बाँके, १४ फागुन, २०७८ ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य डा. राजन भट्टराईले अमेरिकन मिलेनियम च्यालेन्ज (एमसिसी) नेपाल र नेपालीको पक्षमा भएको बताएका छन् । नेपाल बुद्धिजिवी परिषद बाँकेको आठौँ अधिवेशनमा एमाले नेता भट्टराईले एमसिसीले नेपालको विकासमा दीर्घकालिन प्रभाव पार्ने धारणा राखे । उनले भने, ‘अहिले नेपालमा पुञ्जी र टेक्नोलोजी भित्र्याउनु पर्ने बेला छ । एमसिसी प्रोजेक्टले नेपालमा यी दुवै क्षेत्र भित्र्याउन सहयोग गर्ने विश्वास छ ।’
उनले अन्य देशले दिने परियोजनामा पनि विभिन्न प्रावधान र सर्त राख्ने गरेको बताउँदै एमसिसीमा राखिएको प्रावधान र सर्त अस्वभाविक नभएको जिकिर गरे । अमेरिकाले आफ्नो लगानी सुरक्षित बताउन अमेरिकाले सम्झौतामा विभिन्न सर्त र प्रावधान राखेको उनले स्पष्ट पारे ।
विकाशील देशमा स्थायी सरकार नहुने भएकोले अमेरिकी सरकारले रकम सहि सदुपयोग होवस् भन्नका लागि संसदबाट अनुमोदन खोजेको बताए । ‘एमसिसी प्रोजेक्ट ५ बर्षका लागि हो । विकासिल देशमा सरकार छिटोछिटो परिवर्तन हुने भएकोले अमेरिकाले आफूले दिएको रकम तोकिएको समयमा खर्च होवस् र सहि कार्यान्वयन होवस् भन्नका लागि संसदबाट अनुमोदन खोजेको हो,’ उनले भने, ‘अरु प्रोजेक्ट जस्तै यसमा पनि संसदबाट अनुमोदन गराउनु पर्ने प्रावधान नराख्न पनि सकिन्थ्यो ।’
राजनीतिक अस्थिरताका कारण गौरवका योजनाहरु तोकिएको समयमा सम्पन्न नभएकोले आफ्नो लगानी डुब्ने खतरा देखेर अमेरिकाले नेपालसँग प्रतिवद्धता मागेको उनको भनाई छ । ‘पाँच बर्षभित्र खर्च हुन नसकेको रकम अमेरिकाले फिर्ता लैजाने प्रावधान एमसिसीको सम्झौतामा उल्लेख छ,’ उनले भने ।
उनले एमाले एमसिसीको पक्षमा भए पनि गठबन्धन सरकारको धारणा पर्खेर बसेको खुलासा गरे । माग पूरा नहुँदासम्म एमालेले संसद संचालन हुन नदिने बताउँदै उनले गठबन्धन सरकारको धारणा आएमात्र एमालेले आफ्नो धारणा बाहिर ल्याउने स्पष्ट पारे । ‘सरकारको धारणा आएमात्र एमालेले धारणा बनाउँछ,’ उनले भने, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सिध्याउन माओवादी केन्द्र र एकीकृत समाजबादीले अफबाह फैलाए ।’
उनले सत्ता गठबन्धन दलले गरेको फोहोर सोहर्ने पक्षमा एमाले नरहेको स्पष्ट पारे । एमसिसीको पक्षमा आफैले हस्ताक्षर गरेर अहिले विरोधका नाममा विरोध गर्ने द्वेध चरित्र हटाउन उनले सुझाव दिए । ‘आफैले हस्ताक्षर गरेर स्विकार गरेको प्रोजेक्ट आफैले नमान्ने हो भने अन्य दातृ निकायले पनि विश्वास गर्ने छैनन्,’ उनले भने ।