भेरी अस्पतालको शौचालयबाट कसरी फरार भए कारागारका थुनुवा हरिमान ?

फोटो गुगलबाट साभार ।

बाँके, १७ चैत, २०७८ ।


विरामी भएपछि पुर्पक्षका लागि बाँके जिल्ला कारागारमा रहेका जुम्लाका हरिमान कामीलाई १६ चैत दिउँसो भेरी अस्पताल ल्याइयो । जाँच पछि चिकित्सकको सल्लाह बमोजिम उनलाई भेरी अस्पतालको जनरल वार्डमा भर्ना गरियो । उपचारका क्रममा उनको हातमा लगाइएको हत्कडी लागेकै थियो ।
उनले १७ चैत विहान करिव ५ बजे शौच लागेको प्रहरीलाई जानकारी गराए । दिसा गर्ने भनेपछि साथमा रहेका प्रहरीले एउटा हातको हतकडी खोलिदिए । थुनुवा कामीले शौचालयको ढोका सँगै चुकुल पनि लगाए । तर शौच गर्ने बहानामा उनी शौचालयको भेन्टिलेशनबाट छिरेर फरार भए । ‘प्रहरीले शौचालयको चुकुल लगाउन नदिनु पर्दथ्यो । प्रहरी यहाँनेर चुकेको जस्तो देखिन्छ,’ बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलाई भने ।
शौचालय गएका थुनुवा हरिमान धेरैबेरसम्म बाहिर नआएपछि ड्यूटीमा रहेका प्रहरीले ढोका खोल्न भने, तर खोलेनन् । त्यसपछि प्रहरीले लात्तीले हानेर शौचालयको ढोका खोल्यो, तर हरिमान त्यहाँ थिएनन् ।
भेरी अस्पतालमा खटिएका प्रहरी र थुनुवाको उपचारका लागि कारागारबाट आएको प्रहरी टोलीले हरिमानलाई धेरैबेरसम्म अस्पतालमा खोज्यो, तर फेला पार्न सकेन । त्यसपछि मात्र अस्पतालमा खटिएको प्रहरीले बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीलाई जानकारी दियो । उपचारका लागि अस्पताल भर्ना भएका थुनुवा शौचालयबाट फरार भएको खवर छिनभरमा जिल्लाभरका प्रहरी यूनिटमा पुग्यो । एसपीले जुनसुकै हालतमा फरार हरिमानलाई नियन्त्रणमा लिन मातहतका प्रहरीलाई निर्देशन दिए ।
विहान करिव ५ः३० बजे एपपी अधिकारीले इलाका प्रहरी कार्यालयका इन्चार्ज सई मिनबहादुर विष्टलाई फोनमार्फत जानकारी दिए । हरिमानलाई भारत प्रवेश गर्न नदिने रणनीति प्रहरीले बनायो । सवैतिर प्रहरी छरिए । नाकामा नेपाल प्रहरीलाई तैनाथ गरियो ।
एसपीको निर्देशन अनुसार इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज सई विष्टको टोली हरिमानको खोजीमा निस्कियो । उनको टोलीले खोज्दै जाँदा हरिमानलाई नेपालगन्ज उपमहानगरपालिका १४, बालेगाउँ नजिकको गहुँ खेतमा फेला पार्यो । प्रहरीलाई देख्ने वित्तिकै गहुँ खेतमा लुकेका हरिमान दौडेर भाग्ने प्रयास गरे । सई विष्टले उनको पिछा परे । ‘भाग्दै गरेका हरिमानलाई नियन्त्रणमा लिन मैले पेस्तोल चलाउन सक्थेँ, हान्ने आदेश पनि थियो, तर गोली प्रहार गर्दा उनको भुँडीमा लाग्ने सम्भावना मैले देखेँ । त्यसैले लखेटेर नियन्त्रणमा लिने निर्णयमा पुगेँ,’ विष्टले भने ।
नियन्त्रणमा लिने क्रममा हरिमानले सई विष्टमाथि आक्रमण प्रयास गरे । तर उनको आक्रमण प्रयास सफल भएन । ‘हरिमानले मेरो अण्डकोष समात्ने प्रयास गरे, मैले घुँडाले च्यूँडोमा हिर्काएँ, उनी जमिनमा पछारिएपछि नियन्त्रणमा लिएँ,’ उनले भने । विहान करिव ८ बजे पक्राउ परेका हरिमानलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको उनले बताए ।
अस्पतालको शौचालयबाट भागेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको एसपी अधिकारीले जानकारी दिए । हरिमान ठगी र जवरजस्तीकरणी मुद्धामा बाँके जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन् । उनले थप सजायको माग गरि शुक्रवार बाँके जिल्ला अदालतमा पेश गर्ने एसपी अधिकारीले बताए ।

Previous articleडायलासिसको पालो कुर्दाकुर्दै ज्यान गुमाउँछन् बाँके र बर्दियाका मिर्गौला पीडित
Next articleपालिकाले विवरण नपठाउँदा मृतकको नाम मतदाता नामावलीमा कायमै, बाँकेका पाँच पालिकाले पठाएनन् मृतकको विवरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here