भारतबाट आयात हुने तरकारीमा फरक विषादी प्रयोग : सीमाको उपकरण र विधिले पत्ता लगाउन सकेन

तरकारीमा रहेको विषादीको मात्रा जाँच गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक ।

बाँके, २० माघ, २०७८ ।


भारतीय किसानले फरक विषादीको प्रयोग गरि नेपालको प्रविधि र प्राविधिकलाई चक्मा दिएका छन् । भारतका तरकारी उत्पादक किसानले नेपालमा जाँच हुने उपकरण र त्यसले पत्ता लगाउने विषादी समुहको बारेमा जानकारी पाएपछि यहाँको उपकरण र प्रविधिले पत्ता लगाउन नसक्ने फरक विषादीको प्रयोग गरि उपकरण र प्राविधिकलाई चक्का दिएका हुन् ।
फरक विषादी प्रयोग गरेपछि नेपालगन्ज नाका भएर आयात हुने तरकारीमा विषादीको मात्रा फेला पर्न छाडेको नेपालगन्जस्थित विषादी अवशेष द्रुत विश्लेषण इकाईका प्राविधिक समेत रहेका कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत शकिल अहमदले बताए ।
उनले तरकारी र फलफूलमा रहेको विषादीको मात्रा पत्ता लगाउन प्रयोग भएको आरवीपिआर उपकरणले कार्वन अर्गानोफास्फेट र कार्वामेट समुहका विषादीको मात्र जाँच गर्ने बताए । ‘भारतका किसानले विषादीको मात्रा पत्ता लगाउन नेपालमा प्रयोग भएका उपकरणको बारेमा जानकारी पाउने वित्तिकै यी दुई समुह बाहेकका अन्य विषादी प्रयोग गर्न थालेको हुनुपर्दछ । अन्य विषादी प्रयोग भएकोले हाम्रो उपकरणले पत्ता लगाउन नसकेको हो,’ उनले भने, ‘हामीले कुन उपकरण प्रयोग गरिरहेका छौँ भन्ने जानकारी दिनुनै हाम्रो कमजोरी हो । जसको फल आज नेपालीले भोग्दै छौँ ।’
उनले भारतबाट आयात हुने तरकारीमा कार्वन अर्गानोफास्फेट र कार्वामेट समुह बाहेकका विषादी भएको दावी गरे । किसानले तरकारीमा अर्कै विषादी प्रयोग गरेकोले रातो र पहेँलो मात्रा नदेखिएको उनको भनाई छ ।
‘पहिले हरेक ५–१० नमुना जाँच गर्दा २–३ वटामा रातो र पहेँलो संकेतको तरकारी फेला पर्दथ्यो । अहिले कुनै तरकारीमा विषादीको मात्रा फेला नपर्नुको कारण त्यहाँका किसानले फरक विषादी प्रयोग गर्न थालेका छन् भन्ने दावीका साथ भन्न सकिन्छ,’ उनले भने, ‘नत्र पहिलेको तरकारीमा फेला पर्ने अहिलेकोमा नपर्ने कसरी हुन सक्छ ।’
पछिल्लो समय भारतबाट आयात भएका तरकारीमा विषादी फेला नपरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पनि स्विकार गरेको छ । तीन महिनामा तीन हजार पाँच सय ३९ वटा नमुना परीक्षण गर्दा कुनैमा पनि विषादी फेला नपरेको सूचना अधिकारी अमित भुषण सुमनले बताए ।
उनले खाद्य प्रविधि कार्यालयले तरकारीमा विषादीको मात्रा पत्ता लगाउन प्रयोग भएको आरवीपिआर उपकरणले परीक्षण गर्दा सुन्तलामा रहेको विषादी मात्र पत्ता लगाएको बताए । ‘अहिलेसम्म तरकारीमा विषादीको मात्रा धेरै छ भने फेला परेको छैन । सुन्तलाको दुई वटा नमुना खान अयोग्य फेला परेको छ,’ उनले भने ।
उनले पनि भारतीय किसानले पहिले प्रयोग गर्दै आएको विषादीभन्दा फरक विषादी प्रयोग गर्न थालेको अनुमान लगाए । ‘हाम्रो उपकरणले पत्ता लगाउन नसक्ने विषादी प्रयोग भएको हुनुपर्छ,’ उनले भने ।

Previous articleकोरोना विरुद्धको खोप अभियानमा स्वस्फूर्त सहभागी हुँदै डुडुवाका बालबालिका (फोटो फिचर सहित)
Next articleबाँकेका ७६ प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here