बाँके, २८ चैत, २०७८ ।
नेकपा एमालेले नेपालगन्ज उपमहानगरको मेयरमा जिल्ला विकास समिति बाँकेका पूर्व सभापति समेत रहेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्र उम्मेदवार बनाउने भएको छ । एमाले बाँकेले मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेपछि उनी नेपालगन्जको मेयरको उम्मेदवार बन्ने पक्का भएका छ ।
उनी अघिल्लो संंसदिय निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लडेका थिए । नेपालगन्ज पनि क्षेत्र नं. २ भित्र पर्दछ । उक्त निर्वाचनमा मिश्रले १५ हजार ९५१ मत पाएर दोस्रो भए । संगठन बलियो नभए पनि संसदिय निर्वाचनमा तत्कालिन संघीय समाजबादी फोरमका मोहम्मद इस्तियाक राईले २१ हजार ५७५ मत ल्याएर विजयी भए ।
चुनाव चिन्ह सूर्यबाट निर्वाचमा होमिए पनि उनी एमाले प्रवेश गरेका थिएनन् । एमाले प्रवेश नगरेकै कारण उनले पराजय भोग्न परेको विश्लेषकहरुको भनाई छ ।
लामो समयदेखि राजनीतिमा सक्रिय मिश्र सफल ब्यवसायी पनि हुन् । उनले मिडियामा समेत लगानी गरेका छन् ।
एमालेले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बाट टेकवहादुर केसी र वडा नं. १८ बाट दिपक बर्माको नाम वडा अध्यक्षमा सर्वसम्मत सिफारिस गरेको छ । अन्य वडामा एक भन्दा बढिले दावी गरेपछि ढिलाई भएको छ । अन्य वडामा पनि सर्वसम्मत बनाउने प्रयास भइरहेको नगर अध्यक्ष दत्तप्रसाद आचार्यले जानकारी दिए ।