पूर्वराजा त्रिभुवनको सालिक हटाउन नेपाली काँग्रेस असहमत

बाँके, ९ फागुन, २०७८ ।


पूर्वराजा त्रिभुवनको सालिक हटाउने विषयमा सत्ता गठबन्धनको सवैभन्दा ठूलो दल नेपाली काँग्रेसले असहमति जनाएको छ । सालिक राखिएको विषयमा छलफल गर्न डाकिएको छलफलमा समेत सहभागी नभएको काँग्रेसले ज्ञापन पत्रमा हस्ताक्षर गर्न मानेन । सोमवार ४ राजनीतिक दलले संयुक्त रुपमा बाँके प्रशासनमा ज्ञापन पत्र बुझाउँदा काँग्रेस अनुपस्थित भएको छ । ‘नेपाली काँग्रेसले पुनस्र्थापना गरिएको त्रिभुवनको सालिक हटाउन नहुने पक्षमा उभिएको छ । छलफल र ज्ञापन पत्र बुझाउनसमेत इन्कार गरेको देखिन्छ,’ नेकपा (माओवादी केन्द्र) का रतन शाहीले भने ।
नेपाली काँग्रेसको असहमतिका बाबजुद नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा ज्ञापन बुझाएको जसपा बाँके सचिव राजेन्द्र विश्वकर्माले बताए । उनले शालिक हटाउने विषयमा बोलाइएको सत्तागठबन्धनको बैठकमा समेत नेपाली काँग्रेस सहभागी नभएको बताए । नेपाली काँग्रेसले कुनै प्रतिक्रिया नदिएपछि सत्तागठबन्धन भित्रका ४ दलको तर्फबाट बाँके प्रशासनलाई ज्ञापन पत्र बुझायौँ,’ उनले भने ।
सत्तागठबन्धनका ४ दलले गम्भिर आपत्ती जनाउँदै स्थानीय प्रशासनलाई सालिक तत्काल हटाउन माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै चुनावी फाइदाका लागि सर्वदलिय–सर्वपक्षिय सहमती विपरित एकलौटी ढंगले सालिक पुनस्र्थापना गर्नु गलत भएको बताएका छन् । ‘समुदायमा साम्प्रदायिक द्वन्द्व सिर्जना गर्ने उद्देश्यले जनआन्दोलनमा फालिएको पूर्वराजा त्रिभुवनको सालिक राखेको प्रति हामी सत्तागठवन्धन दलको गम्भिर ध्यानाकर्षण भएको छ,’ ज्ञापन पत्रमा उल्लेख छ ।
नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले सर्वदलिय बैठकको निर्णय विपरित सालिक राखेको ४ दलले आरोप लगाएका छन् । मेयर डा. राणाको अध्यक्षतामा ६ कात्तिक, ०७७ मा बसेको सर्वदलिय बैठकले उक्त स्थानमा नेपालको झण्डा र नेपालको नक्सा राख्ने सहमति भएको थियो, तर राणाको अगुवाईमा त्रिभुवनको सालिक राखिएको छ । यो सरासर गलत छ । लोकतान्त्रिक व्यवस्था माथि धावा बोल्ने काम भएको छ,’ ४ दलले बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
प्रशासनले सालिक नहटाए ४ राजनीतिक दलले हटाउने चेतावनीसमेत दिइएको छ । ‘चार दलका नेता, कार्यकर्ताले सालिक हटाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् प्रशासन हुने जानकारी गराउँदछौं,’ ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खत्रीले प्रहरी प्रशासनको अनुमति बिना सालिक राखिएको स्पष्ट पारे । उनले सालिक राखिसकेपछि मात्र प्रशासनलाई जानकारी भएको बताए ।

Previous article१२ सय ५६ जनाको स्वास्थ्य वीमा बनाएको डुडुवाले जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान
Next articleआयुर्वेद पद्धतीबाट उपचार गर्न डुडुवामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here