वीपी चोकको घटना : चालकलाई जन्मकैदको माग गर्दै नेपालगन्जमा प्रदर्शन, प्रत्यक्षदर्शी के भन्छन् ? (भिडियो सहित)

बाँके, १ बैशाख, २०७८ ।


तीव्रगतिमा गुडेको कारले किचेर मारेको घटनाका चालकलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै मृतकका आफन्तल वीपी चोकमा चार घण्टा चक्काजाम गरेका छन् । उनीहरुले चालकले ज्यान मार्ने मनसायले घटना घटाएको आरोप लगाउँदै जन्म कैदको माग गरेका छन् ।
मृतकका आफन्तले नेपालगन्जमा प्रदर्शन गर्दै विपी चोकमा टायर बालेर कारवाहीको माग गरे । प्रहरीले चालकलाई उन्मुक्ति दिने खेल खेलको सूचना पाएपछि दवाव स्वरुप विपी चोकमा टायर बालेर प्रहरीलाई सजग गराएको मृतक अली अन्सारीका बाबु असलम अन्सारीले बताए ।
मुद्धा नचलाएर प्रहरीले चालकलाई प्रहरी कार्यालयको हिरासतमा राखेको उनीहरुको आरोप छ । ‘प्रहरीको चाल बुझेर हामीले दवाव स्वरुप टायर बालेर प्रदर्शन र चक्काजाम गर्यौँ । २ बैशाखसम्मको समय दिएको छ, त्यसपछि पनि मुद्धा चलाइएन भने थप संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछौँ,’ उनले भने । चालकसँग मिलेर प्रहरीले मुद्धा फितलो बनाउने चिन्ता उनीहरुलाई छ । ‘यो दुर्घटना होइन, ज्यान मार्ने मनसायले जानी–जानी घटाइएको घटना हो, चालकलाई आजिवन काराबासको सजाय हुनुपर्छ,’ स्थानीय सराफत खानले भने ।
मिलापत्रका लागि चालकका आफन्त र प्रहरीले दवाव दिएको अली अन्सारीका बाबु असलमले बताए । उनले चालकका पत्नीले म्यासेज गरेर आफ्नो पतिलाई पाँच मिनेटमा जेलबाट छुटाउने धम्की दिएको गुनासो गरे । ‘चालकका आफन्तले पैँसा लिएर मिल्न दवाव दिइरहेका छन् । उनका पत्नीले पाँच मिनेटमा आफ्नो पतिलाई छुटाउने धम्की सहितको एसएमएस पठाएकी छन्,’ उनले भने, ‘हामीलाई पैँसा चाहिदैन, चालकलाई आजिवन कारावासको सजाय हुनुपर्छ । हामीलाई अरु केहि चाहिदैन ।’


