बाँके, ७ फागुन, २०७८ ।
नेपालको पश्चिम क्षेत्रमा छारे (मिर्गी) रोगका विरामी बढ्दै गएको चिकित्सकले बताएका छन् । विश्व छोरे रोग दिवसको अवसरमा नेपालगन्जमा आयोजित साक्षात्कार कार्यक्रममा न्यूरो सर्जन डा. जोशन न्यौपानले नेपालगन्ज मेडिकल कलेजमा दैनिक ३–४ जना छारे रोगका विरामी आउने गरेको बताए ।
उनले बुटवल पश्चिमका छारे रोगका ६–७ सय विरामी नियमित सम्पर्कमा रहेको बताउँदै अन्धविश्वास र कुरितीका कारण विरामीको अकालमा ज्यान जाने गरेको स्पष्ट पारे । ‘छारे रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्दैन, तर सर्ने डरले बेहोस भएर छट्पटाई रहेका विरामीलाई नछुने चलन छ । यो सरासर गलत हो । विरामीले समयमा उपचार र हेरचाह पाए यो रोगलाई कन्ट्रोल गर्न सकिन्छ,’ उनले भने ।
उनले समयमै उपचार गरे सबै छारे रोगहरु नियन्त्रण गर्न सकिने बताए । ‘दुई–तीन बर्षसम्म नियमित औषधि सेवन गरे यो रोग नियन्त्रण हुन्छ । त्यसपछि विस्तारै औषधिको मात्रा घटाएर निको पार्न सकिन्छ, त्यसैले रोग लुकाएर नबसि बेलैमा उपचार गर्नतर्फ लाग्नुनै उत्तम हुन्छ,’ डा. न्यौपानेले भने ।
उनले ५० प्रतिशत विरामीको रोगको कारण पत्ता नलाग्ने गरेको बताए । ‘मेडिकल डाइग्नोसिस गर्दासमेत ५० प्रतिशत विरामीको रोगको कारण पत्ता लाग्दैन, नियमित उपचार र औषधी सेवनले यसको रोकथाम गर्न सकिन्छ,’ उनले भने ।
उनले छारे रोग लागेका विरामी मुर्छा परेर लडेमा मुखमा पानी हाल्ने चलन एकदमै घातक भएको समेत बताए । जुत्ता सुँघाए निको हुन्छ भन्ने गलत धारणा र मुखमा पानी हाल्ने चलन विरामीका लागि घातक भएको उनको भनाई छ । उनले भने, ‘मुर्छा परेको विरामीको मुखमा पानी हाल्दा उक्त पानी पेटमा नगएर फोक्सोमा जान्छ र विरामीको मृत्यू हुने प्रवल सम्भावना रहन्छ । यो विरामीका घातक छ ।’
छारे रोग लागेको विरामीमा टोलाउने, काप्ने, बेहोस हुने, शरिर बटार्ने, मुखबाट फिज निकाल्ने जस्ता लक्षण देखिने उनले जानकारी दिए । विरामी लामो समयसम्म बेहोस नहुने उनको भनाई छ । ‘बच्चा लेख्दालेख्दै एकछिन टोलाउने र फेरि लेख्ने, हात कापेर लेख्न नसक्ने पनि छारे रोग हो,’ डा. न्यौपानले भने, ‘टोलाउने, हात काप्ने, बेहोस हुने सबै छारे रोगका प्रकारहरु हुन् । छारे रोग लागेपछि मानिस २–५ मिनेटसम्म बेहोस हुन्छन् ।
उनले औषधी र चिकित्सकको परामर्शलेमात्र छारे रोग निको हुने बताउँदै धामीझाँक्री र जडिबुटी औषधिको विश्वासमा नलाग्न सुझाव दिए ।
ब्रेन ट्युमर, दिमागमा दाग, मस्तिष्कघात, टाउकोमा चोटपटक र अस्वस्थकर खाना (मुला, गाजर, काँक्राको सलाद, काचै खाने सागसब्जी) ले छारेरोग निम्त्याउने बताए ।
पछिल्लो समय दिमागमा नाम्ले किराको फुल हुने समस्या एकदमै धेरै भएको उनको भनाई छ । छारे रोगलाई दिमागमा हुने एक प्रकारको ‘इलेक्ट्रिक शक’ को रुपमा अथ्र्याएका डा. न्यौपानले विश्वभर अहिले ५ करोड मानिस छारे रोगबाट ग्रसित भएको जिकिर गरे । ‘छारे रोग लागेका व्यक्तिले विशेषतः पूरा निद्र सुत्नुपर्ने, भिड्भाडबाट टाढै रहनुपर्ने, झिलिमिली उज्ज्यालोमा बस्न नहुने, गाडी नचलाउने, मोटरसाइकलको पछाडी बस्न हुँदैन,’ उनले सुझाव दिए ।