बाँके, १७ चैत, २०७८ ।
धनबहादुर गुरुङको घर नेपालगन्जस्थित भेरी अस्पताल १० किलोमिटर दूरीमा छ । उनलाई अस्पताल पुग्न मोटरसाइकलमा १५ मिनेट पनि लाग्दैन । उनका लागि नेपालगन्ज पानी पधेँरो जस्तै हो । नेपालगन्जसँग उनको आत्मियता गाँसिएको छ । धेरैजसो इष्टमित्र, नातागोता, छरछिमेक नेपालगन्जमै छन् । तर, उनी उपचारका लागि भारतको लखनउ जान बाध्य छन् । उनलाई लखनउ जानुपर्दा ज्यान गए जस्तो लाग्छ । घर आँगनमा भएको भेरी अस्पतालले डायलासिस नगरिदिएपछि डायलासिसका लागि पटक–पटक लखनउ जानुको विकल्प छैन उनीसँँग ।
घर आँगनमा भएको भेरी अस्पतालमा डायलासिस मेसिन नभएको होइन । मेसिनको तुलनामा मिर्गौलाका विरामी धेरै भएकोले तीन महिनादेखि उनले पालो पाएका छैनन् । भन्छन्, ‘डायलासिस गराउन भारतको लखनउ जानुपर्ने बाध्यता छ, घर आँगनमा भएको भेरी अस्पतालको डायलासिस मेसिन हेरेर चित्त बुझाउने बाहेक अरु केहि छैन ।’
उनी जस्तै बाँके र बर्दियाका मिर्गौलाका करिव ४० जना विरामी डायलासिस गर्ने पालो नपाएर छट्पटाउँछन् । पैँसा हुनेहरु भारतको लखनउ, काठ्माडौँ लगायत ठूला सहरमा जान्छन् । पैँसाको जोहो गर्न नसक्नेहरु उपचारको पर्खाईमा घर र अस्पतालका बेडमा छट्पटिदै डायलासिसका लागि याचना गर्छन् । ‘हाम्रो ठाउँमा डायलासिस गर्ने अस्पताल, मेसिन र दक्ष जनशक्ति छन्, तर सरकारको लापरवाहीले हामीले आफ्नो ठाउँमा भएको सुविधा प्रयोग गर्न पाइराखेका छैनौँ,’ गुरुङले भने, ‘सोर्सफोर्स पुग्नेले पालो छिट्टै पाउँछन्, पावर नहुनेहरु डायलासिस गर्ने पालो कुर्दाकुर्दै स्वर्गबास हुन्छन् ।’
खजुरा गाउँपालिका १, शैनिकका ६६ बर्षिय धनबहादुर डायलासिसका लागि १२ पटक लखनऊ पुगेका छन् । ‘भेरी अस्पतालमा फोन गरेर सोध्यो, खाली छैन भन्ने जवाफ दिन्छन् । गाह्रो भएपछि ज्यान बचाउन भारतको लखनउ लैजानै पर्यो,’ धनबहादुरका भाई खुमबहादुरले भने, ‘डायलासिस सेवा सर्वसुलभ नहुँदा मिर्गौला पीडितलाई बचाउन गाह्रो छ ।’
उनले एक पटक लखनऊ लैजाँदा कम्तिमा १० हजार भारतीय रुपैँया खर्च हुने गरेको बताए । तीन महिनामा पाँच लाख खर्च भइसकेको उनले बताए । मिर्गौलाका विरामीले निशुल्क उपचार पाउने भन्ने सुनिन्छ, तर औषधि त के शुल्क तिरेर पनि नियमित डायलासिस पाउन सकिएको छैन,’ उनले भने ।
खजुरा गाउँपालिका ३, खजुरा बजारका ४२ बर्षिय सुरेशकुमार श्रेष्ठको दुवै मिर्गौला फेल भएको ६ महिना भयो । डायलासिसका लागि भेरी अस्पताल धाउन थालेको धेरै भइसक्यो, तर उनले पनि अहिलेसम्म पालो पाएका छैनन् । इमरजेन्सी अवस्थामा मात्र भेरी अस्पतालले डायलासिस सेवा दिने गरेको उनले बताए । आपतकालिन अवस्थामा पाँच हजार रुपैँया तिरेर डायलासिस गराउन बाध्य भएको बताए । ‘डायलासिस सेवा पाउनका लागि स्वास्थ्यमा खरावी आएको भन्ने बहाना बनाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘हिड्डुल गर्न सक्ने अवस्थामा खाली छैन अर्को दिन आउनु होला भनेर फर्काई दिन्छन् । पालो पाउन स्वास्थ्य अवस्था राम्रो भएको बेला पनि राम्रो छैन भनेर बहाना बनाएर सेवा लिन परेको छ ।’
नेपालगन्जस्थित भेरी अस्पतालले मिर्गौला रोगका विरामीको डायलासिस निशुल्क गर्दै आएको छ, तर पर्याप्त संख्यामा डायलासिस मेसिन र जनशक्ति नहुँदा विरामीहरु डायलासिस सेवाबाट बञ्चित भइरहेका छन् । भेरी अस्पतालमा अहिले २९ जना विरामीले नियमित रुपमा डायलासिस सेवा लिँदै आएका छन् । सम्पर्कमा आएका ३५ जना मिर्गौला पीडित नियमित तथा निशुल्क डायलासिसबाट बञ्चित भएको भेरी अस्पतालका मिर्गौला रोग विभाग प्रमुख डा. पारस श्रेष्ठले बताए ।
भेरी अस्पतालमा तीन वटा डायलासिस मेसिन मात्र भएको उनले बताए । एक दिनमा तीन सिफ्टमा डायलासिस गर्दै आएको बताउँदै उनले दैनिक ९ जनालाई मात्र सेवा दिन सकेको बताए ।