पर्यटन प्रवर्द्धन र आर्थिक उपार्जनमा होमस्टेको भूमिका महत्वपूर्ण, तर राज्यबाट उपेक्षित

बाँके, १४ चैत, २०७८ ।


होमस्टे ब्यवसायीले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेले पनि राज्यको तर्फबाट कुनै सुविधा नपाएको गुनासो गरेका छन् । होमस्टे महासंघ नेपालले नेपालगन्जमा गरेको पत्रकार भेट्घाटमा उपाध्यक्ष बाबुराजा महर्जनले नेपालका होमस्टे (घरमा बास) ले बाह्य तथा आन्तरिक पर्यटनलाई गाउँ–गाउँसम्म पुर्याएर देशको अर्थतन्त्र माथि उकास्न मद्दत गरेको बताए ।
उनले पर्यटकलाई गाउँ–गाउँमा पुर्याउने काम होमस्टे बाहेक अरुले नसक्ने दावी गरे । ‘होमस्टेमा आन्तरिक पर्यटक त जान्छन् नै बाह्य पर्यटकको पनि गन्तब्य बनेको छ,’ उनले भने, ‘होमस्टेले दुर्गममा रहेका पर्यटकीय स्थल र रैथाने खानाको स्वदेश तथा विदेशमा प्रचारप्रसार गरि विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका निवार्ह गरेकोमा दुईमत छैन ।’
होमस्टे महासंघका महासचिव कृष्णलाल चौधरीले होमस्टेले रोजगारी सिर्जना गरि विदेश पलायन हुने क्रमलाई रोकेको बताए । उनले विदेश जाने यूवाहरु आफ्नै ठाउँमा होमस्टे संचालन गरि स्वरोजगार बनेको जिकिर गरे । ‘घरमा सिमित रहने महिलालाई होमस्टेले रोजगार दिएर आत्मनिर्भर बनाएको छ । हामेस्टेले जिडिपी लक्ष्य पूरा गर्न सहयोग गरेको छ,’ महासचिव चौधरीले भने ।
नेपालमा निजी र सामुदायिक दुई थरिका होमस्टे संचालनमा रहेका छन् । सामुदायिक होमस्टेले राज्यबाट केहि सहयोग पाए पनि निजी होमस्टेले कुनै पनि सहयोग नपाएको निजी होमस्टे संचालक समेत रहेका उपाध्यक्ष महर्जनले बताए । उनले भने, ‘देशको अर्थतन्त्र सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजी होमस्टे नै राज्यको सेवाबाट बञ्चित हुनु दुर्भाग्य मान्नु पर्छ,’ उनले भने ।
होमस्टे संघका पूर्व अध्यक्ष भीम केसीले पाहुनालाई घरमा बसेको जस्तो अनुभूती होमस्टेले दिँदै आएको बताए । उनले होमस्टेहरु समय अनुसार परिवर्तन हुँदै गएको बताउँदै गाभरभ्याली होमस्टे विस्तारै रिसोर्टको अवधारणामा अगाडी बढेको बताए । ‘परम्परागत घरबाट सुरु भएको गाभरभ्याली होमस्टे विस्तारै रिसोर्टको रुपमा विकास हुँदै गएका छन्,’ उनले भने ।
गाभरभ्याली होमस्टेमा सम्पन्न होमस्टे एशोसियशन नेपालको तेस्रो सम्मेलनले गाभर भ्याली घोषणा पत्र जारी गरेको छ । उक्त सम्मेलनले होमस्टे प्रवद्र्धन रणनीति तय गर्ने प्रतिवद्धता जनाएको छ । त्यसैगरि, होमस्टे कार्यविधि तयार गरि कार्यान्वयन गर्ने, होमस्टे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, सवै राजनीतिक दलको नीति तथा कार्यक्रममा होमस्टे प्रवर्द्धनको रणनीति तयारीका लागि पहल गर्ने, समृद्धिको आधार होमस्टे हो भन्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न आह्वान गर्ने र ‘होमस्टेमा छ मन, यसैमा छ जीवन’ अभियान संचालन गर्ने प्रतिवद्धता पनि सम्मेलनले गरेको छ । ‘होमस्टे मार्फत प्रकृति, मौलिक (रैथाने) कला, संस्कृती, ज्ञान, सीप र प्रविधिहरुको संरुक्षण तथा प्रवर्द्धन गर्ने प्रतिवद्धता जाहेर गर्दछौँ,’ जारी घोषणा पत्रमा उल्लेख छ ।

Previous articleभारतको हरियाणा प्रधानमन्त्री कप महिला भलिबलको च्याम्पियन
Next articleराँझा चोकमा टिप्परले किच्दा हुम्लाका भण्डारीको घटनास्थलमै मृत्यू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here