भारतको हरियाणा प्रधानमन्त्री कप महिला भलिबलको च्याम्पियन

बाँके १४ चैत, २०७८ ।


आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन भारतको हरियाणा स्पोर्टस् क्लब बनेको छ । नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागिय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक फाइनलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हरायो । लिग चरणमा पनि हरियाणाले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको थियो । उपाधिसँगै हरियाणाले पाँच लाख रुपैँया प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले दुई लाख ५० हजार प्राप्त गरेको छ ।
त्यसअघि सोमबार नै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागिय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
यो सँगै आर्मीले डायमन्डलाई लिग चरण र नकआउट चरण दुवैमा पराजित गर्न सफल भयो । तेस्रो भएको आर्मीले एक लाख रुपैँया प्राप्त गरेको छ । चौथो भएको डायमन्डले ५० हजार रुपैँयामा चित्त बुझाएको छ ।


प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यस संस्करणमा एपीएफले भाग लिएको छैन ।
१० चैतबाट शुरु भएको प्रतियोगितामा नेपालका ४ र भारतका दुईसहित ६ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीले पाँच हजार रुपैँया पाएका छन् । आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीका अनुसार, आर्मीकी स्पाइकर शान्ति कुमारी थारु, हरियाणाका सेटर रुक्सना, हरियाणाका ब्लकर न्यान्सी, नेपाल पुलिसकी सर्भर कमला पुन, पुलिसकी लिबेरो शान्तिकला तामाङ, पुलिसका प्रशिक्षक रुपेश विष्टले पाँच–पाँच हजार रुपैँया प्राप्त गरे ।
प्रतियोगितामा हरियाणाकी सर्वोत्कृष्ट खेलाडी निर्मलले २५ हजार रुपैँया प्राप्त गरिन् ।

Previous articleक्यान्सर अस्पतालका अध्यक्ष थापा भन्छन्, ‘अदालतको आदेश स्विकार गर्छु’
Next articleपर्यटन प्रवर्द्धन र आर्थिक उपार्जनमा होमस्टेको भूमिका महत्वपूर्ण, तर राज्यबाट उपेक्षित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here