निर्वाचन कार्यालयमा थामी नसक्नु भीड : ७८ बर्षिया बृद्धाले बनाइन पहिलो पटक मतदाता परिचय पत्र (फोटो सहित)

बाँके, ११ पुस, २०७८ ।
११ पुस, २०७८ विहानको १० बज्न केहि मिनेट बाँकी थियो । कार्यालय खुल्ने तरखर हुँदै गर्दा मतदाता परिचय पत्र बनाउन बाँकेको विभिन्न स्थानीय तहबाट आएका सर्वसाधारणले नेपालगन्जस्थित जिल्ला निर्वाचन कार्यालय भरिभराउ भयो । कोही लाइनमा थिए त कोही नागरिकताको फोटोकपी गराउन हतार गर्दै थिए । त्यहि भीडमा थिइन् नेपालगन्ज उपमहानगरपालिका १९, बसुदेवपुरकी ७८ बर्षिया सुन्तली गिरि ।
उनी पहिलो पटक मतदाता परिचय पत्र बनाउन त्यहाँ आएको बताइन् । अहिलेसम्म मतदानमा सहभागी नभएकी उनी मतदाता परिचय पत्र पाएपछि दंग परेर घर फर्किइन्् । पहिलो पटक मतदाता परिचय पत्र बनाएकी उनले आगामी निर्वाचनमा आफ्नो ठाउँको विकास गर्ने नेतालाई भोट दिने बताइन् । ‘पहिले परिवारका सदस्यले पनि चासो दिएनन्, मतदाता परिचय पत्र बनाउन मैले पनि चासो दिएन,’ उनले भनिन्, ‘अहिले वडा र टोलका नेताले मतदाता परिचय पत्र बनाउन सुझाव दिएपछि यहाँ आए ।’
मतदाता परिचय पत्र बनाउन उनीसँगै आएकी सोही ठाउँकी ५५ बर्षिया लिला रानाले पनि पहिलो पटक मतदाता परिचय पत्र बनाएको बताइन् । मतदाता परिचय पत्र नभएकै कारण उनले यसअघिको निर्वाचनमा मतदान गर्न पाइनन् । मतदाता परिचय पत्र बनाउन छुटेकाले आफूलाई मन परेको नेतालाई भोट हाल्न नपाएको बताउँदै उनले आगामी निर्वाचनमा विकासको खाका लिएर आउने नेतालाई मत दिने स्पष्ट पारिन् । ‘सवैले आ–आफ्नो मन परेको नेतालाई आफ्नो मत दिए । मैले दिन नपाउँदै पछुतो लाग्यो,’ उनले भनिन्, ‘यसपाली कसैको कुरा नसुनेर आफ्नो भोट खेर नजाने गरि मन परेको उम्मेदवारलाई निर्धक्कसँग भोट हाल्छु ।’


मतदाता परिचय पत्र बनाउन आएका खजुरा गाउँपालिका ७, सिमलघारीका ५२ बर्षिय उपेन्द्र विष्ट पनि आइतबार जिल्ला निर्वाचन कार्यालयमा भेटिए । आफ्नो र २२ बर्षिया छोरी गौमती विष्टको मतदाता परिचय पत्र बनाउन नेपालगन्ज आएको उनले बताए । कार्यालय नखुल्दै आए पनि पालो नपाएको बताउँदै उनले जस्तोसुकै गाह्रो भए पनि यसपाली मतदाता परिचय पत्र बनाएर छोड्ने दावी गरे । ‘मेरो एक भोटले गतिलो नेतालाई जिताउन मद्दत मिल्ने छ,’ उनले भने ।
नेपालगन्ज उपमहानगरपालिका १९ फाराम टोलकी २५ बर्षिया बसन्ती खड्का पनि मतदाता परिचय पत्र बनाउनेहरुको लाइनमा भेटिइन् । उनले अध्ययनका लागि बाहिर रहेकोले परिचय पत्र बनाउन नभ्याएको जिकिर गरिन् । अव त जसरी भए पनि बनाउनु पर्छ भन्ने लाग्यो । र, परिचय पत्र बनाउन गाउँका साथीसंगीसँग लागेर नेपालगन्ज आएँ,’ उनले भनिन् ।


एकै दिन पाँचसयले बनाए परिचय पत्र
स्थानीय तहको निर्वाचन नजिकिए पछि मतदाता परिचय बनाउनेको निर्वाचन कार्यालयमा सर्वसाधारणको ठूलो भीड लाग्ने गरेको छ । उक्त भीडमा भर्खरै १८ बर्ष पुगेकादेखि ८० बर्ष पूरा गरेका जेष्ठ नागरिक पनि भेटिन्छन् ।
प्रमुख निर्वाचन अधिकृत खुमप्रसाद सुवेदीले आइतवार झण्डै पाँचसय जनालाई नयाँ परिचय पत्र र एक सय ५० जनाको मतदाता परिचय पत्र अध्याबधिक गरिएको बताए । उनले विहीवार र शुक्रवारको तुलनामा आइतवार तीन गुणा धेरै आएको बताए । ‘आइतवार भीड थामी नसक्नु थियो । भीड ब्यवस्थापन गर्न कर्मचारीलाई हम्मेहम्मे पर्यो,’ उनले भने, ‘निर्वाचन घोषणा भइहाल्छ की भन्ने डरले पछिल्लो समय धेरै सर्वसाधारण आउन लागेको देखिन्छ ।’


मतदाता परिचय पत्र बनाउन नेताहरु सक्रिय
आफ्नो मतदाता संख्या बढाउन स्थानीय नेताहरुले सर्वसाधारणलाई निर्वाचन कार्यालयमा ल्याउने गरेका छन् । एक जना नेताले ५०–१०० जनालाई ल्याउने गरेको खजुरा गाउँपालिका ७, सीमलघारीका दिपेन्द्र बुढाले बताए । उनले आफ्नो गाउँबाट मात्र ७० जना नेपालगन्ज आएको बताए ।
नेपालगन्ज उपमहानगरपालिका १९, बसुदेवपुरकी बसन्ती खड्काले पनि परिचय पत्र बनाउन स्थानीय नेताले निर्वाचन कार्यालयमा ल्याएको बताइन् । आ–आफ्नो भोट बढाउन स्थानीय नेताले परिचय पत्र बनाउन नेपालगन्ज ल्याउने गरेको उनको भनाई छ । ‘छुटफुट भएका सवैलाई नेताहरुले नेपालगन्ज ल्याउने गरेका छन्,’ उनले भनिन् ।
नेपालगन्ज उपमहानगरपालिका १२ का स्थानीय नेता विश्वसेन गौतमले पनि आफूले ७० जनालाई लिएर आएको बताए । उनले आफूले ल्याएका सवैको नागरिकताको फोटोकपी आफैले गरिदिएको बताए । ‘फोटोकपी मात्र ६ सय रुपैँया खर्च भइसक्यो,’ उनले भने ।

Previous articleकर्मचारी यूनियन नेपालगन्ज इकाईको अध्यक्षमा बस्नेत निर्वाचित
Next articleभारतको राजधानी नयाँ दिल्लीमा फेरि रात्रीकालिन कर्फ्यू जारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here