पालिकाले विवरण नपठाउँदा मृतकको नाम मतदाता नामावलीमा कायमै, बाँकेका पाँच पालिकाले पठाएनन् मृतकको विवरण

बाँके, १८ चैत, २०७८ ।


स्थानीय तहले मृतकको तीन पुस्ते विवरण खुल्ने गरि जिल्ला निर्वाचन कार्यालयलाई पठाउनुपर्छ, तर बाँकेका पाँच वटा स्थानीय तहले निर्वाचन आयोगले तोकेको समयमा मृतकको विवरण पठाएनन् । विवरण समयमा नपठाएका कारण मृतकको नाम मतदाता नामावलीमा कायमै रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी यूवराज पन्तले बताए । उनले कोहलपुर, राप्तीसोनारी र नेपालगन्ज उपमहानगरले मात्र मृतकको विवरण पठाएको बताए ।
उनले स्थानीय तहले विवरण नपठाएका कारण मृतकको नाम मतदाता नामावलीबाट हटाउन नसकिएको बताए । ‘पाँच वटा पालिकाले मृतकको विवरण पठाएनन्, पठाएका मध्ये केहिको विवरण अपुरो पठाउँदा मतदाता नामावलीबाट मृतकको नाम कायमै छ,’ उनले भने, ‘एउटै वडामा उस्तै नाम र थर गरेका ब्यक्ति धेरै हुन सक्छन् । अपुरो विवरणले मृतकको पहिचान खुल्न सक्दैन । पहिचान नखुलेपछि नाम हटाउन मिल्दैन ।’
मृतकको तीन पुस्ते र नागरिकता नम्बर वा जन्ममिति स्पष्ट खुल्ने गरि नआएकोले ११० जनाको नाम मतदाता नामावलीबाट हटाउन नसकिएको उनले बताए । ‘विस्तृत विवरण नहुँदा मृत्यू भएको भनि वडा कार्यालयबाट प्राप्त पत्र मध्ये ११० जनाको नाम मतदाता नामावलीबाट हटाउन सम्भव भएन,’ उनले भने ।
निर्वाचन कार्यालयले मतदाता नामावलीमाथि दावी विरोध गर्ने समय २०–२३ चैतसम्मको समय तोकेको थियो । ‘कोहलपुर र राप्तीसोनारीका सवै वडाले समयमा पठाए, तर नेपालगन्ज उपमहानगरपालिकाका केहि वडाले मात्र मृतकको विवरण पठाए । जानकी गाउँपालिकाले म्याद सकिएपछि मात्र विवरण पठायो,’ पन्तले भने ।
तीन वटा पालिकाले पठाएको विवरण अनुसार निर्वाचन कार्यालयले तीन सय ४७ जना मृतकको नाम नामावलीबाट हटाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार बाँकेमा तीन लाख २९ हजार ४७३ मतदाता रहेका छन् ।

Previous articleभेरी अस्पतालको शौचालयबाट कसरी फरार भए कारागारका थुनुवा हरिमान ?
Next articleअब गर्मी छल्न राप्ती नदीमा र्याफ्टिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here