पर्यटन प्रवर्द्धन गर्न ‘वेष्टर्न ट्राभल मार्ट’ आजबाट सुरु

बाँके, २६ फागुन, २०७८ ।


नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानरपालिकाको मूल आयोजना तथा नाट्टा च्याप्टर बाँकेको आयोजनामा नेपालगन्जमा आज विहीबारबाट वेष्टर्न ट्राभल मार्ट हुने भएको छ । पश्चिम नेपालका पर्यटकिय स्थलको प्रचारप्रसार गरि दुई देश वीच ब्यापार आदान प्रदान गर्न २६–२८ फागुनसम्म नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिका, नाटा लगायत पर्यटनसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायको आयोजनामा वेष्टर्न ट्राभल मार्ट आयोजना गर्न लागिएको नाटा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
उनले भारतीय पर्यटकलाई लक्षित गरि ट्राभल मार्ट आयोजना गरिएको बताए । भारत र नेपालका पर्यटनसँग सम्बन्धित ब्यवसायी वीच ब्यापार आदान प्रदान गरिने भएको छ । भारतबाट आएका पर्यटन ब्यवसायीलाई निशुल्क रुपमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन, कर्णाली नदीमा र्याफ्टिङ, निकुञ्जमा जंगल सफारी, डल्लो होमस्टे अवलोकन गराइने उनले बताए । ‘रारा ताल, सेफोक्सुण्डो लगायत पश्चिम नेपालका पर्यटकिय गन्तब्यमा जान चाहने पर्यटन ब्यवसायीलाई विशेष छुटको ब्यवस्था मिलाएका छौँ,’ उनले भने ।
वेष्टर्न ट्राभल मार्टमा नेपाल र भारतका एक सय स्टल राखिने भएको छ । उक्त स्टलमा पर्यटन ब्यवसायीले आफ्नो उत्पादन र सेवाको बारेमा जानकारी दिने बस्तु राख्ने उनले बताए । ‘दुई देशका ब्यापारी वीच आ–आफ्नो उत्पादन र सेवा साटासाट गर्नका लागि ट्राभल मार्टको मुख्य उद्देश्य हो,’ उनले भने ।
उनले कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन गतिविधी तथा गन्तब्यको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार तथा पर्वद्धन गर्ने उद्धेश्यले नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको मुल आयोजना, नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्टस (नाटा) बाँकेको आयोजना तथा पर्यटन पर्वद्धन मञ्च बाँके, हान बाँके, होटल ब्यवसायी संघ बाँके लगायत यस क्षेत्रका पर्यटन सम्वद्ध ब्यवसायीको सह–आयोजनामा मार्ट गर्न लागिएको उनले बताए ।
प्रदेश स्तरिय पर्यटन ब्यवसायीहरुको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवम् पर्यटन ब्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्न प्रदेश सरकारसँगको साझेदारीमा प्रत्येक प्रदेशमा प्रादेशिक ट्राभल मार्टको आयोजना गर्ने नेपाल पर्यटन बोर्डको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम अनुरुप यो मार्ट आयोजन गर्न लागिएको नेपाल पर्यटन बोर्डका पर्यटन बजार ब्यवस्थापन तथा प्रवन्ध महाशाखाका प्रवन्धक गोविन्द ओलीले बताए ।
उनले वेष्टर्न ट्राभल मार्टले पश्चिम क्षेत्रको पर्यटकीय स्थलको प्रचार–प्रसारमा टेवा पुर्याउने विश्वास गरे । ‘पश्चिम नेपालमा थुप्रै पर्यटकीय स्थल हुँदा हुँदैपनि लाभ लिन नसकेको अवस्था छ, यो मार्ट सञ्चालन भएपछि यहाँको पर्यटकीय स्थलको प्रचार–प्रसारमा पक्कै पनि टेवा पुग्नेछ,’ उनले भने ।
मार्टले भारतीय सिमावर्ती बजारका पर्यटकलाई पश्चिम नेपालका पर्यटकीय सम्पदासँग जोड्न मद्दत गर्ने उनले बताए ।

Previous article१०-१५ चैतमा प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिता
Next articleगाभर होमस्टेमा रैथाने परिकारको स्वादसँगै लोपोन्मुख जिव हेरेर आनन्द लिन पाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here