मैनबत्ती बनाउने तालिम पाएपछि एकल महिला खुशी (भिडियो सहित)

बाँके, २७ चैत, २०७८ ।


खैरुल निशा बेहना एकल महिला हुन् । नेपालगन्ज उपमहानगरपालिका ५ की बेहनाको हातमा शिप र शिक्षा छैन । त्यसैले त उनलाई छोराबुहारीमा निर्भर हुन परेको छ ।
आत्मनिर्भर हुने इच्छा उनमा नजागेको होइन, तर तालिम लिने ठाउँ नपाउँदा उनको इच्छा पूरा हुन सकेको थिएन । नेपालगन्ज उपमहानगरपालिका ५ नं. वडा कार्यालयको सहयोगमा द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेले आयोजना गरेको मैनबत्ती बनाउने तालिमले उनमा हौसला थपेको छ । ‘मैनबत्ती बनाउने तालिमले काम गरेर खाने आत्मबल बढाएको छ । आत्मनिर्भर हुने बाटो खुलेको छ,’ उनले भनिन् ।


उनी जस्तै सोही वडाकी बदरुद्दिन खानले पनि मैनबत्ती बनाउने पाँच दिने तालिम लिइन् । नाती, नातिनालाई खेलाउने र तरकारी केलाएर दिन बिताउँदै आएकी उनको इच्छा पनि तालिमले पूरा गरेको छ । तालिममा सिकेको शिप ब्यवहारमा उतार्ने उनको सोँच छ । ‘अव आफ्नो लागि आफै कमाउन सानोतिनो उद्योग गर्छु, धेरै कमाउन नसकेपनि पोषिलो खाने कुरा किन्ने र नाती, नातिनाका लागि कलम, कापी किन्ने पैँसा कमाए पुग्छ,’ उनले भनिन् ।
एक महिला संजालले ५ नं. वडाका एकल महिलालाई आत्मनिर्भर बनाउन पाँच दिने मैनबत्ती बनाउने तालिम दिएको छ । सानोतिनो उद्योग गरेर आफ्नो लागि आफै कमाउन सक्ने बनाउन तालिम दिएको एकल महिला संजालकी अध्यक्ष जयन्ती खत्रीले बताइन् ।


उनले तालिम लिएका महिलालाई उद्योग संचालन र बजारिकरणमा सहयोग गर्ने बताइन् । उनले उद्योग संचालन गर्न चाहने एकल महिलाका लागि मेसिन र कच्चा पदार्थ सहयोगका लागि पहल गर्ने प्रतिवद्धता जनाइन् ।
प्रशिक्षक बिन्दा पाण्डेले सिकेको शिपलाई ब्यवहारमा लागू गर्न एकल महिलालाई सुझाव दिइन् । उनले उत्पादन भएका मैनबत्ती विक्री गर्ने समस्या नभएको बताउँदै आफूले सहजीकरण गर्ने प्रतिवद्धता जनाइन् ।


वडा नं. ५ की सदस्य मञ्जु बादी नेपालीले तालिम लिएका एकल महिलालाई उपकरण खरिदमा सहयोग गर्ने आश्वासन दिइन् । उनले उद्योग संचालन गरि आत्मनिर्भर हुन एकल महिलालाई सुझाव दिइन् ।
वडा नं. ५ का सचिव इन्द्रबहादुर केसीले आत्मनिर्भर नभएकै कारण एकल महिलाहरु अपमानित र अपहेलित हुनु परेको बताए । ‘ब्यवसायले आत्मनिर्भर मात्र बनाउँदैन, आत्मसम्मान पनि बढाउँछ,’ उनले भने । उनले सिकेका शिप थोरै भए पनि ब्यवहारमा लागू गर्न आग्रह गरे ।

एकल महिलाका लागि संचालित पाँच दिने मैनबत्ती बनाउने तालिमको समापन गर्दै द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँके अध्यक्ष जयन्ती खत्री ।
Previous articleनिर्वाचन नजिकिएपछि भारतबाट फर्किन थाले नेपाली
Next articleनरैनापुरमा पहिलो पटक एसईई परीक्षा केन्द्र निर्धारण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here