बर्दिया–पोखरा सम्पर्क समाजले पोखरामा के गर्दै छ ? समस्यामा परेकालाई कसरी सहयोग गर्छ ?

पोखरा, ५ चैत, २०७८ ।
बर्दियाका नरेश थारुले चलाएको गाडी पोखरामा दुर्घटना भयो । गाडी पूर्णरुपमा क्षति भयो । उनलाई बल्लतल्ल गाडीबाट निकालेर मेडिसिटी हस्पिटल पुर्याइयो । उपचार पछि उनी निको भए, तर उपचार बापतको पैँसा तिर्न नसक्दा अस्पतालले उनलाई घर जान दिएन । शुल्क बुझाउन नसक्दा नरेशलाई अस्पतालले बन्धक बनाएको बर्दिया–पोखरा सम्पर्क समाजले जानकारी पायो र अस्पतालसँग समन्वय गरेर उनलाई बर्दिया पठाउने प्रवन्ध मिलायो ।
बर्दियाबाट पोखरामा ब्यापार, ब्यवसाय, जागिरी गर्ने र बसोबास गर्दै आएका बर्दियालीलाई सहयोग गर्दै आएको समाजका संस्थापक अध्यक्ष दिपक पौडेलले बताए । ‘पोखरा बस्दै आएकालाई मात्र नभई घुमफिर र मजदुरी गर्न आएका बर्दियालीलाई समस्या परेको जानकारी पाए समाजले सक्दो सहयोग गर्छ,’ उनले भने ।
कोरोना कहरका बेला लकडाउनले बेरोजगार भएका र सवारी साधन नपाएर पोखरा लगायत त्यस क्षेत्रमा अलपत्र परेका २० हजार बाँके र बर्दियाबासीलाई घर जाने ब्यवस्था मिलाएको उनले बताए । उनले भने, ‘हामीले सुरक्षित रुपमा घर जाने ब्यवस्था मिलायौँ र अलपत्र परेका बर्दिया र बाँकेबासीलाई खाना तथा बास बस्ने प्रवन्ध समेत गर्यौँ ।’


पोखरा आएर बसोबास गर्ने बर्दियालीको शिक्षा, स्वास्थ्य, रोजगार र ब्यापार, ब्यवसाय संचालन गर्न सहयोग गर्दै आएको समाजका अध्यक्ष प्रदिप पौडेलले बताए । उनले बर्दियालीलाई सहयोग गर्न १० लाख रुपैँयाको अक्षय कोष स्थापना गर्न लागिएको बताए । अक्षय कोषका लागि बर्दियाका स्थानीय तहले सहयोग गर्ने बचन दिएको उनले बताए ।
समाजका उपाध्यक्ष हिमालय पौडेलले बर्दियाको पर्यटन प्रवद्र्धनका लागि समेत समाजले अभियान थालेको बताए । उनले पोखरा आउने पर्यटकलाई बर्दियाको पर्यटकीय स्थलको जानकारी गराउने र त्यहाँसम्म पुर्याउन टी–२० टुर्स एण्ड ट्राभल्स संचालनमा ल्याएको बताए । ‘बर्दियाको विकास भयो भने मात्र पोखरा बस्ने बर्दियालीको शान र मान बढ्छ,’ उनले भने, ‘पोखरा बसेर बर्दियाको पर्यटन प्रवद्र्धन गर्न हामी कसिएका छौँ ।’
उनले बर्दियाको पर्यटकीय स्थलको जानकारी गराउन क्यालेन्डर प्रकाशन गरेको बताउँदै कृष्णसार र बर्दिया राष्ट्रिय निकुञ्जमा पाइने जनावरको जानकारी पोखरामा आउने पर्यटकलाई दिने गरेको सुनाए ।
पोखरामा १० हजार बर्दियाली बसोबास गरेको भनिए पनि झण्डै तीन हजार बर्दियाली सम्पर्कमा रहेको संस्थापक अध्यक्ष दिपक पौडेलले जानकारी दिए । ‘बर्दियालीलाई खोजेर समाजमा गोलबद्ध गर्ने प्रयासमा हामी छौँ,’ उनले भने ।
उनले पोखरामा संग्रहालय स्थापनाका लागि बर्दिया–पोखरा सम्पर्क समाजले पहल गरेको बताए । उनले भने, ‘हामीले आइडिया दिएपछि पोखरामा संग्रहालय निर्माण सुरु भएको छ । हामी यसमा सफल भएका छौँ,’ संस्थापक अध्यक्ष पौडेलले भने ।
उनले पोखरा लगायत कास्की र यस क्षेत्रमा बाँके र बर्दियाका कसैलाई समस्या परे सम्पर्क गर्न आग्रह गरेका छन् । ‘पोखरामा आएका बाँके र बर्दियाका कसैलाई समस्या परे हामीलाई सम्झनु होला, हामी सहयोग गर्न तयार छौँ,’ उनले भने ।

Previous article१७ दिनपछि पाँच लाख धरौटीमा एमाले सांसद बानिया रिहा
Next articleगुराँस फुलेपछिको दैलेखको गुराँसे डाँडा (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here