एक–एक जना उम्मेदवारको नाम सिफारिस भएपछि सोही अनुसार केन्द्र र प्रदेशमा सिफारिस गरि पठाएको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।
उनले बंगलाचुलीबाट अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वती घर्ती मगरको नाम सिफारिस भएको बताए । त्यसैगरि, राजपुरबाट कुलराज गिरी र सीता यादवको नाम क्रमशः अध्यक्ष र उपाध्यक्षमा सिफारिस भएको छ ।
एमालेले घोराही उपमहानगरपालिकाको मेयरका लागि नरुलाल चौधरी र सीता सिग्देल न्यौपानेको नाम सिफारिस भएको जनाएको छ । चौधरी घोराही उपमहानगरका मेयर र न्यौपाने उपमेयर हुन् ।
तुल्सीपुर उपमहानगरको मेयरमा टिका खड्का, माया शर्मा आचार्य र कृष्णप्रसाद भुसालको नाम सिफारिस भएको छ । उपमेयरमा स्यानी चौधरी र यूवा करारा सुनारको नाम सिफारिस गरि पठाएको सचिव बुढाथोकीले बताए । मेयरमा सिफारिस भएकी आचार्य हालको उपमेयर हुन् । खड्का एमाले दाङका निवर्तमान अध्यक्ष हुन् । उनी दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
एमालेले दंगीशरण गाउँपालिकामा अध्यक्षका लागि भागिराम चौधरी, एमएन शाह र सीमा न्यौपानेको नाम सिफारिस गरेको छ । उपाध्यक्षमा बुधनी चौधरी (विजया) र यशोदा घिमिरेको नाम पठाएको उनले बताए । अध्यक्षमा नाम सिफारिस भएका चौधरी दंगीशरण गाउँपालिकाका वर्तमान अध्यक्ष हुन् ।
शान्तिनगर गाउँपालिकामा पनि तीन जनाले अध्यक्षको दावी गरेका छन् । त्यहाँबाट विष्णु केसी, धनबहादुर केसी र लिला अधिकारीको नाम सिफारिस भएको छ । विष्णु केसी ०७४ सालको स्थानीय तह निर्वाचनमा शान्तिनगर गाउँपालिकाबाट अध्यक्ष पदमा लडेका थिए । उनी झिनो मत अन्तरले पराजित भएका थिए । उक्त गाउँपालिकाको उपाध्यक्षका लागि कमला भण्डारी र सरिता थापाको नाम सिफारिस भएको सचिव बुढाथोकीले जानकारी दिए ।
दाङको सुदूरपश्चिममा रहेको बबई गाउँपालिकाबाट भुवनेश्वर पौडेल, सावित्रा विश्वकर्मा र प्रेमबहादुर खत्रीको नाम सिफारिस भएको छ । उक्त गाउँपालिकाबाट उपाध्यक्षका लागि शारदा शाह र टेकेन्द्रराज अधिकारी सिफारिस भएका छन् । अध्यक्षमा सिफारिस भएका पौडेल गाउँपालिकाका वर्तमान अध्यक्ष र विश्वकर्मा उपाध्यक्ष हुन् ।
एमाले दाङका अनुसार, लमही नगरपालिकाका मेयर कुलबहादुर केसी पनि मेयरको उम्मेदवारमा सिफारिस भएका छन् । उनीसँगै डण्डीराज चौधरी र रत्न केसीको नाम पनि मेयरमा सिफारिस भएको बुढाथोकीले बताए । लमहीको उपमेयरमा सुशीला शर्मा र निर्मला चौधरीको नाम सिफारिस भएको एमालेले जनाएको छ ।
राप्ती गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा नन्दकुमार चौधरी र जगतप्रसाद पोख्रेलको नाम सिफारिस भएको छ । चौधरी सांसद गंगा चौधरीका पति हुन् । उक्त गाउँपालिकाको उपाध्यक्षका लागि कमलापति चौधरीको नाम सर्वसम्मत रुपमा सिफारिस भएको सचिव बुढाथोकीले जानकारी दिए ।
उनले गढवा गाउँपालिकाको अध्यक्षका लागि सहजराम अहिर, नरेन्द्र यादव र सन्देश अधिकारी गरि तीन जनाको नाम सिफारिस भएको बताए । उनले सीता चौधरी र राधा न्यौपानेको नाम उपाध्यक्षको उम्मेदवारका लागि सिफारिस गरि पठाएको जानकारी दिए । सहजराम गढवा गाउँपालिकाका वर्तमान अध्यक्ष हुन् ।
पुराना जनप्रतिनिधिलाई प्राथमिकता दिने एमालेको नीति छ । तर, प्रदेश र केन्द्रबाट नाम नटुंगिदासम्म यहि हुन्छ भन्न सकिने अवस्था नरहेको एमाले नेताहरुको भनाई छ ।

Previous articleघोराही उपमहानगरमा मुख्य तीन दलका को–को छन् आकांक्षी ?
Next articleनेपाली काँग्रेस बाँके : क्षेत्रलाई दियो तालमेलको छिनोफानो गर्ने अधिकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here