नरैनापुरमा पहिलो पटक एसईई परीक्षा केन्द्र निर्धारण

बाँके, २८ चैत, २०७८ ।


बाँकेको सुदूरपूर्वमा रहेको नरैनापुर गाउँपालिकामा पहिलो पटक एसईईको परीक्षा केन्द्र तोकिएको छ । तीन वटा माध्यमिक विद्यालय रहेको उक्त गाउँपालिकामा पहिलो पटक एसईईको परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा समन्वय कार्यालय प्रमुख रामसुरेश यादवले बताए ।
उनले नरैनापुर गाउँपालिका ६, गंगापुरस्थित जय किसान माविलाई यस पटक एसईई परीक्षा केन्द्र तोकिएको बताए । उक्त परीक्षा केन्द्रबाट राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका दुई–दुई वटा विद्यालयका विद्यार्थीले एसईई परीक्षा दिने जिल्ला शिक्षा समन्वय अधिकारी यादवले बताए । ‘जय किसान माविले एसईई परीक्षाका लागि आवश्यक पर्ने पूर्वाधार तयार गरेपछि विद्यार्थीको सहजताका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ,’ उनले भने ।
गाउँपालिकामा पहिलो पटक एसईई केन्द्र ल्याउन सफल भएकोमा असाध्यै खुसी लागेको जय किसान मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिर्जेन्द्रकुमार यादवले बताए । उनले शैक्षिक सुधारसँगै पूर्वाधार निर्माणमा विद्यालयले फड्को मारेको बताए । ‘२० औँ बर्षदेखिको प्रयास सफल भएको छ । नरैनापुरमा एसईई परीक्षा केन्द्र ल्याउँदा युद्ध जिते जस्तो लागेको छ,’ उनले भने, ‘परीक्षा केन्द्र आउनु जय किसान माविका लागि मात्र नभई सिंगो गाउँपालिकाका लागि गौरवको विषय हो ।’
जय किसान मावि परीक्षा केन्द्रबाट दुई सय ३३ जना विद्यार्थी परीक्षामा सामेल हुने भएका छन् । उनले जय किसान माविका विद्यार्थीको लागि फत्तेपुरस्थित सिद्धेश्वर माविमा परीक्षा केन्द्र तोकिएको छ । यसअघि नरैनापुरका अन्य दुई विद्यालयका विद्यार्थी पनि सिद्धेश्वर मावि परीक्षा केन्द्रमा जाने गरेका थिए ।
अथक प्रयास पछि नरैनापुरको एक विद्यालयमा एसईई परीक्षा केन्द्र ल्याउन सफल भएको गाउँपालिकाका लेखापाल प्रकाश अधिकारीले बताए । उनले जनप्रतिनिधि, विद्यालयका शिक्षक र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षको निरन्तर प्रयासपछि परीक्षा केन्द्र आएको बताए । ‘परीक्षा केन्द्र आउनुले नरैनापुर गाउँपालिका शिक्षामा दुई कदम अगाडी बढेको छ भन्ने प्रमाणित भएको छ,’ उनले भने ।

Previous articleमैनबत्ती बनाउने तालिम पाएपछि एकल महिला खुशी (भिडियो सहित)
Next articleनेपालगन्जको उपमेयरमा ‘शान्ति’ लाई उम्मेदवार बनाउने एमालेको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here