बाँके, १२ माघ, २०७८ ।
कोरोना विरुद्धको खोप लगाउनेमा पनि नरैनापुर गाउँपालिका पछाडी परेको छ । नेपालगन्ज उपमहानगर ९३.३ र कोहलपुर नगरपालिकाका ९३.५ प्रतिशतले पहिलो मात्रा खोप लगाउँदा नरैनापुरका ५७.६ प्रतिशतले मात्र खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनले नरैनापुरका २१.७ प्रतिशतले मात्र दोस्रो मात्रा लगाएको बताए । कोरोना विरुद्धको खोपको महत्व र फाइदा बारे बुझाउन नसक्दा नरैनापुर गाउँपालिकामा खोप अभियान प्रभावकारी हुन नसकेको बताइएको छ । गाउँपालिकाले खोपको महत्व र फाइदाको बारेमा बुझाउन नसक्दा खोपप्रति सर्वसाधारणले चासो नदिएको एक स्थानीयले बताए । ‘गाउँपालिकाले खोप सम्बन्धि अभियान संचालन गरेर यसको महत्व र फाइदाको बारेमा बुझाउनु पर्दथ्यो, तर अहिलेसम्म गाउँपालिका मौन छ,’ ती स्थानीयले भने ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार खजुराका ७९.९ प्रतिशतले पहिलो र ५९.८ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । त्यसैगरी, राप्तीसोनारीले ७९.४ प्रतिशतले पहिलो मात्रा र ४९.८ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् ।
स्वास्थ्य सेवा प्रवाहमा बाँके जिल्लाकै पहिलो भएको डुडुवा गाउँपालिकाका ७९.१ प्रतिशतले पहिलो र ४५.१ प्रतिशतले दोस्रो मात्रा लिएको श्रेष्ठले बताए । उनले बैजनाथका ७६.६ प्रतिशतले पहिलो र ५०.८ प्रतिशतले दोस्रो मात्रा लगाएको जानकारी दिए । सातौँ स्थानमा रहेको जानकी गाउँपालिकाका ७३.५ प्रतिशतले पहिलो र ४६.६ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । बाँकेका ८३.२ प्रतिशतले दोस्रो र ५४.५ प्रतिशतले कोरोना विरुद्धको दोस्रो खोप लगाएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।