बाँके, २० फागुन, २०७८ ।
नेपाली काँग्रेस बाँकेको सभापतिमा संस्थापन इतर पक्षका नारायणप्रसाद गौडल ९७ मत अन्तरले विजयी भएका छन् । शुक्रवार भएको दोस्रो चरणको निर्वाचनमा गौडेलले संस्थापन पक्षका बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित गरेका हुन् ।
गौडलले सात सय ६० र कुर्मीले ६ सय ६३ मत पाए । विहीबार भएको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि शुक्रवार दोस्रो चरणको निर्वाचन भएको थियो । संस्थापन पक्षका सुरेन्द्रबहादुर हमाल पहिलो चरणबाट बहिरिए पनि गौडेल र कुर्मी वीच प्रतिष्पर्धा भएको हो ।
पहिलो चरणको निर्वाचनमा गौडेलले पाँच सय ६९, कुर्मीले पाँच सय ३८ र हमालले तीन सय १४ मत पाए । पहिलो चरणबाट बाहिरिएका संस्थापन पक्षका हमालको समुहले संस्थापन पक्षका अर्का उम्मेदवार कुर्मीलाई दोस्रो चरणको निर्वाचनमा साथ नदिएपछि गौडेल विजयी भएका हुन् ।
पहिलो चरणबाट बाहिरिएपछि हमालको समुहले काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरलाई साइजमा ल्याएर देखाउने बक्तब्य सार्वजनिक गरेका थिए । कुर्मीलाई सहयोग गरेकोले उनलाई साइजमा ल्याउन गौडेललाई साथ दिएको उनले बताए । हमाललाई केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले साथ दिएका थिए ।
सभापतिको मत गणना सकिएसँगै अन्य पदको गणना सुरु भएको निर्वाचन अधिकृत चित्रबहादुर शाहीले बताए ।