मौलिक खाना मेला : १०७ बर्ष पूरानो कोलमा तेल पेलेर पर्यटन, सहरी तथा ग्रामिण विकास मन्त्री चौधरीले गरे उद्घाटन (फोटो फिचर)

बाँके, १२ चैत, २०७८ ।


लुम्बिनी प्रदेशका पर्यटन, सहरी तथा ग्रामिण विकास मन्त्री डिल्लीबहादुर चौधरीले गाभरभ्याली होमस्टेमा आयोजना गरिएको ‘मौलिक खाना मेला’ को शनिवार उद्घाटन गरेका छन् । मन्त्री चौधरीले मेला स्थलमा राखिएको १०७ बर्ष पूरानो कोलमा तेल पेलेर मेलाको उद्घाटन गरेका हुन् ।
कोलमा तेल पेलेर ‘मौलिक खाना मेला’ को उद्घाटन गर्दै मन्त्री चौधरीले प्रदेश सरकारले रैथाने खानाको प्रवद्र्धन गर्न विशेष नीति अवलम्बन गरेको बताए । उनले स्थानीय स्तरमा पाइने रैथाने खानाको प्रचार प्रसार गर्नसके विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा राखे । लुम्बिनी प्रदेशका होमस्टेले मौलिक संस्कृतिसँगै रैथाने खानाको प्रवद्र्धन गरेको उनको भनाई थियो । ‘विदेशीहरु हाईजेनिक खानाभन्दा स्थानीयस्तरमा पाइने रैथाने खाना रुचाउँछन्, तर हामी कहाँ पाइने खानाको बारेमा उनीहरु जानकार छैनन्,’ उनले भने ।


उनले स्थानीयस्तरमा पाइने रैथाने खाना स्वास्थ्यका लागि समेत लाभबद्र्धक भएको उनले बताए । ‘होमस्टेले खुवाउने खाना अर्गानिक छ नै ताजा पनि हुन्छ । रैथाने खाना भएकोले स्वास्थ्यबद्र्धक पनि हुन्छ,’ मन्त्री चौधरीले भने ।
उनले होमस्टेले देशको अर्थतन्त्र सुधार गर्न सघाएको धारणा राख्दै बेरोजगारलाई रोजगार दिएको बताए । ‘होमस्टेले कामका लागि विदेश जाने यूवा शक्तिलाई स्वदेशमै रोजगार दिएर पयालन हुने क्रमलाई रोकेको छ,’ उनले भने, ‘रैथाने खानाको प्रवद्र्धन र बजारिकरण गर्न लुम्बिनी प्रदेश सरकारले कानून ल्याउने तयारीमा छ ।’
मौलिक खाना मेलामा के–के हेर्न र खान पाइन्छ ?
मौलिक खाना मेलामा लोप भएका परम्परागत सीप र प्रविधिको जानकारी गराउन कोलमा तेल पेल्ने, ढिकी कुटेर चामल निकाल्ने, जाँतो पिस्ने अनुभव लिन सकिने ब्यवस्था मिलाइएको छ । त्यसैगरि, बयल गाडा चढेर आनन्द लिन र विभिन्न जातजातीको सकिने जानकारी दिए । ‘थारु समुदायले आफ्ना देवतालाई चढाउनका लागि तयार पार्ने रक्सी बनाउने प्रविधी हेर्ने, रैथाने कृषिको अवलोकन गर्ने ब्यवस्था मिलाइएको छ,’ अध्यक्ष चौधरीले भने, ‘थारु समुदायको मौलिक गहना किन्ने र अवलोकन गर्न सकिने ब्यवस्था पनि छ ।’


त्यसैगरि, थारु समुदायको भान्सा, देवता राख्ने कोठा, थारु समुदायले घरको भित्तामा कोर्ने चित्रको पनि मेलामा अवलोकन गर्न पाइने उनले बताए । मेलामा मौलिक (रैथाने) खानामात्र अवलोकन गर्ने र खाने ब्यवस्था गरिएको छ ।
खाना मेलामा थारु समुदायमा प्रचलित घोङ्घीको तरकारी, गंगटा, मुसा, सिध्रा माछाको चटनी, आलुको अचार, कचालु, ढिक्री, अनदी चामलको रोटी लगायत मौलिक खानाका परिकार प्रदर्शनीमा राखिएको छ । त्यसैगरि, हिमाली भेग अन्तरगत मुगेली समुदायमा लोकप्रिय मानिने कोदोको रोटी, फाफरको ढिडो, सिस्नोको साग लगायतका परिकार खाने ब्यवस्था मिलाइएको चौधरीले बताए ।
उनले मगर जातिको खानाका परिकार र मधेसी समुदायको मौलिक खानाका परिकार पनि मेलामा राखिने जानकारी दिए । ‘मौलिक तर लोपोन्मुख खानालाई मेलामा प्राथमिकता दिइएको छ,’ उनले भने ।

Previous articleपुर्खाले आर्जेको कलाकौशल हेर्न १२ र १३ चैतमा गाभरभ्याली होमस्टे जाऔँ, मौलिक खाना मेलाको मजा लिऔँ (फोटोमा हेर्नुस मौलिक खाना मेलाको झलक)
Next articleम्यादी प्रहरीमा यूवाको आकर्षण : ९ महिनाकी आमाले पनि दिइन आवेदन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here