प्रत्यक्षदर्शीका अनुसार दुर्घटना कसरी भएको थियो ?
२७ चैत रातको १०ः३० बजे रमजानको तरावी सकिएपछि नेपालगन्ज उपमहानगरपालिका ११, सुनारमण्डीका मोहम्मद असलम अन्सारीको परिवारका सवै सदस्य सँगै बसेर खाना खाए । खाना खाइसकेर अन्सारीका पत्नी, छोरा अली अन्सारी र आमा घुम्न निस्किए । उनीहरुको साथमा अन्सारीको घरमा डेरा गरि बस्ने समिना इद्रिसी र उनका चार बर्षिय नाती मोहम्मद कसिम इद्रिसी पनि थिए । उनीहरुको समुहमा तीन जना बालबालिका र पाँच जना महिला थिए ।
उनीहरु विपी चोकको पाँच सय मिटर उत्तर पुगेका उनीहरु फेरि विपी चोकतर्फ फर्किदै थिए । त्यतिबेला रातको ११ः४५ बजेको थियो । उत्तरबाट तीव्र गतिमा कार आयो र सवैभन्दा अगाडी रहेका पाँच बर्षिय मोहम्मद अलि अन्सारी, चार बर्षिय कसिम इद्रिसी र ६५ बर्षिया समिना इद्रिसीलाई सोहोरेर लग्यो । ‘म र अन्य तीन जना सवैभन्दा पछाडी थियौँ । वीचमा मेरो आमा हुनुहुन्थ्यो । सवैभन्दा अगाडी मेरो हजुरआमा र दुई बालक थिए । तीब्र गतिमा आएको कारले सवैभन्दा अगाडी रहेका तीनै जनालाई पछाडीबाट हान्यो,’ प्रत्यक्षदर्शी समेत रहेकी मृतक अली अन्सारीकी आमा इरम अन्सारीले भनिन्, ‘तीव्र गतिमा रहेको गाडी हाम्रो अगाडीबाट कतिखेर छिर्यो हामीले पत्तोसमेत पाएनौँ । चिच्याएको मात्र सुन्यौँ । दौडेर जाँदा तीन जनाको ज्यान गइसकेको थियो ।’
तीन जनालाई ठक्कर दिएको कारमै हालेर घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याएको केहिबेरमै चिकित्सकले मृत घोषणा गरेका थिए । ‘तीन जनाको ज्यान लिएको कार ब्याक गरेर भाग्ने प्रयास गर्दै थियो । नजिकै रहेका यूवाले घेरा हालेर घाइतेलाई अस्पताल लैजान बाध्य पारे,’ उनले भनिन्, ‘आफ्नै आँखा अगाडी हिडिरहेको छोरा गुमाए ।’
अली र कसिम एकदमै मिल्ने साथी
अली र कसिम एकदमै मिल्ने साथी थिए । उनीहरुलाई एकअर्काको नाम थाह भए पनि कहिलै नामले बोलाएनन् । उनीहरु दुवै जनाले ‘दोस्त’ भनेर बोलाउँथे । ‘कुनै सामान किन्नु पर्यो भने दुवैका लागि किन्थे । दुवैजनाका लागि सामान किन्ने पैँसा आमाबाबुसँग माग्थे,’ अली अन्सारीका बाबु अस्लम अन्सारीले भने, ‘कहिलै साथ नछुट्ने भएकोले त्यो रात पनि सँगै थिए । अपराधीले दुवैजनालाई एकैसाथ किचेर मार्यो ।’
पुरा भएन रमजानमा नयाँ लुगा लगाउने सपना
अली अन्सारी र कसिम इद्रिसीको नयाँ लुगा लगाउने सपना अधुरै भएको छ । उनीहरु दुवै जनाले भोली पल्ट बजार गएर रमजानका लागि नयाँ लुगा किन्ने योजना बनाएका थिए, तर नयाँ लुगा किन्न पाएनन् । ‘छोराले भोली मासुभात खाने र नयाँ लुगा किन्ने भन्दै बाहिर निस्किएको थियो । नयाँ लुगा लगाएर रमजानमा रमाउने उसको सपना पूरा हुन पाएन,’ असलमले भने ।
अन्सारी परिवारमा हरायो रमजानको रौनक
छोरा, उसको साथी र घरमा डेरा गरेर बस्ने आमाको मृत्यू भएपछि अन्सारी परिवारको रमजान खल्लो भएको छ । रमाइलो गरि रमजानमा ब्रत बस्ने र खानपिन तथा नयाँ लुगा लगाएर रमाइलो गर्ने अन्सारी परिवारको योजनामा ब्रेक लागेको छ । रमजानको निराहार ब्रत बसे पनि कुनै रौनकता नभएको कसिमकी आमा आमना इद्रिसीले बताइन् । ‘रमाइलो गरि रमजान मनाउँदै थियौँ । एकै घरका तीन जनाको ज्यान जाने गरि भएको घटनाले रमजानको रौनक आँशुमा बदलिएको छ,’ उनले भनिन् ।

Previous articleनेपालगन्ज भन्सारमा पनि अर्थतन्त्रमा आएको गिरावटको असर
Next articleजसपा बाहिरिएपछि शंकटमा पाँच दलिय गठबन्धन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here