बाँके, १६ पुस, २०७८ ।
हराएका मध्ये फेला पर्नेको संख्या एकदमै महिला तथा बालबालिका फेला पर्ने गरेको देखिएको छ । हराएको भनि खोजतलासको निवेदन दिएका ५२५ मध्ये २०३ जनामात्र फेला परेका छन् ।
मानव बेचविखन तथा ओसार पसारमा परेको भन्दै खोजतलासका लागि निवेदन दिएका मध्ये ३२२ जना महिला तथा बालबालिकाको अवस्था अज्ञात रहेको माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले बताए । ‘खोजतलासका लागि निवेदन परेको मध्ये ३२२ जना कहाँ छन् भन्ने एकिन जानकारी छैन,’ उनले भने ।
उनले सन् २०२१ मा श्रम तथा यौन शोषणमा परेका ११ जना महिला र बालबालिकाको भारतबाट उद्धार गरिएको जानकारी दिए । भारतको विभिन्न सहरमा तीन जना पुरुष बन्धकको रुपमा रहेको बताउँदै उनले कानुनी जटिलताका कारण उद्धारमा समस्या आएको बताए । ‘एक जना पुरुषलाई आफन्तले भेटेर आइसक्नु भयो, तर धेरै प्रक्रिया पुर्याउनु पर्ने भएकोले उद्धार गर्न सकिएको छैन,’ उनले भने, ‘प्रक्रिया पुर्याएर छिट्टै उद्धार गर्ने योजना छ ।’
एक बर्षको अवधिमा नेपालगन्ज नाकाबाट चार सय ३४ जनाको उद्धार गरिएको उनको भनाई छ । जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई नेपालगन्ज नाकाबाट उद्धार गरि घर फिर्ता पठाएको उनले बताए । उनले भने, ‘जोखिमपूर्ण यात्रामा रहेका चार सय ३२ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ ।’
उनले मानव अंग खरिद–विक्री गर्ने चलन पश्चिम नेपालमा नभए पनि गर्भाशय भाडामा दिने क्रम बढेको बताए । उनले गर्भाशय भाडामा दिने महिलाहरु खुल्न नचाहेका कारण एकिन तथ्यांक आउन नसकेको जिकिर गरे । गर्भाशय भाडामा दिएका मध्ये दुई–तीन जना सम्पर्कमा छन् । एकजनालाई ट्राइलको रुपमा लिएर अगाडी बढेका छौँ,’ उनले भने ।
माइती नेपालका अनुसार, मानव बेचविखनको सवैभन्दा जोखिम जिल्लामा बाँके, सुर्खेत र दाङ रहेको बताए । कोइरालाले सन् २०२१ मा सुर्खेतका ६५, दाङका ६१, बाँकेका ५६ र बर्दियाका ४६ महिला र बालबालिका जोखिमपूर्ण यात्रामा रहेकालाई नेपालगन्ज नाकाबाट उद्धार गरिएको बताए ।