नेपाली काँग्रेस बाँके : क्षेत्रलाई दियो तालमेलको छिनोफानो गर्ने अधिकार

बाँके, ३ बैशाख, २०७८ ।


पाँच दलिय सत्तागठबन्धन वीच कुरा नमिलेपछि नेपाली काँग्रेस बाँकेले स्थानीय अवस्था र आवश्यकता अनुसार चुनावी तालमेल गर्ने अधिकार मातहतका समितिलाई दिने निर्णय गरेको छ । काँग्रेस बाँकेको पदाधिकारी शनिवार बसेको पदाधिकारी बैठकले आफ्ना मातहतका समितिलाई स्थानीय अवस्था र आवश्यकता हेरेर निर्णय गर्ने निर्देशन दिएको पार्टी प्रबक्ता डिल्ली गिरीले बताए ।
नेपाली काँग्रेस केन्द्रको परिपत्र र पाँच दलीय सत्तागठबन्धनको निर्णय अनुरुप बाँकेमा जिल्लास्तरीय सत्तागठबन्धन दलको बैठक निरन्तर बसे पनि पालिका बाँडफाडमा सहमति नभएपछि यस्तो निर्णय गरेको उनले बताए । उनले स्थानीय आवश्यकताको आधारमा आ–आफ्नो ठाउँमा तालमेलको निर्णय गर्ने अधिकार प्रत्यायोजन गरेको बताए ।
सभापति नारायणप्रसाद गौडेलले २० चैतदेखि २ बैशाखसम्म सत्तागठबन्धनको बैठक बसेको बताउँदै पालिका बाँडफाडमा कुरा नमिलेकोले बताए । ‘गठबन्धन भित्रका दलहरु वीच छलफल गरि स्थानीय अवस्था तथा आवश्यकता अनुसार आपसी समझदारीमा निर्वाचनमा जाने र तालमेल गरेर जाँदा मित्रवत व्यवहार गर्ने निर्णय भएको छ,’ उनले भने ।
सोही निर्णय अनुसार पार्टीको पदाधिकारी बैठकले मातहतका निकायलाई निर्देशन दिएको प्रबक्ता गिरीले बताए । ‘प्रतिनिधिसभा क्षेत्रीय समितिहरुलाई मातहतमा रहेका समितिलाई यथाशक्य छिटो जानकारी गराई जिल्ला पदाधिकारी बैठकको निर्णय अनुसार कार्य गर्न निर्देशन दिइएको छ,’ उनले भने ।

Previous articleबंगलाचुली र राजपुरमा एमालेका उम्मेदवार सर्वसम्मत सिफारिस, अन्य पालिकामा को-को भए सिफारिस ?
Next articleराजनीतिलाई समाजसेवा बनाएका कमरुद्दिन राई को हुन् ? उनी मेयरमा किन उठ्दैछन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here