निसासिएर एकै परिवारका चार जनाको मृत्युको घटना कसरी भयो ?

बाँके, १६ पुस, २०७८ ।


नेपालगन्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ती शाखा (मेडिकल स्टोर) को थ्री फेज विद्युत लाइनमा बुधवार बेलुकी खरावी देखियो । विद्युत कहिले आउने र जाने भइरहेको थियो । विद्युतका लागि कार्यालय प्रमुखले जेनेरेटर चलाउन निर्देशन दिए । त्यसपछि रातको १२ बजेतिर चालू जेनेरेटरमा तेल सकिएको जानकारी कार्यालय सहयोगी अर्जुन सुनारले कार्यालय प्रमुख धर्मेन्द्र न्यौपानेलाई जानकारी गराए । न्यौपानेले तीन–चार घण्टाका लागि पूरानो जेनेरेटर चलाउन कार्यालय सहयोगीलाई अह्राए ।
विहीवार विहानको करिव ५ बजे तिर जेनेरेटरमा तेल हाल्नका लागि सुनारले कार्यालय प्रमुख न्यौपानेलाई फोन गरेर अर्का कार्यालय सहयोगी धनप्रसाद भट्टराईलाई पनि बोलाउन आग्रह गरे । न्यौपानेले धनप्रसादलाई फोन गरे, तर पूरै घण्टी बज्दासमेत उठेन । दोस्रो पटक फोन गर्दा स्विच अफ भन्यो । सधैँ फोन उठाउने धनप्रसादको फोन नउठेर किन स्विच अफ भयो भनेर बुझ्न उनले कोलचेन निरीक्षक धर्मदत्त ढकाललाई पठाए ।
धर्मदत्तले ढोका ढक्ढक्याएर बोलाएपछि धनप्रसादकी २३ बर्षिय सुशीलाले सवैको ज्वरो आएको छ, उठ्न सक्ने कोही छैनौँ भन्ने जवाफ दिइन् । त्यसपछि कोलचेन निरीक्षक ढकालले कार्यालय प्रमुख न्यौपानेलाई फोन नउठ्नुको कारण फोन मार्फत अवगत गराउने वित्तिकै उनी धनप्रसादको निवासमा आए ।
न्यौपाने, कार्यालय सहयोगी सुनार र कोलचेन निरीक्षक ढकालले सुशीलालाई ढोका खोल्न भने, तर उनले खोल्न सक्ने अवस्थामा परिवारका कुनै सदस्य नभएको जानकारी गराइन् । त्यसपछि ढकालले ढोकाको काप फट्याएर सुशीलालाई ढोका खोल्न सहयोग गरे । ‘हामी भित्र पस्दा चार जना अचेत अवस्थामा थिए । अलिअलि बोल्न सक्ने भनेको सुशीला थिइन्, धनप्रसादका १९ बर्षिय भाई नरेन्द्रले पुलुक्क आँखा हेरेर बन्द गरे,’ न्यौपानेले भने, ‘हामी भित्र पस्दा आगोको धुँवा अझैँ बाँकी नै थियो । तीन बर्षिय बालकको आगोले हात जलेको छ ।’
भित्रको दृष्य हेर्न नसकेर त्यहाँ उपस्थित कर्मचारीले भेरी अस्पतालका प्रहरी, अस्पतालका चिकित्सक, निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रजंग शाह, मानव संसाधन केन्द्र सुर्खेतमा कार्यरत मृतक धनप्रसादका दाजु पूर्ण भट्टराई, सुर्खेतस्थित मेडिकल स्टोरका निर्देशक रविन खड्कालाई फोन मार्फत घटनाको जानकारी गराए । लगायतलाई फोन गरेर जानकारी न्यौपाने गराए । ‘भेरी अस्पतालका स्वास्थ्यकर्मी, प्रहरी र हामीहरु स्टेचरमा राखेर अस्पताल पुर्यौँ,’ न्यौपानेले भने ।
धुँवाले निसासिएर मृत्यू
धनप्रसादको तीन महिनाका छोरा इप्सन थिए । बुधवार चिसो भएकोले टिनको बाकसमा कोइला बालेर सेकेको अनुमान गरिएको छ । सानो बच्चालाई न्यानो बनाउन बालेको कोइला ननिभाएर सुतेका कारण अप्रिय घटना घटेको कार्यालय प्रमुख न्यौपानेले बताए । ‘कोठामा टिनको बाकसमा कोइला बालेको देखिन्छ । बच्चालाई सेकिसकेपछि आगो निभाएको भए यस्तो घटना हुने थिएन,’ उनले भने ।
बाँके प्रहरीले पनि धुँवाले निसासिएर चार जनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी श्यामकृष्ण अधिकारीले बताए । उनले घटनाको प्रकृति, कोठाको अवस्था र आगोको धुँवाले निसासिएर मृत्यु भएको अनुमान गर्न सकिने बताए । ‘थप कुरा अनुसन्धानबाट खुल्दै जाला, प्रारम्भिक अनुसन्धानले धुँवाले निसासिएर मृत्यु भएको देखिन्छ,’ उनले भने, ‘झ्याल, ढोका सवै बन्द रहेको देखिन्छ । धुँवाले अक्सिजनको कमी भई ज्यान गएको हुन सक्छ ।’
निसासिएर चारको मृत्यु, तीन सिकिस्त
धुँवाले निसासिएर मेडिकल स्टोरमा कार्यरत २३ बर्षिय कार्यालय सहयोगी धनप्रसाद भट्टराई, उनका ४५ बर्षिया आमा कोपिला, २५ बर्षिया दिदी नन्दकली र तीन महिनाका छोरा इप्सनको निसासिएर मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
उनीहरुलाई अस्पताल पु¥याउने वित्तिकै भेरी अस्पतालले मृत घोषणा गरेको थियो । ‘चार जनाको कोठामा मृत्यु भइसकेको हुनुपर्छ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रजंग शाहले भने ।
एउटै कोठामा सुतेका धनप्रसादका २३ बर्षिय पत्नी सुशीला, २१ बर्षिय भाई नरेन्द्र र तीन बर्षका छोरा दिवसको भेरी अस्पतालमा उपचार भइरहेको छ । ‘कार्यालयका कर्मचारी समयमा नपुगेको भए सवैले ज्यान गुमाउने रैछन्,’ कार्यालय प्रमुख न्यौपानले भने ।
बेहोस अवस्थामा अस्पताल पुर्याइएका सवैको होस खुलेको छ । उनीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ । उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका निमित्त मेसु डा. शाहले जानकारी दिए ।

Previous articleएमाले लुम्बिनी प्रदेश अधिवेशन भब्य बनाउन प्रचार समिति गठन
Next articleहराएका ३२२ महिला र बालबालिकाको अवस्था अज्ञात, गर्भाशय भाडामा दिनेको संख्या बढ्दो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here