कोरोनाको बहानामा पत्रकारलाई पेशाबाट ननिकाल्न र वीमा रकम चाँडो उपलब्ध गराउन प्रेस चौतारीको माग

बाँके, २२ फागुन, २०७८ ।


प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशले कोरोना महामारीको बहानामा पत्रकारलाई ननिकाल्न र निकालिएका पत्रकारलाई तत्काल पुनर्बहाली गर्न माग गरेको छ । चौतारी, लुम्बिनीको शनिवार लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यकामा सम्पन्न पहिलो अधिवेशनले कोरोना बीमा बनाएका पत्रकारले वीमा बापतको रकम नपाएको बताउँदै तत्काल उपलब्ध गराउन सरकार र वीमा कम्पनीसँग ११ बुँदे लुम्बिनी प्रदेश घोषणा पत्र मार्फत माग गरेको अध्यक्ष शोभाखर पन्थीले बताए ।
त्यसैगरि, पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको संचार सम्बन्धि कानुन तत्काल खारेज गरि पत्रकारमैत्री कानुन बनाउन माग गरेको उनले बताए । ‘न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पारिश्रमिक तत्काल कार्यान्वयन गर्न जोड्दार माग गर्दछौँ,’ जारी घोषणा पत्रमा उल्लेख छ ।
सरकारले प्रदान गर्ने विज्ञान समानुपातिक रुपमा वितरण गर्न माग गर्दै चौतारीले पत्रकार र संचार गृहको बृत्ती विकासका लागि तिन वटै सरकारलाई बजेट विनियोजन गर्न र विनियोजित रकम समानुपातिक रुपमा वितरण गर्न समेत माग गरेको छ । ‘संचारकर्मी र संचार गृहमा आवश्यक उपकरण खरिद गर्न छुट्याइएको रकम सवैको पहुँच पुग्ने गरि ब्यवस्थापन गर्न प्रेस चौतारी नेपालले जोडदार माग गर्दछ,’ घोषणा पत्र मार्फत चौतारीले भनेको छ ।
लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङको राप्ती उपत्यकालाई तोकेको लामो समयसम्म पूर्वाधार निर्माण नभई अस्थायी राजधानीबाट कामकाज हुनु दुर्भाग्य भएको ठहर गर्दै चौतारीले स्थायी राजधानीमा पूर्वाधार निर्माण गरि सवै मन्त्रालयको कामकाज संचालन गर्न सरकारसँग माग गरेको छ ।
घोषणा पत्र लेखन समितिका सदस्य दुर्गालाल केसी, विश्वराज पछल्डङ्ग्या र अमृता अनमोलले तयार पारेको लुम्बिनी घोषणा पत्र जारी गर्दै अध्यक्ष पन्थीले संवैधानिक ब्यवस्था अनुसार स्थानीय तह लगायत अन्य तहको निर्वाचन गर्न जोडदार माग गरे ।
प्रेस चौतारी लुम्बिनी प्रदेशको अध्यक्षमा पन्थी निर्वाचित
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा शोभाखर पन्थी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा भएको प्रथम अधिवेशनले पन्थीको अध्यक्षतामा ४६ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । उनी तदर्थ समितिको पनि अध्यक्ष हुन् ।
अधिवेशनले उपाध्यक्षमा दशरथ घिमिरे र लक्ष्मी तिमिल्सेनालाई चयन गरेको छ । त्यस्तै महासचिवमा निरा गौतम, सचिवमा वेनीमाधव बस्याल, ओपेन्द्र बस्नेत र कोषाध्यक्षमा एलवी थापालाई चयन गरेको छ ।
सदस्यमा ओमप्रकाश गुप्ता, किरण जिसी, छवी पुरी, विमला घर्ती, अमृता भुसाल, बालकृष्ण पाण्डे, शिव घर्ती, प्यार अलि खाँ, कृष्णराज पाण्डे, कमल वि.क., हेमराज खनाल, भुवन केसी, ज्ञानेन्द्रराज पोख्रेल, जनक चौधरी, लक्ष्मी चौधरी, सरला सुवेदी, खम्ब पुन, हुमहरि भट्टराई, खगेन्द्र दाहाल, पार्वती आचार्य, अराजसिंह बेल्वासे, ओरिराम चौरसिया, शरद अधिकारी, रामप्रकट कोरी निर्वाचित भएका छन् ।
त्यसैगरी, कमल विष्ट, गिताराम विष्ट, मधुकुमार श्रेष्ठ, कुराल बस्याल, ज्ञानबहादुर महतरा, कृष्ण अन्जान ज्ञवाली, केशव नेपाल, रामप्रसाद न्यौपाने, राजेन्द्र लिगल, कृष्ण पोख्रेल, मोहन पौडेल, रामजी लौडारी, नारायण पराजुली पनि सदस्यमा चयन भएका छन् ।
त्यस्तै, माधवराज न्यौपाने, शशि पन्थी, मनिराम पन्त (मनिष), माधव भुसाल, कृष्ण खनाल, सत्यनारायण मानन्धर, मोहन ठाकुर, गोविन्द घर्ती र शान्ति विश्वकर्मा निर्वाचित भएको अध्यक्ष पन्थीले जानकारी दिए ।

Previous articleनेपालगन्ज रंगशालाको पौडी पोखरी २५ फागुन अगावै संचालन गर्ने तयारी
Next articleकार्यालयमा हुने यौनजन्य दुर्ब्यवहारबाट महिलाहरु पीडित, तर आउँदैन बाहिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here