डुडुवामा १६ शैयाको जेष्ठ नागरिक अस्पताल भवन शिलान्यास

बाँके, ११ फागुन, २०७८ ।


डुडुवा गाउँपालिकामा जेष्ठ नागरिकहरुका लागि छुट्टै अस्पताल स्थापना हुने भएको छ । गाउँपालिकाले १६ शैया अस्पतालका लागि बुधवार शिलान्यास गरेपछि जेष्ठ नागरिकका लागि अस्पताल संचालन आउने भएको हो ।
जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि उपचार केन्द्र सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले बताए । गाउँपालिका वडा नं. २ स्थित बेतहनी स्वास्थ्य चौकी प्रांगनमा आठ कोठे अस्पताल भवनको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरेको उनले बताए ।
भवनको शिलान्यास गर्दै चौधरीले जेष्ठ नागरिक सम्मानका लागि स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर उनीहरुको निशुल्क उपचार तथा औषधी वितरण गरिने बताए । उनले डुडुवा मै विशेषज्ञ सुविधा र प्रयोगशालामार्फत स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास दिलाए । ‘घरमै सेवा प्रदान गर्ने अवधारणालाई अघि बढाएर गाउँपालिकाले जेष्ठ नागरिकका लागि अस्पताल संचालनमा ल्याउन लागिएको छ,’ उनले भने ।
उनले अस्पताल संचालन भएपछि विशेषज्ञ परामर्श र प्रयोगशाला जाँचका लागि बजार जानुपर्ने बाध्यताको अन्त्य हुने बताए । रु. ७९ लाखको लागतमा निमार्ण हुने अस्पतालमा महिला र पुरुषका लागि ८—८ बेडको छुट्टाछुट्टै वार्ड, एक्सरे सेवा, इसिजी सेवा, अल्ट्रासाउण्ड सेवा, फार्मेसी, डियुटी कक्ष, सोधपुछ कक्ष, प्रयोगशाला र शौचालयसहितको अत्याधुनिक भवन निमार्ण हुने गाउँपालिकाका इन्जिनियर प्रकाश थापाले बताए ।
तीन महिनाको अवधीमा निमार्ण सम्पन्न गर्ने गरि दिपक विल्डर्स प्रालि कोहलपुरले ठेक्का लिएको छ । वहुवर्षिय योजना अन्तर्गत आगामी वर्षहरुमा थप भौतिक पुर्वाधार निमार्ण गरि सेवास्तर बृद्धि गरि लैजाने योजना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।
डुडुवा गाउँपालिकाले जिल्लामै स्वास्थ्य क्षेत्रमा पहिलो स्थानमा रहेको छ भने गाउँपालिकाले घर–घरमा स्वास्थ्य सेवा अभियान अन्तर्गत तीन स्थानमा निशुल्क प्रयोगशाला, नागरिक आरोग्य केन्द्र, आठ वटा स्थानमा स्वास्थ्य केन्द्र संचालन र दुई वटा एम्बुलेन्स संचालनमा ल्याएको छ ।

Previous articleआयुर्वेद पद्धतीबाट उपचार गर्न डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना
Next articleतीन किलो चरेशसहित दुई महिला र एक पुरुष पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here