बाँके, १९ फागुन, २०७८ ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बास्कोटाले काँगे्रस र माओवादी केन्द्र नदीका दुई किनारा भएको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व संचारमन्त्री समेत रहेका एमाले नेता बास्कोटाले काँग्रेसलाई चाँदी देखाएर फलाम र माओवादी केन्द्रलाई घ्यू देखाएर दही विक्रि गर्ने ब्यापारीको संज्ञा दिए । ‘दुवै दल नाफा कमाउने ठग ब्यापारी हुन् । दुबैले एकै पटक नाफा कमाउन सक्दैनन्,’ उनले भने, ‘नाफा कमाउने दुई ब्यापारी वीच एकैसाथ सहकार्य कसरी सम्भव छ ।’
उनले काँग्रेसले खुलेरै पुञ्जीबादको कुर्दै आएको बताउँदै माओवादी केन्द्रले नक्कली साम्यबादीको नारा लगाए नेपाली जनतलाई झुक्याउने गरेको आरोप लगाए । चिनिया कम्यूनिष्ट पार्टीको बिचारको बुइँ चढेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली समाजलाई गिजोलेको जिकिर गरे । ‘प्रचण्डमा राष्ट्रबाद होइन सत्ताबाद र चरम अवसरबाद छ,’ उनले भने, ‘नेपाल र नेपालीको कमजोर पक्षमा टेकेर षडयन्त्र पूर्वक सत्ता हत्याउने, जनतालाई फुटाएर राज गर्ने अवसरबादी चरित्र छ ।’
उनले काँग्रेसले जनताको अभिमतबाट नभई आशिर्वाद र परमादेशबाट सत्ता पाउने गरेको बताए । उनले देशको सवैभन्दा पूरानो र लोकतान्त्रिक दावी गर्ने काँग्रेसका कारण लोकतन्त्र अपठ्यारोमा परेको जिकिर गरे । ‘लोकतन्त्रलाई किस्तीमा राखेर दरबारलाई बुझाउने र सत्ताका लागि ढुकेर बस्ने काँग्रेसका कारण लोकतन्त्र धरापमा परेको छ,’ उनले भने ।
उनले बर्तमान सत्ता गठबन्धन निर्वाचनसम्म जानुपर्ने धारणा एमालेको भएको बताए । सत्तामा रहेका दलहरु वीच निर्वाचनमा तालमेल भए एमालेलाई फाइदा पुग्ने बताउँदै उनले एमालेले स्थानीय निर्वाचनमा कसैसँग तालमेल नगर्ने स्पष्ट पारे । निर्वाचनमा सत्ता गठबन्धन वीच तालमेल होवस्, कुनै ठाउँमा कलम, कुनै पालिकामा गोलाकारभित्र हँसिया, हथौडा, कुनै ठाउँमा पञ्जा, छाता, हातले समातेको मसाल, रुख चिन्ह दिएपछि नेपाली जनता झुकिने छन् । यसको फाइदा एमालेलाई हुने छ,’ एमाले नेता बास्कोटाले भने ।
उनले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनुपर्ने एमालेको माग रहेको बताउँदै सत्ता साझेदर दलहरु निर्वाचन सार्ने खेलमा लागेको आरोप लगाए । एमालेसँग डराएर सत्ता साझेदर दलहरु निर्वाचन पर धकेल्ने दाउमा छन्,’ बास्कोटाले भने ।