राप्तीसोनारीमा बाघको त्रास : जंगल जान छाडे सर्वसाधारण

बाँके, १५ फागुन, २०७८ ।


राप्तीसोनारी गाउँपालिका ७ की विमला शाही बाख्रा चराउन हरेक दिन जंगल जान्थिन् । बाख्रा चराउन र घाँस, दाउरा गर्न जंगल जाँदा उनलाई बाघ, भालुको डर लाग्दैनथ्यो, तर पछिल्लो दुई महिनादेखि उनी बाख्रा चराउन र घाँस, दाउरा गर्न जंगल जान सकेकी छैनन् ।
गत २४ पुसमा बाघको आक्रमणमा परि राप्तीसोनारी गाउँपालिका ६, हब्रहवाकी ३० वर्षिया चाँदनी थारुको मृत्यू भएपछि सिंगो गाउँबासी जंगल जान डराएको उनले बताइन् । फत्तेपुरस्थित जंगलमा दाउरा गर्न गएकी उनलाई बाघले झम्टेर लगेको थियो । ‘घरबाट दुई–तीन कोष टाढाको जंगलमा बाख्रा चराउन र घाँस, दाउरा गर्न जान्थ्यौँ, तर अहिले कोही पनि जंगल जान मान्दैनन् । बाख्रालाई जंगल लैजानेहरु अहिले नदीको किनार र खेतवारीमा चराउन जान्छन्,’ उनले भनिन्, ‘पहिले जंगलभित्र बरु मानिसको डर लाग्थ्यो, अहिले बाघको डर छ ।’
विमला जस्तै राप्तीसोनारी गाउँपालिका ७ की शान्ति अधिकारी पनि जंगल जान डराउँछिन् । बाघले एकपछि अर्कोलाई आक्रमण गरि ज्यान लिन थालेपछि जंगल जान नसकेको उनले बताइन् । ‘गाउँ नजिकैको जंगलमा आएको बाघले आक्रमण गरि घाइते बनाउने र ज्यान लिन थालेपछि सिंगो गाउँ त्रसित छ । स्थानीयबासी समसाँझै घरभित्र बस्छन् । दिसापिसाव समेत घर भित्र गर्नुपर्ने अवस्था छ,’ उनले भनिन् ।
जंगल जान नडराउने राप्तीसोनारी गाउँपालिका ६, फत्तेपुरकी सुस्मा चौधरी अचेल बाहिर निस्कदैनिन् । जंगल छेउमा घर भएकोले उनी अति आवश्यक काम बाहेक घर बाहिर निस्कन मान्दैनिन् । ‘बाघले मान्छेलाई आक्रमण गरि ज्यान लिने र घाइते बनाउन थालेपछि घरबाहिर निस्कन डर लाग्छ,’ उनले भनिन्, ‘पहिले–पहिले एक्लै जंगल गइन्थ्यो, तर अचेल जंगल भित्र एक पाइला जान सकिदैन । अहिले कोहि पनि जंगल जान मान्दैनन् ।’
फत्तेपुरमा एकपछि अर्कोमाथि बाघको आक्रमण
७ फागुनमा राप्तीसोनारी गाउँपालिका ६ का ६० वर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यू भयो । उनलाई बाघले बिहान फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तरगत पर्ने सिक्टा सिँचाइ आयोजनाको पुर्वी नहरको छेउमा आक्रमण गरेर ज्यान लिएको राप्तीसोनारी गाउँपालिका ६ का वडा अध्यक्ष जनकबहादुर थारुले जानकारी दिए । उनले चलाउनेलाई बाघले करिव ५ सय मिटर टाढा जंगल भित्र लगेको बताए ।
त्यसको एक दिन नवित्दै राप्तीसोनारी गाउँपालिका ७ झगडिया गाउँका २८ वर्षीय वकिल गद्दीलाई बाघले आक्रमण गरेर घाइते बनाएको छ । मण्डफवा सामुदायिक वनको पहाडी क्षेत्रमा घाँस, दाउरा खोज्न गएका बेलामा बाघले उनलाई एक्कासी आक्रमण गरेको वडा अध्यक्ष रामलखन थारुले जानकारी दिए ।
घटनास्थल फत्तेपुर गाउँबाट करिव ३ किलोमिटर भित्र पर्छ । बाघसँग केहीबेरसम्म भिडन्त गरेका उनलाई भुइँमा पल्टाएर घाँटीमा टोकेर रगत चुस्न थालेका बेला साथमा रहेका साथीहरुले हो–हल्ला गरेपछि बाघ त्यहाँबाट भागेको स्थानीयले बताए । गद्दीको घाटीमा गहिरो प्वाल परेको छ । बाघको आक्रमणबाट घाइते भएका उनलाई स्थानीयले उद्दार गरेका थिए ।
उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुर्याएपछि उनको होस खुलेको छ । २२ पुसमा विहीबार राप्तीसोनारी गाउँपालिका ४, बैजापुरस्थित जलहन सामुदायिक वनमा घाँस काट्न गएकी ५४ वर्षिया लिला विष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
गत ३ पुसमा जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटालालाई फत्तेपुरस्थित जंगलमा बाघले आक्रमण प्रयास गरेको थियो । क्याम्पसबाट मोटरसाइकलमा घर जाने क्रममा बेलुकी ६ बजे राप्तिसोनारी गाउँपालिका ५, आलीनगर जंगलमा बाघले झम्टिन खोज्दा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका थिए ।
यसैगरि, गत २५ कात्तिकमा गाई चराउन जङ्गल गएका नरैनापुर गाउँपालिका ४, पण्डितपुरुवाका लखन गडरिया र उनको एउटा गाईलाई बाघले खाएको थियो । नरैनापुरको पर्यटकिय स्थल गोबद्र्धन धामदेखि ५ किलोमिटर पूर्वतर्फको जङ्गलमा बाघले आधा खाएको अवस्थामा गडरियाको शव फेला परेको थियो ।
त्यसैगरि, राप्तीसोनारी गाउँपालिका १, पूर्वी गाभरमा भदाँै अन्तिमा बाघले भारतीय नागरिकलाई खाएको प्रहरीले जनाएको छ ।

Previous articleएमाले नेता डा. भट्टराई भन्छन् : एमसिसी नेपाल र नेपालीको पक्षमा छ, विकास नचाहनेहरुले भ्रम फैलाए
Next articleअझैँ फेला परेन मान्छे खाने ‘बाघ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here