प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस र त्रिभुवन आर्मी क्लवको विजयी सुरुवात

बाँके, १० चैत, २०७८ ।


नेपालगन्जमा सुरु भएको आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता अन्तरगत विहीवार भएको पहिलो खेलमा विभागिय टिमले बर्चश्व जमाएका छन् । पहिलो दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले होङ्सी न्यू डायमन्डलाई पराजित गरि जित दर्ता भएका हुन् ।
खेलमा नेपाल पुलिस क्लबले आयोजकको लुम्बिनी युनाइटेडलाई सोझो सेटमा पराजित गर्यो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको हो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन् । उनलाई नेपाली सेनाका सहसेनानी जनमत कार्की, पूर्व अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजितकुमार शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र कैलपाल एकेडेमीका निर्देशक रेवती सिंहले पुरस्कृत गरे ।
विगतका बर्षभन्दा लुम्बिनी युनाइटेडले खेलमा सुधार गरेको छ । लुम्बिनीका प्रशिक्षक अर्जुन घिमिरेले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । राष्ट्रिय टिमका खेलाडी समावेश पुलिसका अगाडि आफ्ना खेलाडी खुलेर खेलेको उनले बताए ।
नेपाल पुलिसकी सहायक प्रशिक्षक कोपिला उप्रेतीले नेपाल पुलिस उपाधि जित्नका लागि प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा सहभागी भएको बताइन् । पहिलो खेलमा पुलिस क्लवका खेलाडीले राम्रो प्रदर्शन गरेको उनले बताइन् ।
यसअघि प्रधानमन्त्री कप च्याम्पियन बन्दा कोपिला पुलिस क्लवकी सशक्त खेलाडी थिइन् । उनी पहिलो पटक प्रशिक्षकका रुपमा नेपालगन्ज आएकी हुन् ।
त्यसैगरी, दोस्रो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबे होङ्सी न्यू डायमन्ड एकेडेमीलाई ३–१ सेटले हरायो । आर्मीले न्यू डायमन्डलाई २५–१५, २७–२९, २५–१७ र २५–२२ ले हराउन सफल भयो । त्यसमा आर्मीकी साफिया पुन प्लेयर अफ द म्याच भइन् । उनलाई पूर्व खेलकुद प्रशासक अशोकजंग थापा, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, मिठो छ टिटका संस्थापक सौभाग्यजंग शाह र भारोत्तोलनकी साग स्वर्णधारी सञ्जु चौधरीले पुरस्कृत गरे ।
फाइनल खेल झैं निकै प्रतिस्पर्धा भएको उक्त खेल जितेकोमा आर्मीका प्रशिक्षक लोकेस बुढाले खुशी व्यक्त गरे । त्यस्तै डायमन्डका प्रशिक्षक कुमार राईले राम्रो गर्ने प्रयास गर्दागर्दै पनि नतिजा गुमाउन पुगेको प्रतिक्रिया दिए ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले पिएम कप आठौं संस्करणको उद्घाटन गरेका थिए । उनले भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवालाई बल हस्तान्तरण गरेका थिए ।
खेलाडीको आवास तथा भोजनमा कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजाले हस्पिटालिटी पार्टनरका रुपमा सघाएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय पोशाक ब्रान्ड युक्यान किट पार्टनर तथा महिला सशक्तीकरणका बिषयमा ऐक्यवद्धता जनाउँदै युएनडिपीले थिम पार्टनर भएर सहकार्य गरेको छ । नेपाली सेनाको भैरवप्रसाद गणले व्यवस्थापनमा सघाएको छ ।
लिग कम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको दोस्रो दिन पहिलो खेल नेपाल पुलिस क्लब विरुद्ध हरियाणा स्पोर्ट्स क्लब(भारत) तथा दोस्रो खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध एकलव्य खेलकुद परिसर (छत्तीसगढ भारत) वीच हुने आयोजक बाँके जिल्ला भलिवल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । एपीएफ प्रतियोगितामा अनुपस्थित छ ।

Previous article१०७ बर्ष पूरानो कोलमा तेल पेलेर पर्यटन मन्त्री चौधरीले गर्ने ‘मौलिक खाना मेला’ को उद्घाटन
Next articleक्षयरोगको उच्च जोखिममा बाँके, ६ महिनामा २५ जनाको मृत्यू, महिलाभन्दा जोखिममा पुरुष

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here