नेपालगन्ज होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा, माघदेखि संचालनको तयारी

बाँके, २२ पुस, २०७८ ।


नेपालगन्ज उपमहानगरपालिका १४, भवनियापुरमा निर्माणाधिन आइसोलेशन (होल्डिङ) सेन्टर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एक हजार जना अट्ने क्षमताको उक्त आइसोलेशन निर्माणको ८० प्रतिशत काम पूरा भएको हनुमान कन्स्ट्रक्सनका इन्जिनियर कमाल अन्सारीले बताए ।
उनले अवको एक महिनामा काम पूरा हुने जिकिर गरे । आइसोलेशन सेन्टरमा २२ वटा ब्लक छ । ब्लकलाई दुई भागमा बाँडिएको छ । ब्लकको दुवै तर्फ शौचालय निर्माण गरिएको छ । आइसोलेशन ब्लक र शौचालय भवन निर्माण भइसकेको अन्सारीले बताए । उनले शौचालयको पाइप विछ्याउन मात्र बाँकी रहेको स्पष्ट पारे । ‘ठूलो काम सकिएको छ । अव साना–साना काममात्र बाँकी छ,’ उनले भने, ‘अवको एक महिनाभित्र आइसोलेशन संचालनमा ल्याउने तयारी छ ।’
कुल २२ ब्लक मध्ये दुई वटा कार्यालय, चिकित्सक र स्वास्थ्यकर्मीका लागि छुट्याइएको छ । ‘यी दुई ब्लकमा पाटेशन गरि कार्यालय संचालन तथा चिकित्सक बस्ने ब्यवस्था गरिने छ,’ उनले भने ।


त्यसैगरि, दुई वटा डाइनिङसहितको किचन, एक सेन्ट्रल किचन र १२ वटा खाना खाने हल निर्माण भएको छ । नेपालगन्जबाट झण्डै ६ किलोमिटर दक्षिण पूर्वमा निर्माण भइरहेको होल्डिङ सेन्टर नेपालगन्ज नाकादेखि तीन किलोमिटर पूर्वमा छ । पफ प्रविधिबाट निर्माण गरिएको ट्रष्ट विल्डिङमा बस्दा चिसोमा न्यानो र गर्मीमा शितल हुने इन्जिनियर अन्सारीले दावी गरे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले निर्माण कम्पनीले पुस अन्तिमसम्म निर्माणको काम सक्ने र १ माघदेखि कोरोना संक्रमित राख्न सकिने बताए । पर्खाल निर्माण पूरा नहुँदै आइसोलेशन संचालनमा ल्याउन सकिने उनको भनाई छ । ‘आवश्यक परे १ माघदेखि नै संचालन गर्न सकिने संरचना तयार भइसकेको छ,’ उनले भने ।

Previous articleएमाले बाँकेको आठौँ अधिवेशनको सम्पूर्ण तयारी पूरा
Next articleचिसोबाट जोगाउन नेपाली सेनाले दियो ७५ परिवार मगन्ता र मिर्गौला पीडितलाई कम्बल (फोटो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here