एमाले महासचिव शंकर पोख्रेलको गृह नगर तुल्सीपुर : मेयरमा को–को छन् आकांक्षी ?

बाँके, ३० चैत, २०७८ ।


राजनीतिक चेतनाको हिसावले पश्चिम नेपालका जिल्लाको तुलनामा दाङ अगाडी छ । एमालेका महासचिव शंकर पोख्रेल, पटक–पटक मन्त्री भई नेपाली काँग्रेसमा बलियो पकड बनाएका दिवंगत नेता खुमबहादुर खड्को गृह जिल्ला तथा माओवादी केन्द्रका प्रबक्ता कृष्णबहादुर महराको निर्वाचन क्षेत्र भएको जिल्ला हो दाङ । एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, काँग्रेस नेता तथा पूर्व मन्त्री दिपक गिरी र नेकपाका महासचिव मोहन बैद्य, राजपरिषद स्थायी समितिका पूर्व सभापति स्वर्गिय प्रशुनारायण चौधरीको गृह जिल्ला भएकाले पनि यहाँको निर्वाचनलाई निकै चासोका साथ हेरिने गरिन्छ ।
अहिले राजनीतिक दलका नेताहरु उम्मेदवारीका लागि दौडधुपमा छन् नै सर्वसाधारण मतदाता पनि को उम्मेदवार हुने हो भनी चासोका साथ हेरिरहेका छन् । दाङमा १० वटा स्थानीय तहको प्रमुख, उप्रमुखसहित अन्य जनप्रतिनिधि चयन गर्न ३० बैशाखमा निर्वाचन हुँदै छ । निर्वाचनमा मुख्य राजनीतिक प्रतिस्पर्धा हुने देखिन्छ । ०७४ को निर्वाचनमा दुईवटै उपमहानगरपालिकामा एमालेका उम्मेदवारले जितेका थिए । अहिले पनि यी दुई उपमहानगरपालिकालाई महत्व दिएर राजनीतिक दलहरु उम्मेदवार चयनमा जुटेका छन् । यी दुई उपमहानगरपालिकामा कुन दलबाट कसले टिकट पाउला भन्नेमा पनि उत्तिकै चासो छ ।
सत्तागठन्धन दल वीच कुन पालिका कसले पाउने निक्र्यौल भइनसके पनि राजनीतिक दलहरु आन्तरिक रुपमा उम्मेदवार आ–आफ्नो तयारी गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी चर्चामा छन् । स्वर्गिय नेता खुमबहादुर खड्काका विश्वासपात्र रहेका गेहेन्द्र हाल देउवा प्यानलमा छन् ।
उनी यसअघिको स्थानीय निर्वाचनमा पनि खड्काकै बलमा तुल्सीपुर उपमहानगरपालिकाको मेयरको टिकट पाएका थिए । दोस्रो स्थानमा रहेका उनले १८ हजार ९०३ मत पाएका थिए । मेयरमा विजयी एमालेका घनश्याम पाण्डेले २२ हजार ८७५ मत पाएका थिए । उक्त निर्वाचनमा तेस्रो भएका माओवादी केन्द्रका उम्मेदवार शेसुराम भण्डारीले आठ हजार ६९३ मतमा चित्त बुझाएका थिए । गिरी ०५४ सालका संघीय सांसद पनि हुन् ।
मेयरका लागि नेपाली काँग्रेसबाट सुरेश हमाल, बिमल रिजाल, घनश्याम रेग्मी, नहकुल केसी, किर्तिबहादुर खड्काले पनि आकांक्षा देखिएका छन् । हमाल नेपाली काँग्रेस तुल्सीपुर उपमहानगरपालिकाका सभापति हुन् । उनी यातायात ब्यवसायी महासंघको महासचिव समेत भइसकेका छन् । भने, नहकुल केसी गरिवी निवारण कोषको निर्देशक भएर काम गरिसकेका छन् ।
एमालेबाट पनि विभिन्न नेताले आकांक्षा देखाएका छन् । एमालेमा टिकाराम खड्काको नाम सवैभन्दा अग्रस्थानमा छ । उनलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ । पुराना नेता भए पनि अहिलेसम्म सत्तामा सहभागी हुने अवसर नपाएका उनी एमाले दाङको निवर्तमान अध्यक्ष हुन् ।
एमालेका विनोद शर्मा, कृष्ण भुसाल, हालका उपमेयर माया शर्मा आचार्यले पनि मेयरमा दावी गरेका छन् । उनीहरूको नाममा पनि अहिले पार्टीभित्र चर्चा चल्दै आएको छ तर, टीकाराम खड्काको सम्भावना धेरै भएको एमालेले जनाएको छ ।
तुलसीपुरमा माओवादी केन्द्रबाट पार्टीका केन्द्रीय सल्लाहकार कमिटी सदस्य शेसुराम भण्डारी, तुल्सीपुर नगर इन्चार्ज प्रेमराज ओली ‘प्रभात’, केन्द्रीय लेखा आयोग सदस्य रामबहादुर दहित, पार्टीका तुल्सीपुर नगर सहइन्चार्ज चित्रबहादुर खड्का ‘अनुपम’, प्रदेश कमिटी सदस्य मीना बुढा, पार्टीका नगर अध्यक्ष खुसीराम चौधरी, उपाध्यक्षहरू शान्ति महत र यज्ञबहादुर केसीको नाम चर्चामा छ ।
भण्डारी ०७४ सालको निर्वाचनमा पनि माओवादी केन्द्रको तर्फबाट मेयरको उम्मेदवार थिए । अहिलेको निर्वाचनमा पनि उनी उम्मेदवारका आकांक्षा गरेका छन् । मेयरका अर्का आकांक्षी प्रभात पूर्वजनमुक्ति सेनाका कमान्डर पनि हुन् ।

Previous articleमेयरका उम्मेदवार कमरुद्दिन राई मतदाता भेट्घाटमा ब्यस्त
Next articleनेपालगन्ज भन्सारमा पनि अर्थतन्त्रमा आएको गिरावटको असर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here