बाँके, १४ पुस, २०७८ ।
बाँकेमा बर्षेनी हुने चिसो तथा शितलहरबाट हुने क्षति न्युनिकरणका लागि पहल गर्न बाँकेका जेष्ठ नागरिकले सरकारसँग माग गरेका छन् । चिसोले गरिव, विपन्न, जेष्ठ नागरिक र बालबालिकालाई बढि प्रभाव पार्ने बताउँदै जेष्ठ नागरिकले चिसोबाट जोगाउन पूर्व तयारी गरि क्षति न्यूनिकरणको लागि योजना बनाउन प्रशासनसँग माग गरेका हुन् ।
सामान्य बर्षासँगै चिसो बढेपछि चिसो बढेकोले जेष्ठ नागरिक, असहाय, बालवालिका, दीर्घरोगी, मजदुर, अति विपन्न परिवारका नागरिकको स्वास्थ्यमा प्रतिकुल असर परि विरामी भई जनजिवन कष्टकर भएको प्रशासनलाई बुझाएको ५ बुँदे ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
शीतलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सो बाट बच्ने उपायका बारे प्रत्येक गाउँ, टोलमा जनचेतना फैलाउने कार्य तत्काल गर्न गराउन, चिसो तथा शीत लहरका कारण नागरिको जीवन रक्षार्थ प्रत्येक टोलमा दाउराको व्यवस्था गर्न, जेष्ठ नागरिक, असहाय, बालवालिका, दीर्घरोगी, अतिविपन्न परिवारका नागरिकलाई जाडो तथा शीतलहरबाट सुरक्षित राख्नका लागि न्यानो कपडा तथा उचित राहतको व्यवस्था गर्न माग गरिएको छ ।
त्यसैगरि, शीतलहरका कारण हुन सक्ने विरामीलाई औषधी उपचारको यथोचित व्यवस्था तथा पूर्वतयारीको राम्रो ब्यवस्थापन गर्न र विपत जोखिम न्युनीकरण तथा ब्यवस्थापन ऐन २०७४ अनुसारको मानवीय काम कारवाहीलाई अघि बढाउन माग पनि जेष्ठ नागरिकले गरेका छन् ।