जसपा बाहिरिएपछि शंकटमा पाँच दलिय गठबन्धन

बाँके, २ बैशाख, २०७८ ।


बाँकेमा पाँच दलिय गठबन्धन शंकटमा परेको छ । जनता समाजबादी पार्टी (जसपा) ले बाँकेका चार वटा पालिकामा गठबन्धन नगर्ने अडान लिएपछि पाँच दलिय गठबन्धन शंकटमा परेको हो । चार पालिकामा सत्ता गठबन्धन दलहरू बीच मुख्य प्रतिस्पर्धा रहेकाले चुनावी तालमेलको औचित्य नरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको बैठक बाहिरिएको जसपा अध्यक्ष मोहम्मद कमरुद्धिन राईले बताए ।
स्थानीय तह भागवण्डाका लागि बसेको सत्तागठबन्धन दलको बैठकमा जसपाले नेपालगन्ज, नरैनापुर, डुडुवा र जानकी गाउँपालिकाको नेतृत्व दाबी गरेको थियो । उक्त प्रस्ताव गठबन्धन दलहरू कांग्रेस र माओवादी केन्द्रले अस्वीकार गरेपछि जसपा बैठकबाटै बाहिरिएको अध्यक्ष राईले बताए । ‘काँग्रेस र माओवादीले आ–आफ्नो दम्भ देखाए । सहमतिको प्रयास गर्दासमेत राजपालाई बाइपास गरे,’ उनले भने ।
जसपाले नेपालगन्ज उपमहानगर नछाड्ने अडान राख्दै आएको थियो । जसपा जिल्ला अध्यक्ष राई स्वयम् नेपालगन्ज उपमहानगरको मेयरको उम्मेदवार घोषणा गरि चुनावी अभियानमा छन् । ‘बाँकेका चार पालिकामा गठबन्धन दलहरूबीचै प्रतिस्पर्धा हुने भएपछि स्वस्थ प्रतिस्पर्धा गर्नेगरी तालमेल नगर्ने टुंगोमा जसपा पुगेको छ,’ उनले भने ।
२०७४ को स्थानीय चुनावमा नरैनापुर गाउँपालिका जसपाका सैयद इस्तियाक अहमद शाहले जितेको थियो । डुडुवा र नेपालगन्जमा काँग्रेससँग मुख्य प्रतिस्पर्धामा रहेको जसपाले जानकी गाउँपालिकामा एमालेले जित्दा काँग्रेस पहिलो र जसपा तेस्रो स्थानमा थियो । त्यस्तै, राप्तीसोनारी गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्र मुख्य प्रतिस्पर्धामा थिए । ‘हामी प्रतिस्पर्धामा रहेका पालिकामा एक्लाएक्लै लडौँ । एमालेले जितेका चार पालिकामा गठबन्धन बनाएर लडौँ भन्दा काँग्रेस र माओवादीका साथीहरूले नमानेपछि गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णयमा पुग्यौँ,’ उनले भने ।
काँग्रेसले नेपालगन्ज, कोहलपुर, राप्तीसोनारी र डुडुवा गाउँपालिका नछाड्ने अड्डी लिएको छ । माओवादी केन्द्र खजुरा, कोहलपुर र राप्तीसोनारी छाड्न नसक्ने भन्दै आएको छ । त्यस्तै, नेकपा एसले बैजनाथ गाउँपालिकामा दाबी गरिरहेको छ । ‘प्रदेश र संघको चुनावमा जस्तो स्थानीय तहमा चुनावी गठबन्धन सहज छैन,’ जसपा अध्यक्ष राईले भने ।
उनले सवै राजनीतिक दल र नेताहरु आ–आफ्नो स्वार्थपूर्तीमा लागेको बताए । माओवादी केन्द्र बाँके अध्यक्ष डम्बरबहादुर विके खजुरा गाउँपालिकाको सिट सुरक्षित गर्न नेपालगन्ज काँग्रेसलाई दिन तयार भएको राईले बताए । काँग्रेस सभापति नारायणप्रसाद गौडेलले आफ्नो क्षेत्र कोहलपुरमा नेपाली काँग्रेसलाई दिलाएर आफ्नो साख जोगाउने पक्षमा भएको उनको आरोप छ । ‘सवैको आ–आफ्नो स्वार्थ छ । यस्तो गठबन्धनको औचित्य देखिँदैन,’ उनले भने ।
जसपा सचिव एवं बाँके २ का सांसद मोहम्मद इस्तियाक राईले काँग्र्रेस र माओवादीको अडानका कारण बाँकेमा गठबन्धन धरापमा परेको बताए । उनले काँग्रेस र माओवादीले पूरानो जनमतलाई अहिले पनि देखाएर धेरै सिट लिन खोज्दा समस्या आएको बताए । ‘गठबन्धनका दलहरूले आफ्नो पार्टीलाई २०७४ सालकै जनमतको आँखाबाट हेरेर व्यवहार गर्न खोज्दा कुरा बिग्रिएको छ । गठबन्धनकै पार्टीले जित्ने ठाउँमा तालमेल गर्नुपर्दैन । एमालेले जितेका ठाउँमा मात्र गठबन्धन गरौँ भनेका हौँ,’ उनले भने ।

Previous articleवीपी चोकको घटना : चालकलाई जन्मकैदको माग गर्दै नेपालगन्जमा प्रदर्शन, प्रत्यक्षदर्शी के भन्छन् ? (भिडियो सहित)
Next articleभारतमा कोरोना संक्रमण बढेपछि विज्ञले दिए चौथो लहरको चेतावनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here