बाँके, २२, २०७८ चैत ।
पछिल्लो समय राजनीतिलाई नाम र दाम कमाउने पेशाका रुपमा बनाइएको छ । हुन पनि राजनीतिक दलमा लागेर पदमा पुगेकाहरुले त्यस्तै काम गरेका पनि छन् । अहिले राजनीति पैँसा हुनेहरुका लागि भएको छ ।
झुठो बोल्ने, अरुलाई ठगेर लाभ लिने, शक्तिको बलमा काम लिने जस्ता क्रियाकलाप राजनीतिमा लागेकाहरुले गर्दै आएका छन् । त्यसैले त राजनीति नगर्नेहरुले यसलाई फोहरी खेल भन्दछन् । फोहरी खेल नगर्नेहरुको राजनीतिमा अगाडी बढ्न नसकेको प्रशस्त उदाहरण पनि देखिन सकिन्छ । तर, राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा जन्मिएर नेपालगन्ज २२ पुरैनीमा हुर्किएका चेतबहादुर घर्तीमगर राजनीतिलाई विशुद्ध सेवाको रुपमा लिन्छन् । सादगी स्वभावका उनी जनताको सेवालाई आफ्नो कर्तब्य सम्झिन्छन् । उनी भन्छन्, ‘राजनीति स्वयमसेवा हो, राजनीतिमा फाइदा हेरिनु हुँदैन, निस्वार्थ भावले गर्ने सेवा नै राजनीति हो ।’
राजनीति चेत भएका चेतबहादुर कसैसँग रिसाउँदैनन् । जस्तोसुकै अपठ्यारोमा पनि हाँसीहाँसी समस्या समाधान गर्ने खुवी उनीमा छ । उनी रिसाएको अहिलेसम्म नदेखेको उनी नजिकका साथीहरु बताउँछन् । ‘चेतबहादुरजीलाई रिसाएको मैले अहिलेसम्म देखेको छैन,’ उनका बालसखा अम्मर खड्काले भने ।

नाम र दाम कमाउन चाहनेहरु राजनीतिमा लाग्न नहुने उनको तर्क छ । राजनीतिमा पाउने भन्दा गुमाउने धेरै भएको बताउँदै उनले भने, ‘राजनीतिमा कर्म गर फलको आस नगर भने जस्तै हुन्छ । जनताको सेवा गरे माया, ममता र सम्मान पाइएला, तर दाम पाइन्न ।’
उनले नाम र दाम राजनीति भन्दा अरु पेशा, ब्यवसाय गरेर धेरै कमाइने बताए । ‘नाम र दाम त चोरले पनि कमाउँछ । तर राजनीतिमा नाम बाहेक दाम कमाउने आशा कसैले नगरे हुन्छ,’ उनले भने ।
उनी भर्खरै ४४ बर्षका भए । उनले राजनीतिका लागि नेपाल प्रहरीको असईबाट जागिरी छाडे । सुरक्षा निकायमा हुने आदेशात्मक शैली मन नपरेर जागिरी छोडेको उनको भनाई छ । उनी १० बर्ष काम गरेर स्वैच्छिक अवकास लिएर घर बस्न थालेदेखि राजनीतिमै छन् । ‘राजनीतिमार्फत जनताको सेवा गर्न मैले नेपाल प्रहरीको असईको जागिरी छोडेँ,’ उनले भने ।
विक्रम सम्बत २०५७ सालदेखि राजनीतिमा लागेका उनी अहिले जिल्ला समन्वय समिति बाँकेको सदस्य भएर जनताको सेवामा तल्लिन छन् । राप्रपाको जिल्ला सदस्य समेत रहेको उनी आफ्नो सम्पूर्ण जिवन राजनीतिमा बिताउने अठोट गरेका छन् । ‘म प्रहरी छँदा पनि राजनीति गर्थेँ, तर जागिरी छाडेपछि पूर्णकालिन राजनीतिमा लागेको छु,’ उनले भने, ‘मलाई जागिरी भन्दा राजनीति मन पर्छ, जिवनको सम्पूर्ण समय राजनीतिमा बिताउने अठोट गरेको छु,’ उनले भने ।
ढाँट्ने, छल्ने, गुण्डागर्दी गर्ने राजनीति मन पर्दैन । जनतालाई झुक्याएर गरेको राजनीति धेरै टिकाउ हुदैन भन्ने उनले बुझेका छन् । इमान्दारसँग गरेको राजनीति टिकाउ र दीर्घकालिन हुन्छ,’ उनले भने, ‘झुठको राजनीति गर्नेको आयू छोटो हुन्छ भन्ने मैले बुझेको छु।’
उनी आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका २२ पुरैनीबाट अध्यक्षको उम्मेदवार बन्दै छन् । उनको बानी, ब्यवहारले वडा अध्यक्षमा जित्न उनलाई सहज भएको छ । उनले जित्नका लागि राजनीति गरेका होइनन् । त्यसैले त उनी राजनीतिमा लागेदेखि नै जनताको सेवामा तल्लिन छन् । सादा जिवन उच्च विचारका कारण जनतामाझ लोकप्रिय बनेका चेतबहादुरले रियल जनताको सेवकको रुपमा काम गर्नका लागि अध्यक्षमा उम्मेदवारी दिन लागेको बताउँछन् । ‘म अहिले पनि जनताको सेवामा छु, चुनाव जिते पनि सेवा गर्छु, हारे पनि जनताको सेवामा समर्पित हुने छ,’ उनले भने ।