नेपालगन्ज कन्या माविप्रति मुस्लिम समुदायको आकर्षण (फोटो फिचर सहित)

सय जना विद्यार्थी नपाउने विद्यालयमा ५८५ भर्ना, ८० प्रतिशत मुस्लिम विद्यार्थी

बाँके, ३ फागुन, २०७८ ।


कुनै बेला नेपालगन्ज उपमहानगरपालिका ४, सल्यानीबागस्थित आधारभूत विद्यालयलाई सय जना विद्यार्थी पाउन मुस्किल थियो । शैक्षिक सत्र सुरु हुनुअघि हरेक बर्ष विद्यार्थी भर्ना अभियान संचालन गरिन्थ्यो, तर गुणस्तरिय शिक्षा नभएको भन्दै अभिभावकले आफ्ना बालबालिका भर्ना गर्न रुचाउँदैनथे । भर्ना भएका विद्यार्थी पनि नियमित रुपमा विद्यालय आउँदैनथे । घरदैलोमा पुग्दासमेत विद्यार्थी नपाउँदा प्रधानाध्यापक बुधेसकुमार जयसवाल हैरान हुन्थे । उनले विगत सम्झिए, ‘विद्यार्थी नपाएर विद्यालय संचालनमा समस्या थियो । कक्षा मर्ज गरेर पठन पाठन गराउनु पर्ने बाध्यता थियो । विद्यार्थी खोज्न जाँदा अभिभावकले मुख बटार्थे ।’
शैक्षिक सत्र २०७४–०७५ मा बाल विकाससहित कक्षा ८ सम्म पढाई हुन्थ्यो । विद्यार्थी थिए ९० जना थिए । अहिले उक्त विद्यालयमा पाँच सय ८५ जना विद्यार्थी भर्ना छन् । अर्धबार्षिक परीक्षामा चार सय ७७ जना सहभागी भएको प्रधानाध्यापक जयसवालले बताए ।
विद्यार्थी नपाउने समस्या भएपछि नेपालगन्ज उपमहानगरपालिकाले उक्त विद्यालयलाई कन्या मावि बनाउने निर्णय गर्यो । त्यसका लागि पूर्वाधार निर्माण गर्ने र सुधारका लागि विज्ञ नियुक्त गर्ने निर्णय नगर कार्यपालिकाले पारित पनि गर्यो । नेपालगन्जमा कन्या माविको आवश्यकता महशुस गरि उक्त विद्यालयको नाम श्री नेपालगन्ज कन्या माध्यमिक विद्यालय नामाकरण गर्यौँ,’ उपमेयर उमा थापा मगरले भनिन्, ‘कन्या मावि बनाएपछि विद्यार्थीको संख्या बढेको छ नै शैक्षिक सुधार समेत भएको छ ।’
विद्यालयको शैक्षिक सुधारका लागि उपमहानगरले धम्बोझी माविकी पूर्व प्रधानाध्यापक किरण आचार्यलाई विज्ञको रुपमा नियुक्त गर्यो । आचार्यले विद्यालय सुधारका लागि योजना बनाइन् । सोही योजना अनुसार नगरपालिकाले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई परिचालन गर्यो । त्यसपछि विद्यार्थी नपाएर फुर्सदिला शिक्षक अध्ययन अध्यापनमा ब्यस्त हुन थाले ।


छात्राको संख्या बढाउन खाने तेल, साइकल र झोला प्रदान
विद्यार्थीलाई आकर्षित गर्न पहिलो चरणमा उपमहानगरले विद्यार्थीलाई प्रति महिना एक लिटर खाने तेल वितरण गरेको उपमेयर थापाले बताइन् । उनले भर्ना भएका विद्यार्थीलाई नियमित रुपमा विद्यालय ल्याउन साइकल वितरण गरेको बताइन् । ‘साइकल चलाउन सक्ने कन्यालाई साइकल र सानालाई झोला वितरण गर्यौँ,’ उनले भनिन् ।
ब्यवहारिक शिक्षाका लागि विद्यालयले छात्रालाई कपडा सिउने सीप दिन थालेको छ । भने, प्रोजेक्टरबाट शिक्षा र अतिरिक्त शिक्षाका लागि पुस्तकालयको समेत ब्यवस्था गरेको छ । ‘कन्या मावि स्थापना गरेपछि खाली समयमा शिक्षकहरु पाठ्यसामग्री निर्माण गर्छन् । विद्यार्थीहरु पुस्तकालयमा गएर अतिरिक्त ज्ञान लिने गरेका छन्,’ प्रधानाध्यापक जयसवालले भने ।


मुस्लिम बालिकालाई लक्षित गरि कन्या मावि स्थापना
उक्त विद्यालय ७ फागुन, २०२५ साल तत्कालिन राजा महेन्द्रले उद्घाटन गरेका थिए । पुरानो विद्यालय भए पनि मधेसी र मुस्लिम समुदायको बाक्लो बस्ती भएकोले बालिकाहरु विद्यालय जान सकिरहेका थिएनन् । उपमहानगरले कन्या माविको रुपमा संचालन गरि शिक्षामा सुधार ल्याएपछि विद्यार्थीको संख्या ह्वात्तै बढेको विज्ञको रुपमा रहेकी आचार्यले बताइन् । ‘इतिहासमै नचलेको विद्यालय हो, त्यसलाई सुधार गर्न सकिदैन, तिमी त्यहाँ काम गर्न नजाउ भनेर मेरो पति डा. जनार्दन आचार्य र नेपालगन्जका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले सुझाव दिनु भयो,’ उनले भनिन्, ‘मैले जहाँ समस्या त्यहाँ अवसर हुन्छ भनेर सुधारका लागि जिम्मेवारी लिएँ, अहिले सुधार भएको देख्दा खुसी लाग्छ ।’


