१२ सय ५६ जनाको स्वास्थ्य वीमा बनाएको डुडुवाले जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान

बाँके, ९ फागुन ।


डुडुवा गाउँपालिकाले एक हजार दुई सय ५६ जना जेष्ठ नागरिकको स्वास्थ्य वीमा बनाई दिएको छ । स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले गाउँपालिकामा रहेका सवै जेष्ठ नागरिकको स्वास्थ्य वीमा बनाई दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताए ।
स्वास्थ्य वीमा जेष्ठ नागरिकको उपचारमा सहज भएको बताउँदै उनले दूर दराजका जेष्ठ नागरिकको स्वास्थ्यमा पहुँच पुगेको जिकिर गरे । ‘वीमाले जेष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा सहज भएको छ नै रकम अभावमा उपचारबाट बञ्चित हुनुपर्ने बाध्यताको अन्त्य समेत भएको छ,’ उनले भने ।
डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । जेष्ठ नागरिकहरु स्वास्थ्य संस्थासम्म आउन नसक्ने भएकोले घरमै पुगेर स्वास्थ्य सेवा दिएको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । ‘जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गरिन्छ । उनीहरुको आवश्यकता अनुसार प्रेसर, सुगर लगायतका औषधी समेत निशुल्क प्रदान गरिन्छ,’ उनले भने ।
जेष्ठ नागरिकलाई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता लिन नेपालगन्ज आउजाउ गर्नमा समेत सहयोग गर्दै आएको छ । हिड्डुल गर्न गाह्रो हुने भएकोले नेपालगन्ज आउन र घर जानका लागि सवारी साधनको ब्यवस्था मिलाइएको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनी भन्छन्, ‘जेष्ठ नागरिक हाम्रा अभिभावक हुनुहुन्छ, उहाँहरुको सेवालाई धर्म सम्झिएर गाउँपालिकाले विभिन्न थरिका कार्यक्रम ल्याएको छ ।’
गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा र पोषिलो खानुकुरा समेत प्रदान गर्दै आएको छ । गाउँपालिका भित्र रहेका सवै जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहार प्रदान गरिएको अध्यक्ष चौधरीले बताए ।
जेष्ठ नागरिकको उपचारमा टेवा पुर्याउन गाउँपालिकाले १० बेडको अस्पताल बनाउने भएको छ । अस्पतालका लागि डिपिआर तयार भई टेण्डर आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको सूचना अधिकारी ऋषिराज गौतमले जानकारी दिए । उनले हाल गाउँपालिकाको कार्यालय रहेको शाहपुर्वामा १० बेडको जेष्ठ नागरिक अस्पताल निर्माण हुन लागेको बताए ।

Previous articleडुडुवाका ७२ बाल विकास केन्द्रलाई सामग्री प्रदान
Next articleपूर्वराजा त्रिभुवनको सालिक हटाउन नेपाली काँग्रेस असहमत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here