भारतीय मलले अभाव टार्दै बाँकेका किसान

बाँके, ४ पुस, २०७८ ।


बाँकेमा रासायनिक मल पर्याप्त नभए पनि हाहाकार नभएको कृषि सामग्री कम्पनीले जनाएको छ । यहाँ बार्षिक तीन हजार मेट्रिक टन डिएपी, सात हजार मेट्रिक टन यूरिया र दुई सय मेट्रिक टन पोटास आवश्यक परे पनि ५३२ मेट्रिक टन डिएपी, दुई हजार ९ मेट्रिक टन यूरिया तथा ३७ मेट्रिक टन पोटास विक्री भएको कम्पनीका शाखा प्रवन्धक रमेश पौडेलले जानकारी दिए ।
उनले ७५ प्रतिशत नेपाली र २५ प्रतिशत भारतीय रासायनिक मल प्रयोग हुने गरेको बताए । खुला सीमा नाकाका कारण भारतबाट सहज रुपमा रासायनिक मल भित्रिने गरेको बताए । ‘रासायनिक मल पर्याप्त त छैन, तर भारतीय रासाययिनक मलले हाहाकार हुन दिन्न,’ उनले भने ।
उनले स्थानीय तहलाई गते र बार मिलाएर रासायनिक मल वितरण गर्दै आएको जानकारी दिए । ‘अहिलेसम्म रासायनिक मलका कारण खेती गर्न पाएनौँ भन्ने गुनासो आएको छैन,’ पौडेलले भने ।
भारतबाट बार्षिक पाँच सय मेट्रिक टन रासायनिक मल भित्रिने गरेको अनुमान छ । मुख्य नाकाबाट कम मात्रामा भित्रिए पनि नरैनापुर, बेतहनी, हिरमिनिया, साईगाउँ लगायत नाकाबाट रासायनिक मल भित्रिने गरेको छ । खेतीका लागि ल्याउन कडाई नगरिएपछि नेपालमा मल नपाएका किसान सिधै भारतीय बजारबाट किन्ने गरेका छन् । ‘हाहाकार भएको बेला भारतीय रासायनिक मल दाङसम्म पुग्ने गरेको छ,’ उनले भने ।
नेपालमा मल नपाएपछि भारतीय बजारबाट ल्याउने गरेको नरैनापुर गाउँपालिका ५ गंगापुरका रामविलास यादवले बताए । उनले नेपालको भन्दा भारतीय मल ल्याउन सहज हुने भएकोले उतैबाट ल्याउने गरेको जिकिर गरे । नेपाली रासायनिक मलका लागि धेरै दिन धाउनुपर्ने र लाइनमा बस्नुपर्ने झन्झट हुन्छ । भारतमा जाने वित्तिकै सहज र सरल रुपमा किन्न पाइन्छ,’ उनले भने ।
उनले नरैनापुरका अधिकांश किसान भारतीय मल प्रयोग गर्दै आएको दावी गर्छन् । मल कुर्दाकुर्दै खेती गर्ने समय जाने गरेको बताउँदै उनले भारतीय मल सस्तो पनि भएको स्पष्ट पारे ।
फोटो क्याप्सनः कृषि सामग्री कम्पनीबाट रासायनिक मल लैजाँदै किसान ।

Previous articleसत्ता गठबन्धन कुनै पनि हालतमा टुट्दैन : नेकपा एस अध्यक्ष नेपाल
Next articleजिल्लाकै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गर्ने डुडुवा : स्वास्थ्य कर्मचारीलाई सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here