बार बर्दियामा बन विज्ञान शिक्षा : गरिव विद्यार्थीलाई पढाउँदै सहिद विष्णु-धनि स्मृति शिक्षालय

बाँके, २८ पुस, २०७८ ।
सहिद परिवारका बालमोती चौधरी बार बर्दिया नगरपालिका ६, जयनगरस्थित सहिद विष्णु–धनि स्मृति बहुप्राविधिक शिक्षालयमा अध्ययनरत छिन् । उनलाई प्राविधिक शिक्षा लिने ठूलो इच्छा थियो । उनको इच्छामा गरिवी तगारो बनिरहेको थियो । बार बर्दिया नगरपालिकाले असहाय, विपन्न, सहिद, बेपत्ता, घाइते, विपन्न दलित, अपांगता भएका विद्यार्थीलाई लक्षित गरि बहुप्राविधिक शिक्षालय संचालनमा ल्याएपछि प्राविधिक शिक्षा पढ्ने उनको धोको पूरा भएको छ ।
उनी पूर्ण छात्रबृत्तीमा अध्ययनरत छन् । किताव, कापी र कलम किन्ने बाहेक अरु शुल्क नलाग्ने गरेको उनले बताइन् । ‘सहिद विष्ण–धनि स्मृति बहुप्राविधिक शिक्षालय आफ्नै ठाउँमा भएकोले डेरा गरेर बस्नुपर्ने झन्झट छैन । सहिद परिवारका बालबालिकालाई पूर्ण छात्रबृत्ती दिने शिक्षालयको नीतिले हामी जस्ता सहिद परिवारका विद्यार्थीलाई ठूलो राहत मिलेको छ,’ उनले भनिन्, ‘शिक्षालयले छात्रबृत्ती दिने ब्यवस्था नगरेको भए धोको पूरा हुने थिएन ।’
उनी जस्तै बर्दियाका चक्रबहादुर विकले पनि सोही शिक्षालयमा पढ्छन् । बन विज्ञान दोस्रो बर्षमा अध्ययनरत उनले पनि पूर्ण छात्रबृत्ती पाएका छन् । पूर्ण छात्रबृत्ती पाएपछि पढाईमा धेरै खर्च नलागेको उनले बताए । ‘छात्रबृत्ती पाएकोले प्राविधिक शिक्षा पढ्ने आँट आयो । शिक्षलयले गरिव, असहाय, विपन्न परिवारका विद्यार्थीको सहारा भएको छ,’ उनले भने ।
शिक्षालयमा एक शैक्षिक शत्रमा ४० जनाको कोटा छ । ति मध्ये सिटीइभिटीले पूर्ण छात्रबृत्तीका चार जना विद्यार्थी केन्द्रबाट पठाउने गरेको छ । बाँकी ३६ जना मध्ये १० जनासँगमात्र पूर्ण शुल्क लिने गरेको शिक्षालय प्रमुख टीकानाथ गोराईँले बताए । उनका अनुसार, विपन्न दलित समुदायका तीन जनाले छात्रबृत्ती पाउने गरेका छन् । उनले ५०, ७५ र पूर्ण छात्रबृत्तीमा एक–एक जना विपन्न दलित समुदायका विद्यार्थीले छात्रबृत्ती पाउने गरेको बताए । त्यसैगरि, विपन्न जनजातिका दुई जनाले ५० प्रतिशत, तीन जनाले ७५ प्रतिशत र अर्को तीन जनाले शतप्रतिशत छात्रबृत्ती पाउने गरेको गोसाईँले जानकारी दिए ।
शिक्षालयले सीमान्तकृत समुदाय अन्तरगत राजी, कुमाल, बोटे, बादी जातिका एक जना विद्यार्थीलाई पूर्ण छात्रबृत्ती दिँदै आएको छ । सहिद, बेपत्ता तथा जनयुद्धमा घाइते भएका परिवारका दुई जनालाई ७५ प्रतिशत र तीन जनालाई पूर्ण छात्रबृत्ती दिँदै आएका छौँ,’ बार बर्दिया नगरपालिकाका शिक्षा शाखा प्रमुख समेत रहेका गोसाईँले भने, शारिरिक अपांगता भएका दुई र मुक्त कमैया, कम्लहरीका तीन जना विद्यार्थीलाई शतप्रतिशत छात्रबृत्तीको ब्यवस्था छ ।’
शिक्षालयले ५० प्रतिशत महिला अनिवार्य समावेश गर्ने लक्ष लिएको छ । अहिले उक्त शिक्षालयमा छात्रभन्दा छात्राको संख्या धेरै छ । ‘पहिलो बर्ष र दोस्रो बर्ष गरि छात्राको संख्या बढि छ,’ शिक्षालयका कोर्डिनेटर रमेश बोहराले भने ।
बहुप्राविधिक शिक्षालय भनिए पनि अहिले डिप्लोमा तहको वन विज्ञान विषयमात्र पढाई हुने गरेको छ । आगामी शत्रबाट एचए, स्टाफ नर्स, हेल्थ साइन्स, फार्मेसी, अप्थाल्मिक (नेत्र सहायक) लगायतका विषय पढाई गर्ने तयारी गरिएको बार बर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु (कविर) ले बताए । उनले १७ कक्षा कोठा भएको दुई तले शिक्षालय भवन निर्माणको क्रममा रहेको बताउँदै आगामी शत्रबाट यी सवै विषयको अध्यापन हुने स्पष्ट पारे । यो शिक्षालयलाई सिटिईभीटीको आंगिक क्याम्पस बनाउने हाम्रो तयारी छ,’ उनले भने ।
उनले शिक्षालयलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा भएको बताउँदै शिक्षालयमा अध्ययनरत विद्यार्थीले प्रयाक्टिकल गर्नका लागि ५० शैयाका आरसी थारु मेमोरियल अस्पताल संचालन हुने तयारीमा रहेको जानकारी दिए । सिटिईभीटीले तोकेको मापदण्ड पूरा हुने क्रममा छ । मापदण्ड पूरा हुनासाथ आंगिक क्याम्पसका लागि पहल हुने छ,’ उनले भने ।
हाल उक्त शिक्षालयमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, हुम्ला, सर्लाही लगायत जिल्लाका ८० जना विद्यार्थी अध्ययनरत छन् ।

Previous articleसामाजिक दायित्व निर्वाह गर्दै सुविसु : स्थापना दिवसमा रक्तदान गर्ने
Next articleजेष्ठ नागरिकलाई डुडुवाको सम्मानः सामाजिक सुरक्षा बुझ्न नेपालगन्ज ल्याउँदै घरसम्म पुर्याउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here