थारु पत्रकार संघ बाँके अध्यक्षमा हेमन्त निर्वाचित, थारुको मुद्दा उठाउन राप्तीसोनारी अध्यक्ष थारुको सुझाव

बाँके, २५ फागुन, २०७८ ।


थारु पत्रकार संघ नेपाल, बाँकेको अध्यक्षमा हेमन्त चौधरी निर्वाचित भएका छन् । संघको बुधवार अगैयामा भएको चौथो अधिवेशनले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेका हो ।
अधिवेशनले उपाध्यक्षमा कृष्ण चौधरी, सचिवमा जागेश्वरसिंह थारु, सह–सचिवमा सुविता थारु, कोषाध्यक्षमा निर्मला थारु र सदस्यहरुमा राजकुमार थारु, रुपा थारु, रमेश थारु र रिता थारु चयन भएको अध्यक्ष मण्डलका संयोजक विश्वराज पछल्डङ्ग्याले जानकारी दिए ।
त्यसैगरि आगामी चैत महिनामा हुने संघको केन्द्रिय अधिवेशनका लागि ठाकुर सिंह थारु, विश्वराज पछल्डङ््ग्या, विमला चौधरी, भगतराम थारु, कृष्णलाल चौधरी, लक्ष्मी चौधरी र शम्भुप्रसाद थारुलाई चयन गरेको छ ।
प्रमुख अतिथी राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले थारु पत्रकारले आफ्नो शक्ति बुझ्न नसकेको बताए । कस्तुरीले आफ्नो बिनाको महत्व नबुझे जस्तै थारु पत्रकारले पनि आफ्नो महत्व बुझ्न नसक्दा थारुका मुद्दा उठाउन नसकेको बताए । संचारको महत्व अति धेरै छ, तर यसको महत्व हामीले बुझ्न सकेका छैनौँ,’ उनले भने, ‘थारु पत्रकारले अन्य क्षेत्रको जस्तै थारुका मुद्दा उठाउन सक्नु पर्छ ।’


उनले राप्तीसोनारी गाउँपालिकाले उदाहरणिय काम गरे पनि संचार क्षेत्रको आँखा पुग्न नसकेको गुनासो गरे । पत्रकारले सुगम क्षेत्रका समाचारलाई मात्र प्राथमिकतामा राखेको उनको भनाई थियो । ‘सुगम क्षेत्रभन्दा दुर्गममा समाचारको खानी छ । विकटमा समाचार हुन्छ भन्ने बुझेर पत्रकारले ग्रामिण भेगलाई प्राथमिकता दिन जरुरी छ,’ उनले भने ।
उनले थारु पत्रकारको संख्या बढ्न नसकेको बताए । थारु पत्रकारको बृत्ती विकासका लागि गाउँपालिका सहयोग गर्न तयार भएको बताउँदै उनले थारु समुदायले खोज्ने पत्रकारको रुपमा थारु पत्रकारले आफूलाई स्थापित गर्नुपर्ने धारणा राखे । ‘पीडामा परेका थारुले न्यायका लागि तपाईहरुलाई खोज्दै आउने बातावरण तपाईहरु (थारु पत्रकार) ले बनाउनु पर्छ,’ अध्यक्ष थारुले भने ।
थारु पत्रकार संघका केन्द्रिय अध्यक्ष सन्तोष दहितले अन्य समुदायका युवा पत्रकारितामा आकर्षित भए पनि थारु युवाको चासो नदेखिएको बताए । उनले थारु पत्रकारले थारु समुदायको उत्थानका लागि कलम चलाउन आवश्यक भएको औँल्याउँदै थारु भाषा र संस्कृतिका जगेर्ना गर्ने दायित्व पनि पत्रकारको भएको धारणा राखे ।


उद्घाटन सत्रमा थारु कल्यानकारिणी सभा बाँके अध्यक्ष बिनोद थारु, थारु पत्रकार संघका केन्द्रिय सदस्य श्रीराम चौधरी, थारु पत्रकार संघका सल्लाहकार विश्वराज पछल्डङ्ग्या, थारु पत्रकार संघ, बाँकेका पूर्व अध्यक्ष विमला चौधरी लगायतले सम्बोधन गरेका थिए ।
सो अवसरमा संघ बाँकेका संस्थापक अध्यक्ष कृष्णलाल चौधरी, पूर्व अध्यक्ष विमला चौधरीलाई कदर पत्रले सम्मान गरिएको थियो । भने, अम्बिकेश्वरी यातायात प्रालिका अध्यक्ष गोपाल ओली, न्यू भेरी ट्याक्टर सप्लायर्सका प्रोप्राइटर नरेन्द्रबहादुर ओली लगायत अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Previous articleकार्यालयमा हुने यौनजन्य दुर्ब्यवहारबाट महिलाहरु पीडित, तर आउँदैन बाहिर
Next article१०-१५ चैतमा प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here