८० प्रतिशत मुस्लिम समुदायका विद्यार्थी
नेपालगन्ज कन्या माविमा अध्ययनरत मध्ये ८० प्रतिशत बालिका मुस्लिम समुदायका छन् । सानोदेखि ठूलो कक्षामा अध्ययनरत धेरैजसो मुस्लिम समुदायका बालिका रहेको शिक्षिका गोमा पोख्रेलले बताइन् । उनले कक्षा ६ मा ४६ जना विद्यार्थी मध्ये ३६ जना मुस्लिम समुदायका भएको जानकारी दिइन् । फाट्फुट रुपमा मधेसी, थारु र अन्य समुदायका भए पनि अधिकांश मुस्लिम समुदायका बालिका अध्ययनरत छन्,’ उनले भनिन् ।
उनले मुस्लिम समुदायमा आफ्ना छोरीलाई सुरक्षित राख्ने संस्कार भएकोले कन्या मावि भएपछि छोरीलाई विद्यालय पठाउन थालेको बताइन् । छोरीहरुलाई घर बाहिर निस्कन नदिने र केटाहरुबाट टाढा राख्ने संस्कार अहिले पनि भएको बताउँदै उनले कन्या मावि संचालनमा आएपछि आफ्ना छोरीहरु सुरक्षित हुने विश्वास अभिभावकमा जागेको बताइन् ।
कन्या मावि स्थापना भएपछि छोरीहरु सुरक्षित हुने लागेपछि विद्यालय पठाएको नेपालगन्ज उपमहानगरपालिका ४, देवाफुलवारीका मोहम्मद शकिल अन्सारीले बताए । उनकी छोरी कक्षा ८ मा अध्ययनरत छिन् । ‘छोरीहरुलाई खुला छोड्न हाम्रो संस्कारले दिँदैन । केटाकेटी सँगै पढ्ने विद्यालयमा छोरीलाई पढ्न पठाउने हाम्रो समुदायमा राम्रो मानिदैन । कन्या मावि संचालनमा आएपछि निर्धक्कका साथ विद्यालय पठाउँछौँ,’ उनले भने ।


कन्या माविले पढ्ने अवसर जुरायो : विद्यार्थी
नेपालगन्ज उपमहानगरपालिका ४, देवाफुलवारीकी समिरा बानो इद्रिसी कक्षा ८ मा पढ्छिन् । उनले कन्या माविले पढ्ने धोको पुरा गरेको बताइन् । उनले सानो उमेरमा अभिभावकले छोरीलाई विद्यालय पठाए पनि ठूलो भएपछि नपठाउने गरेको बताइन् । त्सैले जति–जति माथिल्लो कक्षामा जान्छन्, मुस्लिम बालिकाको संख्या उति–उति घट्दै जान्छ । ‘कन्या मावि नभएको भए पढ्ने अवसर पाउने कुरै थिएन । ठूलो भएको छोरीलाई अभिभावकले केटा पनि पढ्ने विद्यालयमा पढाउन मान्दैनन्,’ उनले भनिन् ।
कक्षा ८ मा अध्ययनरत सुहाना सल्मानीले पनि कन्या माविले पढ्ने अवसर जुराएको बताउँछिन् । कक्षा ७ सम्म रामनगरस्थित मदर्सामा पढेकी उनले कन्या मावि भएपछि अभिभावकले विद्यालय भर्ना गरेको बताइन् । कन्या मावि खुलेपछि बुवा आएर भर्ना गरिदिनु भयो,’ उनले भनिन् ।


कन्या मावि प्रति छात्राको आकर्षण
आधारभूत विद्यालयलाई नेपालगन्ज उपमहानगरले शैक्षिक सत्र ०७५–०७६ बाट नेपालगन्ज कन्या मावि नामाकरण गर्यो । त्यसअघि उक्त विद्यालयमा करिव सय जना विद्यार्थी मात्र भर्ना भएका थिए । ति मध्ये आधा मात्र नियमित रुपमा विद्यालय आउँथे ।
तर, कन्या मावि संचालन गरि विद्यार्थीलाई आकर्षित गर्न विभिन्न योजना बनाएपछि विद्यार्थीको संख्या बढ्न थाल्यो । पहिलो शैक्षिक सत्रमा ३१५ विद्यार्थी भर्ना भए । शैक्षिक सत्र ०७६–०७७ मा ३८५ विद्यार्थी भर्ना गर्न सफल भएको उक्त विद्यालयमा शैक्षिक सत्र ०७७–०७८ मा ३७० र चालू शैक्षिक शत्रमा ५८३ जना विद्यार्थी भर्ना भएको प्रधानाध्यापक जयसवालले जानकारी दिए ।
उनले आगामी शैक्षिक सत्रदेखि ११ कक्षा संचालन गर्ने तयारी रहेको बताए ।

Previous articleराप्ती सोनारीको गाउँसभाबाट ६ वटा कानुन पारित
Next articleपश्चिम नेपालमा छारे रोगका ६–७ सय विरामी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here