आयुर्वेद पद्धतीबाट उपचार गर्न डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

बाँके, १० फागुन, २०७८ ।


आयुर्वेद चिकित्सा पद्धतीबाट उपचार गर्न डुडुवा गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र संचालनमा आएको छ । जिल्ला आयुर्वेद अस्पताल बाँकेले ग्रामिण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।
आरोग्य केन्द्रको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आयुर्वेद पद्धतीबाट नागरिकको उपचारमा सहयोग पुग्ने बताए । गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उनले यो नागरिकको उपचारमा थप सयोग पुर्याउन नागरिक आरोग्य सेवा केन्द्र संचालनमा ल्याएको बताए । ‘आयुर्वेद उपचार सेवा रोगी र निरोगी दुबैका लागि हो,’ उनले भने ।
आरोग्य सेवा केन्द्रले निशुल्क रुपमा स्वास्थ्य प्रवद्र्धन, जेष्ठ नागरिक सेवा, स्तनपान आमा सेवा, विभिन्न किसिमका औषधी वितरण, परामर्श सेवा प्रदान गर्ने भएको छ । सेवा केन्द्रमा एक जना कविराज र सहयोगी कार्यकर्ता गरि दुई जनाले सेवा प्रदान गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जानकी गाउँपालिका बाहेक सबै स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरि सेवा विस्तार गरेको प्रमुख डा. अनिलकुमार चौधरीले बताए । उनका अनुसार आयुर्बेद चिकित्सालाई ग्रामिण क्षेत्रमा पुर्याउने उद्देश्यले सबै स्थानीय तहमा सेवा विस्तार गरिएको छ ।
जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख डा. चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वरिष्ठ कविराज निरीक्षक डा. गीता रेग्मी, वडाध्यक्ष पटेश्वर कुर्मी, जनप्रतिनिधी, स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागिता रहेको थियो ।

Previous articleपूर्वराजा त्रिभुवनको सालिक हटाउन नेपाली काँग्रेस असहमत
Next articleडुडुवामा १६ शैयाको जेष्ठ नागरिक अस्पताल भवन शिलान्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here