शक्ति पछल्डङ्ग्या
दैलेख, ५ चैत, २०७८ ।
नाम नै काफी छ गुराँसे डाँडा । जो सुकैले बुझ्न र जान्न सक्छ यो ठाउँको नाउँ गुराँसे डाँडा राख्नुको कारण । चैत, बैशाखमा यहाँका डाँडा गुराँसले ढाकिने भएकोले यो ठाउँको नाउँ गुराँसे राखिएको हो । गुराँस गाउँपालिका अन्तरगत पर्ने गुराँसेका डाँडाकाडा यतिबेला गुराँस फूलले ढाकिएका छन् । कर्णाली प्रदेशको सदरमुकाम वीरेन्द्रनगरबाट करिब ३८ किलोमिटर उत्तरमा अवस्थित गुराँसे डाँडामा फुलेको गुराँस हेर्नेको भिड् लाग्ने गरेको छ ।
गुराँस हेर्न दोस्रो पटक यहाँ आएको सुर्खेत लाटीकोइलीकी संगिता थापाले बताइन् । ‘लाली गुराँस हेर्न आएको दोस्रो पटक हो, तर न्यास्रो र थकान मेटाउन बेला–बेला यहाँ आउँछौँ,’ उनले भनिन् ।
वीरेन्द्रनगरको गर्मीबाट थकित र आजित वीरेन्द्रनगरबासी मात्र नभई बाँके र बर्दियाबासीसमेत चिसो र रसिलो मौसमको मजा लिन गुराँसे डाँडा पुगेर रमाउने गरेका छन् ।

गुराँसे डाँडामा फुलेको गुराँसको मजा लिन नेपालगन्जका कृष्णकुमार थापा पनि ३ चैतमा गुराँसेमा भेटिए । गुराँसको फुल टिप्दै गरेका उनले नेपालगन्जको कोलाहलबाट दिक्दार लागेर गुराँसे आएको बताए । पहिलो पटक लाली गुराँस देख्न पाउँदा असाध्यै रमाईलो लागेको उनले बताए । ‘यहाँ फुलेको गुराँस र चिसो बातावरणले मन हररर भयो,’ उनले भने, ‘मन शान्त र प्रफुल्ल भयो । दैनिकको कोलाहलबाट एकछिन मुक्ति पाउँदा मन हलुका भयो ।’

लाली गुराँस फुलेपछि दैनिक ५–६ सय सर्वसाधारण गुराँसे आउने गरेको स्थानीय वीरबहादुर बुढाले बताए । ‘लाली गुराँसले यहाँको बातावरण रमाइलो मात्र बनाएको छैन, आन्तरिक पर्यटकले यहाँको ब्यापार ब्यवसाय फस्टाएको छ,’ उनले भने ।
लाली गुराँससँगै यहाँको हावापानी पनि लोभ लाग्दो छ । छिनमै कुहिरो लाग्ने, छिनमै घाम लाग्छ यहाँ । ‘छिन–छिनमा फेरिने बातावरणले यस क्षेत्रलाई झनै रमणीय र आकर्षक बनाउने रहेछ,’ बार बर्दियाबाट पिकनिकका लागि गुराँसे पुगेका दिपेश थारुले भने ।



